Logo

आयात घटाउने नयाँ फर्मुला, लक्जरी गाडी आयातमा कडाई गरिँदै

आयात घटाउने नयाँ फर्मुला, लक्जरी गाडी आयातमा कडाई गरिँदै



काठमाडौं । पछिल्लो समय नेपालको आयात उच्च रुपमा बढ्दै गएपछि लक्जरी गाडी (१२०० सीसी भन्दा माथी) आयातमा कडाई गरिने भएको छ । नेपालमा आयात हुने मुख्य बस्तुमा सवारीसाधन पर्न थालेपछि लक्जरी गाडी आयातलाई कडाई गर्न लागिएको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक बर्षको ३ महिनामा ३ खर्ब ७३ अर्ब रुपैयाँको बस्तु तथा सामान आयात भएको छ । जसमध्ये ५४ अर्ब ५५ करोड रुपैयाँको सवारीसाधन रहेको छ ।

नेपालमा आयात हुने बस्तुमा सबैभन्दा बढी हिस्सा सवारीसाधनले ओगट्न थालेपछि अबका दिनमा लक्जरी सवारीसाधन आयातमा कडाई गर्न लागिएको नेपाल राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । ‘नेपाललाई कस्तो खालको सवारीसाधन साधन चाहिन्छ त्यस विषयमा छलफल अघि बढाएका छौं,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘देशको व्यापार घाटामा सवारीसाधनको हिस्सा ठूलो भएकाले अबका दिनमा लक्जरी अर्थात १२०० सीसीभन्दा माथीमा सवारीसाधन आयातमा कडाई गर्ने तयारी गरेका छौं ।’

राष्ट्र बैंक स्रोतका अनुसार लक्जरी गाडी आयातमा कडाई गर्ने विषयमा सम्बद्ध सरोकारवाला निकायसँग छलफल अघि बढाईएको छ । सम्भवत चालू आर्थिक बर्षको मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षामार्फत त्यसलाई सम्बोधन गरिनेछ ।

नेपाल राष्ट्र बैंकले गत आबको मौद्रिक नीतिमार्फत सवारी कर्जामा कडाई गर्दै सवारी कर्जामा ५० प्रतिशतमात्र लगानी गर्न पाउने व्यवस्था गरेको थियो । तर, व्यवसायीको दबाबमा त्यस्तो कर्जाको सीमा बढाएर चालू आबको मौद्रिक नीतिमार्फत ६५ प्रतिशत पुर्याइएको छ ।

अबका दिनमा अत्यावश्यक भन्दा पनि लक्जरी सवारीसाधनको आयातलाई निरुत्साहित गर्ने गरी नयाँ नीति ल्याईने समेत राष्ट्र बैंकको भनाई थियो । ‘चालू आबको पछिल्लो ३ महिनामा जुन रुपमा आयात बढेको छ त्यसलाई रोक्न सकिएन भने देशको अर्थव्यवस्था नै भयावह हुने अवस्था आउनेछ,’ उक्त स्रोतले भन्यो, ‘देशको आयात निर्यातको सन्तुलन मिलाउनका लागि पनि लक्जरी सवारीसाधन आयातमा कडाई गर्नु अनिवार्य नै भइसक्यो ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL