Logo

नाडा अटो शोमा नेपालमा उपलब्ध सबै अटोमोबाईल्सहरु उपलब्ध छन् ।

नाडा अटो शोमा नेपालमा उपलब्ध सबै अटोमोबाईल्सहरु उपलब्ध छन् ।



आजबाट नाडा अटो शो सुरु भयो । यसको सम्पूर्ण तयारी कस्तो छ ?

अघिल्ला बर्षको तुनामा यस पटकको अटो शो अझै सब्य र भब्य बनाएका छौं । प्रदर्शनकर्ताहरुले आ–आफ्नो तरिकाबाट स्टलहरु सजावट गर्नुभएको छ । अटो शोमा सबैभन्दा बढी समस्या पार्किङ्को हो । यस पटक पार्किङ्का लागि पनि छुट्टै व्यवस्था गरिएको छ । जसले गर्दा मेलामा आउने आगन्तुकहरुले आफ्ना सवारीसाधन सहज रुपमा पार्किङ गर्न सक्नुहुनेछ ।

नाडा अटो शोको १३ आँै संस्करणसम्म आईपुग्दा पनि तपाईँहरुको ठाउँ पुगेन भनेर सँधै गुनासो आईरहन्छ । यसरी हरेक बर्ष तपाईँहरुले आफ्नो गुनासो राखिरहँदा सरकारले नसुनेको होकि, तपार्इँहरुले पनि ध्यान नदिएको हो ?

नाडा अटो शोका लागि हामीले ३÷४ बर्षदेखि छुट्टै प्रदर्शनी स्थलको माग गर्दै आएका छौं तर अहिलेसम्म पाउन सकिएको छैन । अटो शोमा हरेक बर्ष नयाँ नयाँ कम्पनीका प्रोडक्ट थपिँदै गएकाले भएको ठाउँ पनि साँघुरो हुँदै गएको छ । यसका लागि नाडा, एफएनसिसिआईलगायतका संस्थाहरुले पहल गरिरहेका छन् ।

२०७१÷७२ सालको बजेटमा सरकारले चोभारको हिमाल सिमेन्ट कारखानामा अन्तरराष्ट्रिय प्रदर्शनी स्थल बनाउने भनेको थियो तर पछि त्यहाँ सुक्खा बन्दरगाह बनाउने पनि भनियो ।

हाल प्रदर्शन भईरहेको भृकुटीमण्डपमा रहेको प्रदर्शनी स्थल पनि सानो भएको अवस्था छ । उक्त क्षेत्रमा पनि भिडभाड तथा होहल्लाले प्रदर्शनी पनि खल्लो हुने गर्दछ । ठाउँको एकदमै ठुलो अभाव भएकाले यसै बर्ष पनि प्रदर्शन गर्न गाह्रो भईरहेको छ । अर्को बर्षको अटो शो आउँदासम्म भने हामीलाई ठाउँ निर्धारण गर्र्नैपर्ने दवाव रहेको छ ।

नाडा अटो शोको १३ औं सस्करणसम्म आईपुग्दा पहिले र अहिलेकोमा के फरक छ ?

हामीले ठाउँ अभावका कारण फरक फरक स्थानमा नाडा अटो शो गर्दै आएका छौं । उदाहरणका लागि कुनै समय सभागृहमा, अन्तरराष्ट्रिय सम्मेलन केन्द्रलगायतका स्थानमा गरिएको थियो भने अहिले अन्तिम विकल्पको रुपमा भृकुटी मण्डपमा हुँदै आएको छ । भृकुटीमण्डपमा पनि नाडा अटो शो पहिलेको भन्दा अहिले धेरै व्यबस्थित रहेको छ । तर त्यहाँ पनि ठाउँको अपर्याप्तताले आएका आगन्तुकहरुलाई केहि समय विताएर अवलोकन गर्ने तथा राम्रोसँग जानकारी लिन भने समस्या छ । केही बर्ष अघिको नाडा अटो शोमा आयोजकलाई स्टल बिक्री गर्न नै कठिन हुन्थ्यो भने अहिले प्रर्दशनीकर्ताहरुले ठाउँ पाउन गाह्रो भइरहेको छ । यसमा सुरक्षा तथा अबलोकनकर्ताहरुलाई सहज रुपमा अबलोकन गर्नका लागि व्यवस्थित बनाइएको छ ।

नाडा अटो शोमा उपभोक्तालाई जानकारी मुलक प्रचारप्रसारभन्दा पनि बिक्री प्रवद्र्धनका कामलाई बढी फोकस गरिन्छ । तर मेलाले उपभोक्ताहरुलाई सुरक्षालगातयका जानकारी मुलक जनचेतना पनि फैलाउनु पर्ने होइन ?

नाडा अटो शोको मुख्य उद्देश्य अटोमोबाईल सम्बन्धी नयाँ उत्पानहरु प्रर्दशनी गर्ने हो । मेलामा धेरै जना ग्राहकहरु एकैचोटी आउने भएकाले आफ्ना उत्पादनहरु देखाउने होड चल्दै गएको छ । अटो शो दशैको नजिकमा हुँदै आएको छ जुन नेपालमा सबैभन्दा बढी गाडी बिक्री हुने समय पनि हो ।

शोमा भएका विभिन्न स्टलहरुले आफ्ना स्किमहरु ल्याउने भएकाले गाडीहरु बुक र धेरै बिक्री भएजस्तो देखिएको हो । मेलामा उपभोक्ताले पनि नेपालमा उपलब्ध सबै कम्पनीको दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारीसाधन एकै ठाउँमा पाउनेछन् । जसले गर्दा ग्राहकलाई पनि च्वाईसको अप्सनहरु धेरै हुनेछन । साथै अटो शोमा विभिन्न सेफ्टी सम्बन्धी जनचेतनाका कार्यक्रम गरिँदै आएको छ ।

१ सय ५० सिसि भन्दा माथिका मोटरसाईकल तथा १ हजार सिसिभन्दा माथीका गाडीहरुमा सरकारले गरेको कर बृद्धिका कारण यसले नाडा अटो शोलाई तथा तपाईँहरुको समग्र व्यापारमा कस्तो असर पर्ने देखिन्छ ?

बजेट भाषण भएपछि केहि समय यसको असर देखियो । १ हजार सिसि सम्मको गाडी अत्यावश्यक र त्यसभन्दा माथिको गाडी ‘अन्प्रोडक्टीभ’ होकी भन्ने मनसाय रहेको पाईयो । तर यो वास्तविकतामा होईन । खासगरी बजेट भाषणले २ हजार सीसीभन्दा माथीका गाडीहरुमा ठूलो असर पारेको छ । त्यसले नाडा अटो शोलाई पनि केही असर त पक्कै पनि गर्छ तर, मेलाले त्यसलाई हल गर्न पनि सहयोग पुर्याउने छ । सरकारको मूल्य बृद्धिको असर अटो क्षेत्रमा राम्रैसँग देखिएको छ ।

गएका बर्षहरुमा नाडा अटो शोमा बैंक तथा वित्तीय संस्थाहरुलाई पनि सहभागी गराईन्थ्यो जसले गर्दा अटो शोमा गाडी अवलोकन गर्ने ग्राहकहरुलाई बैंक कर्जा लिएर गाडी बुक गर्नका लागि पनि सजिलो हुन्थ्यो, तर यसपाली भने बैंक तथा वित्तीय संस्थालाई हटाउनु भयो नि ?
बैंक तथा वित्तीय संस्थाहरु यसपाली हटाईएको होईन । नाडा अटो शो अटोको लागि एकमात्रै शो हो । अटो शोमा अघिल्ला बर्षहरुमा भन्दा १० देखि १५ प्रतिशतसम्म मोटर कम्पनीहरु बढेका छन । हामीले अघिल्लो बर्ष सबै बैंकलाई दिन नसके पनि केहि बैंकलाई स्टल राख्न दिएकै हो । तर यसपाली भने अटो मोबाईल क्षेत्रकै स्टलको लागि पनि प्रशस्त ठाउँ नपाएर स्टल उपलब्ध गराउन सकिएन ।

बैंक तथा ईन्सुरेन्स भनेको सवारी साधन बेच्दा नभई नहुने तत्व हो तर अटोमोवाईलको मेलामा बैंक तथा ईन्सुरेन्सलाई स्थान दिएर अटोमोवाईल्स कम्पनीलाई स्थान नदिँदा अटोमोवाईल कम्पनीमाथी अन्याय हुने देखियो । तर, कुनै पनि कम्पनीले आफुहरु सहकार्य गरेका बैंक तथा वित्तीय संस्थालाईसँगै राख्न सक्दछन् । प्रदर्शनीमा बैंक तथा इन्स्योरेन्सको छुट्टै स्टल नभएपनि ग्राहकरुले सुविधा भने पाउनेछन् ।
यसपाली अटो शोमा कमर्सियल भेहिकललाई पनि हटाईयो नि ?

सम्बन्धित पक्षसँग सरसल्लाह गरेर नै यो बर्ष कमर्सियल भेहिकल प्रर्दशनीमा नराख्ने निर्णय गरेका हौं । अटो शो हेभि ईक्वीपमेन्ट तथा कमर्सियल गाडीहरुका उपभोक्ता लक्षित नहुने भएपछि प्रदर्शनीमा नराख्ने निर्णय गरेका हौं । तर हामीले कमर्सियल भेहिकल तथा हेभि ईक्वीपमेन्टका लागि वहाँहरुको टार्गेट ग्रुपलाई लक्षित गरी अन्य व्यवसायसँगको सहकार्यमा प्रदर्शनी राख्ने व्यवस्था गर्दै छौं ।

नाडा अटो शोमा गाडी बुकिङ गर्नु र बाहिर शोरुममै गएर गाडी बुकिङ गर्नुमा के फाईदा छ ?

नाडा अटो शोले उपभोक्ताको समय बचाउने काम गर्दछ । उपभोक्तालाई कुनै एउटा गाडी किन्नको लागि विभिन्न कम्पनीको गाडीहरु छान्नुपर्दा विभिन्न कम्पनीका शोरुमहरु धाईरहने झन्झटबाट मुक्ती मिल्दछ भने सबै कम्पनीमा गाडीहरु एकै ठाउँमा उपलब्ध हुन्छन् । नेपालमा हालसम्म भएका सबै प्रकारका अटोमोवाईल्सहरु नाडा अटो शोमा रहेका हुन्छन जसले गर्दा उपभोक्तालाई कुन गाडी लिने भन्ने निर्णयमा छिटो पुग्न पनि सजिलो हुन्छ । यसका साथै कुनै पनि अटो व्यापारीले उक्त सोमा एकैपटक धेरै मान्छेसँग अन्तरक्रिया हुने तथा व्यापारका लागि योजनाहरु ल्याएको हुनाले दुबै पक्षबाट उपभोक्तालाई फाईदा हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL