Logo

रेमिट्यान्समा भर पर्ने देशको सुचीमा नेपाल विश्वकै पहिलो

रेमिट्यान्समा भर पर्ने देशको सुचीमा नेपाल विश्वकै पहिलो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रोजगारीका लागि विदेश जानेहरुले पठाएको रकमबाट अर्थतन्त्र चलाउने देशको सुचीमा नेपाल विश्वमै पहिलो स्थानमा परेको छ । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको कृषि विकासका लागि अन्तरराष्ट्रिय कोष(आइफ्याड)ले हालै सार्वजनिक गरेको सन् २०१६ को प्रतिवेदनले रेमिट्यान्समा नेपालको निर्भरता उच्च रहेको देखाएको हो ।

प्रतिवेदन अनुसार रेमिट्यान्सले नेपालको कुल गार्हस्थ्य उत्पादन(जीडीपी)को ३२ प्रतिशत बराबरको हिस्सा राख्छ । नेपालपछि लाइबेरिया जीडीपीको ३१ प्रतिशत, ताजकिस्तान २९ प्रतिशत, किर्गिस्तान २६ प्रतिशत र हाइटी २५ प्रतिशत बराबरको हिस्सा सहित रेमिट्यान्समा निर्भर रहने अर्थतन्त्रको दोस्रोदेखि क्रमशः पाँचौ स्थानमा छन् ।

प्रतिवेदनले दक्षिण एसिया सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने क्षेत्रका रुपमा रहेको उल्लेख गरेको छ । ६२ अर्ब ७० करोड डलरसहित भारत सबैभन्दा धेरै रेमिट्यान्स प्राप्त गर्ने मुलुकको सुचीमा पहिलो स्थानमा छ । भारतलाई पछ्याउँदै ६१ अर्ब डलरसहित चीन दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको फिलिपिन्सले सन् २०१६ मा २९ अर्ब ९० करोड डलर रेमिट्यान्स प्राप्त गरेको छ भने २८ अर्ब ५० करोड डलरसहित मेक्सिको चौथो स्थानमा छ । पाकिस्तानले १९ अर्ब ८० करोड डलर रेमिट्यान्स प्राप्त गरेर विश्वभर धेरै रेमिट्यान्स पाउने देशमा पाँचौ स्थानमा परेको छ ।

विश्वभर रहेका २० करोड वैदेशिक कामदारले ८० करोड परिवारका सदस्यलाई आर्थिक रुपमा सहयोग पुर्याएको तथ्य पनि प्रतिवेदनले उल्लेख गरेको छ । यी २० करोड कामदारले सन् २०१६ भर ४५० अर्ब डलर अर्थात ४६३ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स पठाएका छन् । विदेशमा गएर काम गर्ने कामदारले प्राप्त गर्ने आम्दानी उउसको परिवारको आम्दानीको ६० प्रतिशत हिस्सा रहेको पनि तथ्य सार्वजनिक भएको छ । यसरी कामका लागि विदेश जानेले आफ्नो घरमा पैसा पठाएका मात्रै छैनन, काम गर्ने देशको अर्थतन्त्रमा समेत ठूलो योगदान पुर्याएको प्रतिवेदनमा उल्लेख छ । कामदारहरुको आम्दानीको ८५ प्रतिशत अर्थात तीन ट्रिलियन डलर काम गर्ने देशमा रहने पनि प्रतिवेनले उल्लेख गरेको छ ।

ग्राफिक्सः सिएनएन मनी

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL