Logo

वाईडबडीमा अनियमितताको आरोपपछि निगमको खण्डन, नियम बमोजिम नै खरिद गरिएको दाबी

वाईडबडीमा अनियमितताको आरोपपछि निगमको खण्डन, नियम बमोजिम नै खरिद गरिएको दाबी



काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले दुई ओटा वाईडबडी खरिद प्रक्रियामा अनियमितता भएको दाबी गरेर भ्रामक समाचार प्रकाशन गरिएको जनाएको छ । आईतबार एक विज्ञप्ति जारी गर्दै निगमले ६० वर्षको इतिहासमा पहिलोपटक खरिद गरिएका दुई वाईडबडी जहाजका विरुद्धमा आएका समाचार सुनियोजित ढंगले निगमको उत्थान रोक्ने प्रयास भएको दाबी गरेको छ । यसप्रति निगमले आफ्नो घोर आपत्तिसमेत जनाएको छ ।

वाईडबडी खरिद प्रक्रिया प्रचलित सार्वजनिक खरिद ऐन बमोजिम नै भएको निगमको स्पष्टोक्ति छ । विज्ञप्तिमा निगमले  खरिद ऐन २०६३को प्रस्तावनामा उल्लेख भए अनुसार खरिद प्रक्रिया अघि बढाइएको र प्राप्त आवेदनका आधारमा कम मूल्य कबोल गरेका कम्पनीमार्फत खरिद गरेको उल्लेख छ ।

निगमका अनुसार खरिद प्रक्रियामा ६ ओटा देशका दश ओटा कम्पनीले भाग लिएका थिए । ‘निगमले जारी गरेको आरएफपीको आधारमा दश ओटा विमान आपूर्तिकर्ताले प्रस्ताव पेश गरिएको हुँदा ऐन बमोजिम नै भएको सामान्य ज्ञानको कुरा हो’ विज्ञप्तिमा उल्लेख छ । सोही सुचनाको आधारमा भाग लिएकामध्ये एएआर, हाइफ्लाई र जर्मन एभिएसनको एक कन्सोर्टियमले कम मूल्य कबोल गरेकोले विमान आपूर्तिको ठेक्का पाएका थिए ।

निगमले आफ्नो आर्थिक विनियमावली २०६५ मा विमान खरिद गर्न एक छुट्टै विनियम २३६ को प्रावधान राखिएको र सो विनियम हुबहु पालना गरी विमान खरिद प्रक्रिया सम्पन्न गरेको विज्ञप्तिमा उल्लेख छ । सोही दफा अनुसार नै सात जनाको उच्च पदाधिकारीहरुले तयार पारेको व्यावसायिक योजना तथा आर एफ पी डकुमेन्टलाई व्यवस्थापनले निगम सञ्चालक समितिमा पेश गरी ग्लोबल टेन्डरको आधारमा पेश गरेको प्रस्तावहरुलाई ११ जनाको उच्च पदाधिकारीको टोलीले मूल्यांकन गरी पेश गरेको प्रतिवेदन सम्बन्धमा सञ्चालक समितिमा टुंगोमा पुगेर खरिद प्रक्रिया अघि बढाइएको निगमले जनाएको छ ।

निगमले यसअघि गत असार १४ गते फ्रान्सेली विमान निर्माता एयरबसको २७५ सिट क्षमताको वाइडबडी जहाज काठमाडौं अवतरण गराएको थियो । साउनको पहिलो हप्ता अर्को वाइडबडी जहाज निगमले ल्याएको थियो । यी दुवै जहाज खरिदमा आर्थिक अनियमितता भएको दाबी गर्दै समाचार प्रकाशन भइरहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL