Logo

प्रत्यक्ष निर्वाचनबाटै महासंघको अध्यक्ष चुनिन्छ, यसमा द्विमत छैन

प्रत्यक्ष निर्वाचनबाटै महासंघको अध्यक्ष चुनिन्छ, यसमा द्विमत छैन



निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ फेरि एकपटक चर्चामा छ । खासगरी विधान संसोधनको विषयलाई लिएर महासंघकै सदस्यहरुबीच देखिएको दुई धारका कारण उत्पन्न विवादले धेरैको चासो बढाएको छ । त्यसपनि आगामी नेतृत्व प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने वा अहिलेकै विधान अनुसार कायम गर्ने भन्नेमा प्रष्ट दुई धार निर्माण भएको छ । महासंघले यसको टुंगो लगाउन आगामी कात्तिक २९ गते विशेष साधारणसभा आह्वान समेत गरेको छ । यसै परिवेशमा महासंघको विधान संसोधन समितिका संयोजकसमेत रहेका पूर्व अध्यक्ष चन्डीराज ढकालसँग बिजखबरका रामराजा श्रेष्ठले गरेको कुराकानी :

महासंघको विधान संशोधनको विषयलाई लिएर अहिले यसकै सदस्यबीच दुई कित्ता तयार भएको छ । सबैलाई समेट्नेगरी विधान संशोधन गर्न सकिँदैन ?

विधान संशोधनको विषय महासंघको साधारणसभाबाट अनुमोदित भएर आएको हो । एक बर्ष अघि साधारणसभाले महासंघको विधानको विषयमा देखिएको कमी कमजोरी तथा नेतृत्वको विषयमासमेत छलफल गरी विधान संशोधन गर्ने निर्णय गर्यो । विधान संशोधनको समिति गठन गर्यो र उक्त समितिले सबै सदस्यहरुको राय सुझाव लिएर पुनः साधारणसभामा पेश गर्ने हो । अहिले करिब २७ वटा विषयमा विधान संशोधनको तयारी छ । तर, अहिले बाहिर अध्यक्षको चयनको विषय लिएर मात्र बढी प्रचारबाजी गरिएको छ ।

मेरो विचारमा महासंघभित्र धु्रवीकरण नै भएको जस्तो लग्दैन । राज्यपछिको दोस्रो ठूलो सञ्जाल भएको, ८० जनाको कार्यसमिति भएको संस्थामा केही विषयमा छलफल हुनु वा राय बाझिनु भनेको सामान्य नै हो । मलाई लाग्छ, यसअघि भएको बैंठकको विषयलाई लिएर मिडियामा जुन खालको प्रचारबाजी भयो, त्यो सिमित व्यक्तिको स्वार्थ पूर्तिको लागि मात्र हो । यसमा कतिपय हाम्रै महासंघभित्रका साथीहरुको ठूलो भूमिका छ । त्यतिबेला आएका समाचारहरु पनि मिडियाले स्वतःस्फूर्तभन्दा पनि कसैबाट परिचालित भएर लेखिएको छ । त्यसमा मिडियाभन्दा पनि हाम्रा साथीहरुले वास्तविकता नै नबुझी सस्तो प्रचार गर्न खोजे । अहिले विधानमा परिमार्जनका लागि प्रस्ताव गरिएका धेरै विषय छन् । उदाहरणको लागि अध्यक्ष निर्वाचन प्रत्यक्ष वा अप्रत्यक्ष, प्रत्यक्षमा जाँदा अहिले देखि नै गर्ने वा १/२ कार्यकाल परिक्षणको रुपमा हेर्ने, देश संघीय संरचनामा गएसँगै महासंघलाई पनि सोही संरचनामा लैजानेजस्ता प्रस्तावहरु समावेश भएको छ । निश्चयपनि धेरै जिल्लाहरुबाट अहिलबाटै महासंघको अध्यक्षको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गरिनुपर्छ भन्ने राय सुझाव आएका छन् ।

यस विषयमा सबैको सुझाव लिई तीन महले बनाएर कार्यसमितिलाई जानकारी गराएका छौं । यहि तीन महले बनाउँदा पनि कार्यसमितिसँग दुई पटक छलफल भयो भने प्रदेश, बस्तुगत संघ तथा जिल्लाका साथीहरुसँग पनि विस्तृत रुपमा छलफल गरेका छौं । मलाई विधान संशोधन समितिको संयोजक महासंघको हाउसले गरेको हो कार्यसमितिले होइन । म महासंघको हाउसप्रति जिम्मेवार छु । तसर्थ सबै साथीहरुको धारणालाई समेट्दै विधान संशोधनको मस्यौदा तयार गरी कात्तिक २९ गते हुने महासंघको विशेष साधारणसभामा पेश गर्ने हो । निर्णय न मैले गर्छु, न कार्यसमितिले गर्न सक्छ यो जिम्मा साधारणसभाको हुनेछ । अहिले नै कुन विषयमा के हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन ।

तर, तपाईँले विधान संशोधनको विषयमा कार्यसमितिमा जानकारी मात्र गराउन खोज्दा नै यति धेरै विवाद किन आयो ?

यो केही साथीहरुले विधान संशोधनको प्रक्रियालाई बुझ्न नसक्दा समस्या आएको हो । हाम्रा महासंघका साथीहरुले विधान संशोधनको वास्तविक प्रक्रिया नै नबुझी अनावश्यक चलखेल तथा हल्लाखल्ला गर्न तिर लागे । केही मिडिया प्रयोग गर्न खोजियो । त्यतिबेला छलफल हुँदा कात्तिकको अन्तिममा विधान संशोधनको लागि विशेष साधारणसभा बोलाउने भनिएको थियो भने अहिले केन्द्रिय कार्यसमितिको माइन्यूटमा पनि कात्तिक २९ गते साधारणसभा गर्ने भनी उल्लेख गरिएको छ । म विधान संशोधनको लागि पूर्ण अधिकार लिएर आएको व्यक्ति हो । मैले चाहे भने अध्यक्ष ज्यूलाई विशेष साधारणसभा बोलाईदिनुस भनेर पनि जान सक्थे । तर, मैले विधान संशोधनजस्तो विषय सम्पूर्ण कार्यसमितिलाई जानकारी गराएर अघि बढ्छु भनेर बैंठकमा राखेको हुँ । कतिपय व्यक्तिले त मैले विशेष साधारणसभाको मिति तोक्न नसकेर संयोजकबाट राजीनामा नै दिएर हिड्यो भने । म साधारणसभाबाट पूर्ण अधिकार सहित चुनिएर आएको व्यक्तिले कार्यसमिति समक्ष किन राजीनाामा दिन्थे र ? तर, महासंघभित्रका केही व्यक्ति र केही मिडियाका साथीहरुले जसरी कपोल्कल्पित तरिकाबाट प्रस्तुत गर्नुभयो जसले गर्दा महासंघमा विवाद थियो भन्ने देखिन आयो । अहिले बाहिर जुन भ्रम छर्ने काम भइरहेको छ, त्यो वास्तविकता होइन ।

महासंंघले विधान संशोनको लागि मिति समेत तोकिसक्यो । अहिले विधान संशोधनको प्रक्रिया कुन चरणमा छ ?

मैले अघि पनि भनिसके । विधान संशोधन समितिको बैंठक बस्यो र हामीले कुन कुन बुँदामा परिमार्जन गर्ने भन्ने विषयमा छलफल गर्यो । सोही आधारमा सबै सदस्यहरुसँग रायसुझाव माग गरियो । राय सुझावको आधारमा हामीले तीन महले तयार गरेका छौं । यसबीचमा जिल्ला नगर, बस्तुगत संघ तथा एशोसिएट्सका साथीहरुसँग चरणबद्ध रुपमा छलफल गर्यौं । यो प्रक्रिया विशेष साधारणसभा हुनुभन्दा एक महिना अघिसम्म चलिरहन्छ । त्यसबेलासम्म आएका राय सुझावलाई विशेष साधारणसभा समक्ष जानकारी गराउँछौं । प्रक्रियागत रुपमा हामी अन्तिम चरणमा पुगेका छौं । हामी अझै पनि तीन महले पठाएर प्रतिक्रिया माग गर्छौं ।

विधान संशोधनका लागि विभिन्न २७ बुँदा पेश गर्नुभएको छ । त्यसका मुख्य विषय भनिदिनुहोस न ?

मुख्य विषय अध्यक्षको निर्वाचन प्रणाली नै हो । प्रत्यक्ष निर्वाचन प्रणालीबाट अध्यक्ष चयन गर्ने भन्ने विषयमा कसैको दुईमत छैन । तर, अहिलेबाटै गर्ने वा अहिलेकोलाई छाडेर अर्को बर्षदेखि वा १÷२ बर्ष कुर्ने भन्ने विषयमा सल्लाह र सुझाव आएको छ । तर, धेरैजसो साथीहरुको सुझाव अहिलेबाटै प्रत्यक्ष निर्वाचन प्रणालीबाट अध्यक्ष चयन गरिनुपर्छ भन्ने सुझाव आएको छ । अहिले महासंघ कार्यसमितिको कार्यकाल तीन बर्षको छ । त्यसलाई पनि घटाएर दुई बर्षमा झार्ने प्रस्ताव पेश गरिएको छ । महासंघको जिल्ला नगरको मत अधिकार ५० प्रतिशत छ, त्यसकारण जिल्ला नगरबाट २ जना उपाध्यक्ष चयन गरिने प्रस्ताव गएको छ ।

प्रदेश उद्योग बाणिज्य संघमा अहिले जिल्ला नगरबाट मात्र प्रतिनिधित्व हुन पाउने व्यवस्था छ । आगाामी दिनमा त्यसको दायरा पनि फराकिलो बनाउने गरी प्रस्ताव गरिएको छ । बस्तुगत र एशोसिएट्सले पनि केही मापदण्ड पुरा गरेपछि जान पाउने, बस्तुगतको मतभार बढाउनेजस्ता विषयलाई समावेश गरिएको छ । अहिले जसरी विधान संशोधनको लागि प्रस्ताव अघि बढाइएको छ, यसले महासंघलाई अझ सशक्त बनाउने छ । विधान संशोधन गर्दा संघसंस्थाको राय सुझावलाई विशेष प्राथमिकता दिईने छ । अहिले सुझावको रुपमा २७ बुँदा अघि सारिएको छ । विशेष साधारणसभाले ति सबै बुँदा अनुमोदन नगर्न पनि सक्छ । तसर्थ सबै विषयको टुङ्गो विशेष साधारणसभाले लगाउने छ, हामीले प्रस्ताव मात्र गर्ने हो ।

तपाईंले भनेजस्तो धेरैको सुझाव अहिलेबाटै प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने भन्ने छ । तर, अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले त्यतिबेला नै ‘वेटिङ प्रसिडेण्ड’का लागि भोट मागेर चुनाव जित्नुभयो । फेरि अहिले नै प्रत्यक्ष प्रणाली लागु गर्ने आवाज किन आयो ?

म कुनै व्यक्ति विशेष केन्द्रित भएर कुरा गर्न चाहन्न । हिजो निर्वाचन वरिष्ठ उपाध्यक्षकै लागि भएको हो । मैले पनि वरिष्ठ उपाध्यक्षकै लागि भोट मागेको हो । अहिलेको विधानले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने भन्ने हो । विधान भनेको अकाट्य हुँदैन, यो समयसापेक्ष परिमार्जन हुन्छ । अहिले हाउसले शेखर गोल्छा अध्यक्ष हुनुहुँदैन भनिसकेको अवस्था पनि छैन । अहिले विधान संशोधनमा पनि अध्यक्ष अहिलेबाटै प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गर्ने वा थप १÷२ कार्यकाल परिक्षणको रुपमा हेर्ने भन्ने पनि छ । तर, महासंघ भनेको अध्यक्षात्मक प्रणालीबाट चल्ने संस्था हो । यस्तो संस्थामा सेरेमोनियल भन्दा पनि प्रत्यक्ष निर्वाचन प्रणालीबाट अध्यक्ष चयन गरिनुपर्छ भन्ने धेरै साथीको सुझाव आएको छ । तर, कहिलेबाट गर्ने भन्ने विषयको टुङ्गो विशेष साधारणसभाले गर्छ । हामीले जिल्ला नगर, बस्तुगत तथा एशोसिएट्स सदस्यहरुबाट आएको राय सुझावलाई संकलन गरी आफ्नो रायसहित अघि बढाएको हौं । हामीले व्यक्ति विशेष केन्द्रित भएर कुराकानी गरेका छैनौं । विधान संशोधनमा संस्थागत हित हेरिएको छ । अहिले महासंघमा धेरै विज्ञ साथीहरु हुनुहुन्छ । उहाँहरुले जुन विवेक प्रयोग गर्नुहुन्छ सोही अनुरुप महासंघमा अध्यक्षको चयन हुन्छ । कुनै एक दुई जनाको इन्ट्रेष्टमा महासंघ चल्दैन ।

अहिले विधान संशोधनको विषयलाई लिएर तपाईले नै वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बन्नबाट वञ्चित गर्दै हुनुहुन्छ भन्ने आरोप पनि छ नि ?

यो कुरा नेतृत्वमा जाने व्यक्ति व्यक्तिमा भर पर्ने कुरा हो । संस्थाको उच्च पदमा बस्ने व्यक्तिले कस्तो काम गर्नुभयो त्यो साथीहरुले मूल्याङ्कन गर्नुहुन्छ । महासंघको उच्च पदमा बस्ने व्यक्तिले साथीहरुको समस्या समाधानका लागि कस्तो भुमिका निर्वाह गर्नुभयो, कस्ता सहयोग गर्नुभयो भन्ने विषय धेरै सोचनीय हुन्छ । तर, एकजना व्यक्तिले राम्रो काम गर्न सकेन भन्दैमा अर्कोले गर्दैन भन्ने पनि होइन । अर्कोले अझै राम्रो गर्न पनि सक्छ । हामी महासंघलाई राज्य पछिको सबैभन्दा ठूलो संजाल भएको र संघीय संघहरुको प्रतिनिधिमुलक संस्था भन्दैछौं । यति ठूलो संस्थाको नेतृत्व गर्ने व्यक्तिले सबैको समस्यासँग जुधेर समाधान गर्न सक्नुपर्छ । यसमा न अहिलेको नेतृत्व, न शेखर गोल्छा न भोलीका दिनमा नेतृत्वमा आउन चाहने व्यक्ति सबैले यसमा ध्यान दिनुपर्छ ।

म अहिले विधान संशोधन समितिको संयोजक भएको नाताले केही साथीहरुले वास्तविकतालाई नबुझी त्यसै आत्तिएर अनावश्यक हल्ला फैलाउने काम भइरहेको छ । मैले संयोजकको जिम्मा पाएको डेढ बर्ष भइसक्यो । यदि मौका नदिईन हटाउन नै थियो भने यति धेरै समयसम्म किन कुरिरहनु पथ्र्यो ? पहिले नै वारपार भइसक्थ्यो । अहिलेसम्म त अहिलेका नेतृत्व, वेटिङ प्रसिडेन्ट र भोलिका दिनमा नेतृत्वमा आउन चाहने व्यक्तिलाई काम गरेर देखाउने समय दिएकै छ त । यो अवधिमा आफुलाई प्रमाणित गरेर देखाउने मौका दिएकै छ । त्यसमा साथीहरु आफै अग्रसर भएर काम गर्नुपर्यो । महासंघ सेवामुखी संस्था हो । निजी क्षेत्रमाथी अहिले चौतर्फी हमला भइरहेको छ । विभिन्न किसिमका समस्यामा छलफल भइरहेको छ । राज्यले निजी क्षेत्रमा समस्या समाधान गर्न नसके कसरी अघि बढ्ने भन्ने विषयमा घनिभुत रुपमा छलफल अघि बढेको छ । यो अवस्थामा महासंघको नेतृत्व लिने साथीहरुले अरुलाई दोष लगाएर उम्कन खोल्नुभन्दा पनि आफुलाई प्रमाणित गरेर देखाउनुपर्छ ।

काम गर्ने व्यक्तिले कतै पनि जस पाउँदैन । यो नेपालमा मात्र होइन संसारभरकै चलन यस्तै छ । अहिले म माथी पनि अनावश्यक आरोप लगाईरहेका छन् । म त संयोजक मात्र हो, मैले साथीहरुका सुझावलाई संकलन गरेर प्रस्तुत गर्नेमात्र हो निर्णय त विशेष साधारणसभाले गर्छ ।

महासंघमा पुनः नेवार र मारवाडी समुदायबीचको द्वन्द्व सुरु भयो भनेर पनि अड्कलबाजी गर्न थालिएको छ । यसले महासंघमा फुट त ल्याउँदैन ? यसलाई तपाईले कसरी लिनुभएको छ ?

म न मारवाडी,न नेवार । अलग्गै धारबाट छिरेर महासंघको नेतृत्व सम्हालेको व्यक्ति हुँ । मैले यस्ता विषयलाई कहिलै पनि प्राथमिकता दिईन । सांसद तथा मन्त्रीहरु पार्टी परिवर्तन गरिरहेका हुन्छन । यो एउटा प्रवृत्ति हो । तर आफु हुँदा ठिक नहुँदा बेठिक भनेर संस्था छाड्नु हुँदैन । नेतृत्व लिन चाहने व्यक्तिले आफु कुन कारणले चुके त्यस विषयमा संस्थाभित्रै बसेर गहन अध्ययन गर्नुपर्छ । संस्थाभित्रको समस्या संस्थाभित्रैबाट खोज्नुपर्छ । यदि कसैले आफुले चाहेको कुरा पुरा भएन वा चुनाव हार्यो भन्दैमा संस्था नै छाडेर अन्त जान्छ भने मलाई लाग्छ त्यो कमजोर व्यक्ति हो । त्यस्ता व्यक्तिले अन्तत्वगत्व केही प्राप्त गर्न सक्दैन ।

हिजोका दिनमा केही व्यक्तिले असन्तुष्टी व्यक्त गर्दै महासंघ छाडेका गएर थिए । त्यतिबेला एशोसिएट्स सदस्य ४००, बस्तुगत ६२ र जिल्ला नगरबाट ८२ सदस्य थिए । तर अहिले जिल्ला नगरबाट ११० माथी पुगिसक्यो, एशोसिएट्स १ हजार माथी र बस्तुगत सदस्य पनि १०३ भन्दा माथी पुगिसके । अझै अरु पनि थपिने क्रममा छन् । केही व्यक्तिले छाड्दैमा महासंघको स्ट्रेन्थ र महासंघप्रतिको आकर्षण घटेको छैन । यदि कुनै व्यक्तिले आफुले चाहेको पद नपाउँदैमा महासंघ छाड्न भने त्यसले संस्थालाई कुनै हानी गर्दैन । जसले छाड्छ, उसैलाई घाटा हुने हो । महासंघ सागर हो, एक दुई लोटा पानी झिक्दैमा कुनै असर पर्दैन ।

अन्य पूर्व अध्यक्ष तथा सदस्यभन्दा तपाई धेरै सक्रिय हुनुभयो । त्यसमा तपाईको व्यक्तिगत स्वार्थ छ भन्ने आरोप पनि छ नि ?

तपाईसँगै कुरा गर्दागर्दै एक दर्जनभन्दा बढी जिल्लाबाट साथीहरुको फोन आयो । म आफै सक्रियभन्दा पनि साथीहरुले नै सक्रिय बनाईराखेका हुन् । हिजोका दिनमा मैले साथीहरुको मन जितेर महासंघको अध्यक्ष भए । मैले अध्यक्ष पद प्राप्त गर्न त्यतिबेलै सदस्य साथीहरुसँग म सधै तपाईहरुसँगै हुन्छु, अध्यक्षबाट हटेपनि सक्दो सहयोग गर्छु भनेर वाचा गरेको थिएँ । यो अवस्थामा म साथीहरुको सम्पर्कमा रहिन भने उहाँहरुले मलाई कुन नजरबाट हेर्नुहुन्छ ? म स्वार्थी हुन्छु । अन्य साथीहरु किन सक्रिय रहनुभएन त्यो उहाँहरुको कुरा हो । कुनै साथीहरु समस्यामा परेर मसँग ठोकिनुहुन्छ भने मेरो हैसियतले भ्याएसम्म समस्या समाधान गर्न लागेको हुन्छु । यदि मैले सहयोग गरेभने पक्कै पनि उहाँहरुले पनि मलाई सहयोग गर्नुहुन्छ । महासंघप्रति मेरो लगाव छ । त्यहिअनुसार साथीहरुले पनि मलाई सक्रिय बनाईरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL