Logo

नेपालीलाई भारत हुँदै तेस्रो मुलुक जान थप कडाई, दूतावासको सिफारिस अनिवार्य

नेपालीलाई भारत हुँदै तेस्रो मुलुक जान थप कडाई, दूतावासको सिफारिस अनिवार्य



काठमाडौं । भारत हुँदै तेस्रो मुलुक जाने नेपालीलाई थप कडाई गरिने भएको छ । पछिल्लो समय भारत हुँदै अन्य मुलुकको रोजगारीमा जाने नेपाली कामदारको संख्यामा वृद्धि भएसँगै त्यसलाई निरुत्साहित गर्न कडाई गरिएको हो ।

भारत हुँदै तस्रो मुलुक जाने नेपालीहरुलाई भारतीय अध्यागमन पार गर्न भारतस्थित नेपाली दूतावासको सिफासिर पत्र (नो अब्जेक्सन लेटर) आवश्यक पर्ने हुँदा सोका लागि आवश्कय कागजपत्र लिएर आउन दूतावासले सुचना जारी गरेको छ । ‘भारतको अध्यागमन पार गर्न भारत स्थित नेपाली दूतावासको सिफासिर पत्र आवश्यक पर्ने देखिएको छ,’ दूतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘उक्त सिफारिस लिनका लागि आवश्यक कागजात लिएर दूतावासमा सम्पर्क गर्नुहोला ।’

दूतावासका अनुसार सिफारिस पत्र लिन भारत हुँदै तेस्रो मुलुक जानुपर्ने मनासिव कारणसहित सम्बन्धित व्यक्तिको हस्ताक्षर भएको निवेदन, यात्रा गर्ने व्यक्तिको राहदानी र सोको प्रतिलिपि, गन्तव्य मुलुकको हवाई टिकट र भिसाको प्रतिलिपि, वैदेशिक रोजगारी जाने व्यक्तिको हकमा वैदेशिक रोजगार विभागबाट लिएको श्रम स्वीकृतिलगायतका कागजात उपलब्ध गराउनुपर्ने छ ।

उक्त कागजातको आधारमा दूतावासले औचित्यका आधारमा मात्र सिफारिस पत्र उपलब्ध गराउने जानकारी दिएको छ । साथै उक्त एनओसी इमलेबाट पनि लिन सकिने दूतावासले जानकारी दिएको छ । जसका लागि दूतावासको इमेल [email protected] बाट निवेदन दिन सकिनेछ ।

उक्त व्यवस्थासँगै गैर कानूनी रुपमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा समेत कमि आउने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL