Logo

प्रभु टेलिभिजनले घरमै बसेर टिभी हेर्नुपर्ने बाध्यता हटाइदिएको छ

प्रभु टेलिभिजनले घरमै बसेर टिभी हेर्नुपर्ने बाध्यता हटाइदिएको छ



सरकारले एनालग प्रविधिबाट टेलिभिजन प्रसारण अनुमतिपत्रमा रोक लगाइसकेको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन(आइटीयू)को व्यवस्था अनुसार देशका विभिन्न क्षेत्रमा चरणबद्ध रुपमा अनिवार्य डिजिटल प्रणालीमा टेलिभिजन प्रसारण कार्यान्वयन गराउन सरकार जुटेको छ । यसै सन्दर्भमा डिजिटल टेलिभिजन प्रसारणका विभिन्न प्रविधि नेपालमा भित्र्याउने क्रम चलिरहेको छ । केबल प्रणालीमा सेट अप बक्स जडान गरेर डिजिटल च्यानल प्रसारणदेखि डिस एण्टेना राखेर यस्तो सुविधा नेपालमा कम्पनीहरुले उपलब्ध गराएका छन् । बैङ्क वित्तदेखि पर्यटन क्षेत्रसम्म लगानी विस्तार गरिरहेको प्रभु समुहले पनि पछिल्लो समय प्रभु टेलिभिजनको नाममा नयाँ प्रविधिमार्फत डिजिटल टेलिभिजन च्यानल प्रसारणको सुविधा बजारमा ल्याएको छ । दोस्रो संस्करणको डिजिटल भिडियो ब्रोडकास्टिङ(डीभीबी २) प्रणाली नेपालमा ल्याएको प्रभु टेलिभिजनका महाप्रबन्धक शंकर कालिकोटासँग बिजखबरले यस प्रविधिका बारेमा कुराकानी गरेको छ । कुराकानीको सार :
हालै मात्र प्रभु टेलिभिजनले नयाँ प्रविधिको डिजिटल च्यानल प्रसारण सुविधा सुरुवात गरेको छ । यो कस्तो प्रविधि हो ?

यो सुचना प्रविधिको युग हो । यस अघि हामीले परम्परागत रुपमा टेलिभिजन हेर्दै आएका थियौं । तर, प्रभु टिभीले विश्वभर नै सजिलो र भरपर्दो टेलिभिजन डिजिटल भिडियो ब्रोडकास्टिक २ (डीभीवी–२) संचालनमा ल्याएको छ । हामीले भित्र्याएको प्रविधि आधुनिक र एकदमै सजिलो छ ।

हामीले ओभर दी टप (ओटीटी) सेवासमेत संचालनमा ल्याएका छौं । यो सुविधा प्रयोग गरेर घरमा नभएको अवस्थामा कार्यस्थलमा वा बाहिर निस्किएको अवस्थामा पनि मोबाइल, ल्यापटप वा ट्याबमा ओटीटीसेवा मार्फत टिभी हेर्न सकिनेछ । यो प्रविधिसँगै टेलिभिजन हेर्न घरमै बस्नुपर्ने बाध्यता हटेको छ । प्रविधि नेपालमा प्रभु टिभीले पहिलो पटक भित्र्याएको हो ।

अर्को कुरा सबै स्थानमा इन्टरनेट नहुन पनि सक्छ । त्यस्तो अवस्थामा टिभी हेर्न मन लाग्छ भने ‘डंगोल’को पनि व्यवस्था गर्न लागेका छौं । जसको माध्यमबाट विना इन्टरनेट मोबाइल वा ल्यापटपमा टिभी हेर्न सकिनेछ ।

डंगोलबाट विना इण्टरनेट टिभी हेर्न मिल्ने भन्नाले ?

घरमा टिभी हेर्दा सेटअप बक्स राखेर हेर्न सकिन्छ । तर, मोबाइल वा ल्यापटपमा हेर्नको लागि डंगोल प्रविधि ल्याउन लागिएको हो । उक्त प्रविधिमार्फत विना इन्टरनेट मोबाइलको चार्ज गर्ने ठाउँमा डंगोल जोडिदिनुभयो भने जुनसुकै स्थानमा पनि सहज रुपमा टिभी हेर्न सकिनेछ । डंगोल ल्याउन अहिले दु्रत गतिमा काम भइरहेको छ । सकेसम्म दशैं भित्रमा यो सेवा पनि संचालनमा ल्याउेछौं ।

 

एक किसिमको प्रविधिमा टेलिभिजन हेरिरहेका नेपाली दर्शकले प्रभु टेलिभिजनको विना तार र ओटीटीमार्फत चल्ने टिभीमा कस्तो प्रतिक्रिया दिएका छन् ?

ग्राहकहरु आफै पुराना प्रविधिबाट नयाँ प्रविधिमा जान खोज्नुहुन्छ । ग्राहक स्वयमले नै पुरानो प्रविधिलाई प्रतिस्थापन गर्दै हुनुहुन्छ । प्रभु टिभीको गुणस्तर नेपालमा संचालनमा आएका अन्य टेलिभिजनको गुणस्तरसँग तुलना गर्न मिल्दैन भने यो टिभी हेरे बापत ग्राहकले तिर्नुपर्ने शुल्क पनि कम छ । उच्च गुणस्तर, सुलभ मूल्य र जडान गर्न एकदमै सजिलो भएका कारण पनि पछिल्लो समय ग्राहकले म ाग बढ्दो छ ।

देश स्मार्ट सिटीको अवधारणमा गएको छ । उपभोक्ताको नयाँ प्रविधिमा रुपान्तरण हुन चाहने इच्छा र राज्यको नीतिको कारणले पनि प्रभु टिभीलाई जनता समक्ष पुर्याउन सजिलो भएको छ । एकपटक प्रयोग गरेका उपभोक्ताले राम्रोे प्रतिक्रिया समेत दिनुभएको छ ।

अहिले अन्य टेलिभिजन प्रयोग गर्दा एक घरबाट अर्कोमा सर्नु परेमा तार वा एन्टेना बोन्नुपर्ने बाध्यता छ । तर, प्रभु टिभी प्रयोग गर्दा एउटा बक्स मात्र बोके पुग्छ । अर्को कुरा यो टिभीको सेटअप बक्स जडानका लागि पनि कुनै समस्या छैन एकदमै सहज छ । आम मानिसको नयाँ प्रविधि प्रतिको झुकाव, छिटोछरितो, उच्च गुणस्तरको सुविधा र सस्तोका कारणले गर्दा पनि प्रभु टिभीप्रति चासो बढेको पाइएको छ ।

ग्राहकले यो नयाँ प्रविधि प्रयोग गर्न चाहेमा कसरी लिन सक्छ र यो कति महङ्गो पर्न आउँछ ?

पहिला हामीले नेट टिभी भनेर चलाउँथ्यौं । तर त्यसमा एउटा आईएसपीको मात्र चल्थ्यो । खासमा नेट टिभीमा जुनसुकै सेवाप्रदायकको नेट लिएपनि चल्छ । यसको लागि हाम्रो सदस्यता लिएर सब्स्क्राइव गर्नुपर्ने हुन्छ । प्रभु टिभीको डिलर वा ग्राहक स्वम्यले मोबाइल वा ल्यापटपबाट सजिलै आफ्नो दर्ता गराउन सक्छन् ।

प्रभु टिभीको आफ्नै एप्स पनि छ । त्यो एप्सलाई मोबाइलमा डाउनलोड गरी इन्टरनेटको सिमित प्याकेज लिएर हेर्न सकिनेछ । प्रविधिको विकाससँगै हामीले नेपालमा पहिलो पटक ओटीटी सेवा संचालनमा ल्याएका छौं । यो प्रविधिमा तपाई जहाँ जानुहुन्छ, त्यहि टिभी पुग्नेछ ।

हाल सेवा दिइरहेका अन्य टेलिभिजन प्रसारण सेवाप्रदायक भन्दा यो मूल्य र सेवाको हिसाबले कसरी फरक छ ?

प्रभु टिभी जडान गर्न चाहने ग्राहकका हमीले आफ्नै डिलर राखेका छौं भने कल सेन्टर पनि छ । विभिन्न स्थानमा होर्डिङ बोर्ड पनि राखेका छौं । कुनै पनि ग्राहकले जुनसुकै माध्यमबाट पनि सहज रुपमा प्रभु टिभी जडान गर्न सक्नेछन् । अहिले सुरुवाती अवस्थामा केही समस्या पनि हुन सक्छ तर, अबको ३ महिनाभित्र सबैको घरघरमा प्रभु टिभी पुग्नेछ ।

अहिले डिलरमार्फत हामीले बजारमा सेटअपबक्सदेखि रिचार्ज कार्डहरु पठाईसकेका छौं । उपभोक्ताहरुले हाम्रो डिलरमार्फत रिचार्ज कार्ड किनेर चालउन सक्नुहुन्छ भने अनलाईन पेमेन्टको लागि हामीले केही दिनभित्रै ‘प्रभु पे’ संचालनमा ल्याउँदै छौ.। मोबाइलबाटै सहजै रिचार्ज गर्न सकिने सुविधा त्यसपछि उपलब्ध हुनेछ ।

हामीले एकदमै सामान्य शुल्कमा उपभोक्तालाई डिजिटल र एचडी च्यानल उपलब्ध गराएका छौं । हाम्रो ग्राहक बन्नका लागि एक हजार रुपैयाँ तिरे पुग्छ । उक्त मूल्यमा एन्टेना, सेटअप बक्स तथा अन्य ज्याक, तार उपलब्ध हुन्छ । अर्को कुरा हामीले ग्राहकलाई अन्य टेलिभिजन सेवाप्रदायकले जस्तो अनावश्यक च्यानल दिँदैनौं । अहिले नै हाम्रो ३० वटा एचडी च्यानल संचालनमा छन् भने एसडी च्यानल पनि उत्तिकै गुणस्तरीय छन् । जसको मासिक शुल्क तीन सय रुपैयाँ मात्र छ । उपभोक्ताले ४ हजार रुपैयाँ तिर्दा जडान शुल्क सहित एक बर्षको सेवा पाउनेछन् । यो शुल्कमा कुन सेवा प्रदायकले उपलब्ध गराउन सक्छ ।

तपाईहरुले ६० वटा च्यानल मात्रै उपलब्ध गराउनुभएको छ । अन्य सेवा प्रदायकले अहिले नै एक सयभन्दा बढी च्यानल उपलब्ध गराइरहेका छन् । यति थोरै च्यानल लिएर कसरी बजारमा प्रतिस्पर्धा गर्न सक्नुहुन्छ ?

हामीले मिसावट भएको घ्यु होइन शुद्ध नौनी बेचिरहेका छौं । अन्य सेवा प्रदायकले जस्तो जे पायो त्यहि च्यानल ग्राहकलाई दिइरहेका छैनौं । सबै नेपालीले सधैजसो हेर्ने र उच्च गुणस्तरको सेवा प्रदान गर्दै आएका छौं । हामी ग्राहकलाई एचडी भनेर सामान्य गुणस्तर च्यानल दिन चाहदैनौं । हाम्रो बोली र काम गराईमा कुनै फरक पर्दैन ।

हामीले दिएको सेवा अन्य सेवा प्रदायकसँग तुलना गर्दा प्रभु टिभी उत्कृष्ट छ । यसको जज गर्ने जिम्मा ग्राहकहरुकै हो । अहिले कतिपय सेवा प्रदायकले सित्तैमा उपलब्ध १ सय देखि १५० सम्म च्यानल उपलब्ध गराउँदै आएका छन् । तर, ग्राहकलाई जथाभावी सेवा दिएर त भएन नि । अबका दिनमा प्रभु टिभीले यही गुणस्तरलाई कायम राख्दै अन्य च्यानल पनि थप्दै छौं । निकट भविष्यमा नै प्रभु टिभीबाट १ सयभन्दा बढि च्यानल प्रशारण हुनेछ ।

नेपालमा डिजिटल टिभी आएको धेरै भइसक्यो र त्यतिबेला आएका सेवा प्रदायकले एक तहमा बजार आफ्नो पक्षमा पारेका छन् । हालै आएको प्रभु टिभीको बजार चाहीं कुन हो ?

हामी नेपालीहरुको राम्रो बानी भनेको नयाँ प्रविधि र नयाँ कुरालाई तुरुन्तै आत्मसाथ गर्छौं । हामीले ल्याएको प्रविधि नेपाली उपभोक्ताले मनपराएर माया गर्नुहुन्छ भन्ने मेरो विश्वास छ । प्रभु टिभीले भर्खरै मात्र आफ्नो सेवा बजारमा ल्याएको हो । छोटो समयमा नै हामी प्रतिको उपभोक्ताहरुको झुकाव र फिडब्याक एकदमै राम्रो आइरहेको छ । अहिले ग्राहकहरुलाई प्रभु टिभी कहाँ पाईन्छ, कसरी जडान गर्ने भन्ने विषयमा धेरै कौतुहलता छ ।

यो अवस्थामा प्रभु टिभीको गुणस्तरलाई स्थापित गर्दै नेपाली उपभोक्ताको चाहना अनुसार प्रोडक्ट दिन सक्यौं भने बजारमा प्रतिस्पर्धांं गर्न कुनै समस्या छैन । अर्को कुरा नयाँ प्रविधि तथा एप्लिकेशनका लागि विदेशी ठूला कम्पनीसँग सहकार्य गर्दैछौं । जसबाट पनि हामीलाई नेपालमा नयाँ प्रविधि भित्र्याउन सहज हुनेछ ।

काठमाडौं बाहेक देशका अन्य ठाउँमा विस्तारको योजना के छ ?

यो प्रविधिमा टिभी संचालनमा ल्याउन विदेशबाट उच्च स्तरको महङ्गा सामग्रीहरु ल्याउनुपर्छ । हामीले संचार मन्त्रालयबाट देशभर नै टेलिभिजन प्रशारण गर्ने उद्देश्य सहित लाइसेन्स लिएका छौं । अहिले सोही अनुरुप विभिन्न स्थानमा टावर थप गर्ने काम भइरहेको छ ।
अहिले प्रभु टिभीको सुरुवात मात्रै हो । अबको केही समयभित्र प्रमुख सहरहरुमा पुग्नेछौं । यो अलि महङ्गो र नयाँ प्रविधि हो । नेपालको भौगोलिक जटिलताका कारण सबै स्थानमा विस्तार गर्न केही समय भने लाग्नेछ । तर, हाम्रो मुख्य लक्ष्य छोटो समयमा देशभरका जनतालाई उच्च गुणस्तरीय सेवा पुर्याउने नै हो ।

प्रतिक्रिया दिनुहोस्
MBL