Logo

सगरमाथाको ११ टन फोहोर फाप्लुमा, आज बेलुकासम्ममा काठमाडौं आईपुग्ने

सगरमाथाको ११ टन फोहोर फाप्लुमा, आज बेलुकासम्ममा काठमाडौं आईपुग्ने



काठमाडौं । नेपालले पहिलोपटक आफ्नै प्रयासमा सगरमाथामा जम्मा भएका फोहोर संकलन गरी सोलुखुम्बूको फाप्लुमा ल्याएको छ । हालसम्म संकलन भएको ११ टन फोहोरलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत फाप्लु विमानस्थलसम्म ल्याईएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिएका छन ।

laxmi

उनका अनुसार फाप्लु विमानस्थलसम्म सेनाको हेलिकोप्टरले ल्याएको ६ हजार ७ सय केजी फोहोरलाई आज बेलुकासम्ममा गाडीमार्फत काठमाडौं ल्याइने छ । यस अघि ४ हजार केजी फोहोर काठमाडौं ल्याई सकेको छ । पुन:प्रयोगमा ल्याउन नसकिने फोहोरलाई भने नाम्चेमै छाडिएको छ ।

यसअघि विदेशी संघसंस्था तथा व्यक्तिगत रुपमा स्वयंसेवाको रुपमा फोहोर संकलन हुँदै आएकोमा यस बर्ष सरकार र निजी क्षेत्रको संयुक्त पहलमा फोहोर संकलन गरिएको थियो । निजी क्षेत्रका विभिन्न संघसंस्थासहित सरकारको सहभागितामा संकलन गरेको फोहोरलाई जुन ५ तारिक वातवरण दिवसको अवसरमा बिसर्जन गर्ने कार्यक्रम तय भएको छ ।

उच्च हिमाली क्षेत्रदेखि तलको पदयात्रा मार्ग वरपर आरोहण उपकरणका टुक्रा, अक्सिजन सिलिण्डरका धातु, मानव मलमूत्र र बियर तथा अन्य पेय पदार्थका खाली सिसी जस्ता फोहोरमैलालाई काठमाडौं ल्याउन लागिएको हो ।

वातवरण दिवसको अवसरमा ब्लु वेस्ट टु भ्यालु नामक संस्थालाई उक्त फोहोर हस्तान्तरण गर्ने घिमिरेले जानकारी दिएका छन । उनका अनुसार यस बर्ष मात्रै ११ टन फोहोर संकलन भएको र ४ ओटा शव काठमाडौं ल्याईसकेको छ ।

अहिले सो क्षेत्रको बेस क्याम्प वरिपरी, क्याम एक, दुई, तिन सफा भएको छ । अब दक्षिणी ध्रुर्ब र चौथो क्याम्पको मात्रै फोहोर ल्याउन बाँकी रहेको छ । सो क्षेत्रको फोहोर संकलन भए पनि समयको अभावले गर्दा ल्याउन नसकेको घिमिरेले बताए ।

विगतमा सगरमाथाको फोहोर संकलनको काम भए पनि कागजी रुपमा मात्रै भएको र यस पटक भने काम गरेरै देखाएको घिमिरेको भनाई रहेको छ । यस अघि २०१८ मा मात्रै यति एयरलाईन्सले १ सय टन फोहोर काठमाडौं ल्याउने उद्घोष गरेकामा ३० टन फोहोर काठमाडौं ल्याईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL