Logo

टुङ्गियो नागढुङ्गा नौविसे सुरुङमार्गको मुआव्जा विवाद, आजैदेखि मुआव्जा वितरण सुरु

टुङ्गियो नागढुङ्गा नौविसे सुरुङमार्गको मुआव्जा विवाद, आजैदेखि मुआव्जा वितरण सुरु



काठमाडौं । नागढुङ्गा नौविसे सुरुङमार्गका मुआव्जा विवाद टुङ्गो लागेको छ । लामो समयदेखि विवादमा रहेको मुआव्जाको विषय यसै हप्ता टुङ्गो लागेको सडक विभागका उपमहानिर्देशक अर्जुनजङ्ग थापाले जानकारी दिए । उक्त सुरुङमार्गमा पर्ने जग्गाको मुआव्जामा विवाद उत्पन्न हुँदा ठेक्काको काम सम्पन्न भएपनि काम अघि बढाउन नसकिएको अवस्थामा मुआव्जाको टुङ्गो लागेपछि काम अघि बढ्ने भएको हो ।

६ महिना अघि उक्त सुरुङ्मार्गका लागि टेण्डर आह्वान गरेर ठेक्का सम्झौता अघिल्लो हप्तामात्रै टुङ्गिएको थियो । तर धादिङतर्फको करिव ४० रोपनी जग्गाको मुआव्जामा स्थानीयबासीसँग कुरा नमिल्दा काम अघि बढ्न सकेको थिएन ।

हालै उक्त जग्गाको मुआव्जा निर्धारण समितिले जग्गाको मुआव्जा निर्धारण गरेपछि स्थानीयबासी पनि सहमत भएको विभागका उपमहानिर्देशक थापाले बिजखबरलाई जानकारी दिए । उनका अनुसार स्थानीयबासी अर्थात उक्त क्षेत्रका जग्गाधनीहरु १ २ दिनमा मुआव्जा बुझ्न आएमा केही दिनमै काम सुरु गर्न सकिनेछ ।

हाल उक्त जग्गाकोे मुआव्जा ४० रोपनीको ४० जना स्थानीयले लिन बाँकी छ । जसमध्ये केही स्थानीयहरु गुठीमा रहेको जग्गाको पनि सबै मुआव्जा लिन पाउनुपर्छ भन्ने अडान राखिरहेको उपमहानिर्देशक थापाले जानकारी दिए । यस्तै केही जग्गाधनीहरुले भने जग्गाको हक राखेपनि लालपुर्जा नभएकाले मुआव्जा दिन नसकिरहेको उनको भनाई छ । यस्ता केही विषयमा टुङ्गो लाग्न बाँकी रहेपनि बाँकी सबै काम सम्पन्न भएर आजैदेखि जग्गाको मुआव्जा वितरण गर्न लागिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL