Logo

नेपालको पर्यावरण जोगाउन विकसित मुलुकले सहयोग गर्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

नेपालको पर्यावरण जोगाउन विकसित मुलुकले सहयोग गर्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल



काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पर्यावरण जोगाउन विकसित मुलुकले सहयोग गर्नु पर्ने बताएका छन ।

laxmi

उनले विश्व जलवायु परिवर्तनका कारण साना राष्ट्रले चुनौतीको सामना गर्नुपरेकाले पर्यावरण जोगाउन विकसित र औद्योगिक मुलुकले सहयोग उपलब्ध गराउनुपर्ने बताएका हुन ।

चीनको राजधानी बेइजिङमा जारी नवौँ बेइजिङ स्याङ्सन फोरमको साना र मध्यम मुलुकका साझा स्वार्थ र सुरक्षाका विषयको सत्रमा मंगलबार सम्बोधन गर्दै आग्रह गरेका हुन । आफ्नो तर्फबाट कुनै कमजोरी नहुँदा पनि नेपालले भोग्नुपरिरहेका जलवायु परिवर्तनका समस्याबारे विकसित र औद्योगिक मुलुकको ध्यानाकर्षण गराएको हो ।

उनले हिमालय क्षेत्रको संवेदनशील पर्यावरणबारे सबैमा सचेतना बढाउन र जलवायु परिवर्तनलाई नियन्त्रण गर्ने दिशामा पारस्परिक सहयोगलाई अभिवृद्धि गर्न नेपालले सन् २०२० को अप्रिलमा सगरमाथा संवाद आयोजना गर्न लागेकाले त्यसका लागि निमन्त्रणा समेत गरेका छन ।

‘आजको प्रतिस्पर्धात्मक र बदलिँदो विश्व परिवेशमा साना, मध्यम तथा अतिकम विकसित मुलुकका सुरक्षा र विकासका मुद्दाले अन्तर्रा्ष्ट्रियस्तरमा प्राथमिकता पाउनुपर्छ’, उनले भने, ‘नेपालले संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशील र विश्वशान्तिको आधारमा परराष्ट्र नीति सञ्चालन गर्दै आएको छ । नेपाल न्यायपूर्ण र समतामूलक विश्व व्यवस्थाको पक्षपाती रहन्छ ।’

उनले कुनै एक ठाउँको गरीबी सबै ठाउँको सुरक्षा, शान्ति र स्थायित्वका लागि चुनौती भएकाले विकसित मुलुकले आफ्नै सुरक्षाका लागि पनि कम विकसित मुलुकको विकासमा सहयोग गर्न आवश्यक रहेको बताएका छन ।

‘समृद्ध नेपालः सुखी नेपाली’ को दीर्घकालीन सोचअनुसार वर्तमान सरकारले कृषि क्षेत्रको आधुनिकीकरण, उद्योग क्षेत्रको विस्तार, जलविद्युत, पर्यटन र पूर्वाधार क्षेत्रको विकास तथा शिक्षा र स्वास्थ्य क्षेत्रको गुणात्मक सुधारलाई रणनीतिक क्षेत्रको रूपमा पहिचान गरी विभिन्न कार्यक्रम अघि बढाएको बताएका छन ।

साथै उनले विश्वका १४ मध्ये १० उच्च हिमशृंखला भएको, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि तथा कला र संस्कृतिमा धनी देश नेपालले आगामी सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन लागेकाले नेपाल भ्रमण गर्न समेत आग्रह गरेका छन/रासस

प्रतिक्रिया दिनुहोस्
MBL