Logo

बजेटमार्फत घरजग्गा कारोबारमा कडाई, बर्षको एक पटकमात्र खरिदबिक्री !

बजेटमार्फत घरजग्गा कारोबारमा कडाई, बर्षको एक पटकमात्र खरिदबिक्री !



काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत घरजग्गा कारोबारमा कडाई गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले घरजग्गा कारोबारलाई पटक–पटक अनुत्पादक भन्दै आएकोमा आगामी आबदेखि नीतिगत रुपमै कडाई गर्न लागेको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय घरजग्गा कारोबार एकदमै फस्टाएको र धेरै जसो जग्गाहरु बैनापट्टाबाटै पटक–पटक कारोबार हुने क्रम बढेपछि सरकारले त्यसलाई बर्षमा एकपटक मात्रै खरिदबिक्री गर्न मिल्ने व्यवस्था गर्न लागेको उच्च स्रोतले जानकारी दिएको छ ।

सरकारले यही सोमबार ल्याएको आगामी आबको नीति तथा कार्यक्रममार्फत पनि घरजग्गा कारोबारमा कडाई गर्ने उल्लेख गरेको छ । उक्त नीति मार्फत सरकारले अबका दिनमा भुउपयोग नीति र कानुनमा परिमार्जन गर्ने बताएको छ । साथै अबका दिनमा कृषि योग्य भुमीको खण्डिकरण र अतिक्रमण रोक्ने उद्घोष गरेको छ ।

सरकारको नीति तथा कार्यक्रम अनुरुप नै अब आउने बजेटमा एक कित्ता जग्गा बर्षमा एकपट मात्रै खरिदबिक्री गर्न मिल्ने व्यवस्था गर्न लागिएको हो । पछिल्लो समय घरजग्गा कारोबारमा सिमित व्यक्ति फस्टाउने र धेरै जसो जनताहरु समस्यामा पर्ने गरेकाले पनि बर्षमा एकपटक मात्र खरिदबिक्री गर्न मिल्ने व्यवस्था गर्न लागिएको उक्त स्रोतको दाबी थियो ।

‘बास्तविक जनताले आफुलाई घर बनाउन एक पटक जग्गा खरिद गरेपछि हतपत बिक्री गर्दैनन्,’ उक्त स्रोतले भन्यो, ‘घरजग्गा दलालले बढि नाफा कमाउने दाउमा एउटै जग्गालाई बर्षमा ८/१० पटक बिक्री गर्ने चलन बढेपछि बजेटमार्फत नै कडाई गर्न लागिएको हो ।’

सरकारले यस अघि नै घरजग्गा कारोबारलाई कडाई गर्ने उद्देश्य अनुरुप कित्ताकाटमा रोक लगाइसकेको छ । सोही अनुरुप आगामी दिनमा एउटा कित्ता जग्गा बर्षमा एकपटक मात्र खरिदबिक्री गर्ने व्यवस्था गर्न लागिएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL