Logo

सीआईआई साझेदारी सम्मेलन सुरु, नेपालमा लगानी गर्न एफएनसीसीआईको जोड

सीआईआई साझेदारी सम्मेलन सुरु, नेपालमा लगानी गर्न एफएनसीसीआईको जोड



काठमाडौं । भारतको मुम्बईमा सीआईआई साझेदारी सम्मेलन सुरु भएको छ । भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको उक्त सम्मेलनमा सार्क राष्टका प्रतिनिधिहरु भेला भएका हुन । उक्त सम्मेलनमा नेपालका तर्फबाट भाग लिएका नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालले दक्षीण एशियाको सम्भावनालाई रुपान्तरण गरी यस क्षेत्रका जिवनस्तर उकास्नुपर्ने बताएका छन ।

उक्त सम्मेलन लाई संवोधन गर्दै उनले प्राकृतिक स्रोतले धनी दक्षिण एशियामा रहेको अपार सम्भाव्यतालाई यथार्थतामा रूपान्तरण गरी यस क्षेत्रका जनताको जीवनस्तर सुधार गर्नुपर्नेमा जोड दिएका हुन ।

दक्षिण एशियामा आर्थिक सहयोग–साझेदारी प्रवद्र्धन सम्बन्धी विषयक सत्रलाई संवोधन गर्दै सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका ढकालले यूवा जनसंख्याले धनी दक्षिण एशियामा रहेको बलियो जनशक्ति र प्राकृतिक स्रोतलाई एकाकार गराएर लैजान सकियो भने अवको विश्व अर्थतन्त्रको नेतृत्व यसै क्षेत्रले गर्ने दावी समेत गरेका छन ।

सीआईआई साझेदारी सम्मेलनमा भाग लिन महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल अहिले भारतको मुम्वईमा रहेको छ । सम्मेलनको भारतका उपराष्ट्रपतिले एक विशेष समारोहका बीच आज उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव, भारतीय सरकारका उद्योग वाणिज्य तथा नागरिक उड्डयन मन्त्री सुरेश प्रभु, महाराष्ट्रका मुख्य मन्त्री, सार्क राष्ट्रका मन्त्रीहरुको सहभागिता रहेको थियो ।

विशेषगरी दक्षिण एशिया आर्थिक विकासका लागि प्रचुर सम्भाव्यता रहेको क्षेत्र भएकाले क्षेत्रीय सहयोग, सहकार्य र साझेदारी मार्फत आर्थिक समृद्धिमा कार्य गर्न सरकारहरू पछि पर्न नहुने धारणा राखेका थिए । सिंगो सार्क क्षेत्रलाई आर्थिक समृद्धिको अभियानमा एक ढिक्का बनाई लैजान आवश्यक भएको भन्दै यसका लागि सार्क क्षेत्रका सरकारलाई साझेदारीको रणनीतिमा काम गर्न समेत उनले सुझाव दिएका छन ।
सार्क क्षेत्रका सवै राष्ट्रमा लगानी सम्भाव्यता प्रवल रहेको भन्दै सार्क उवासंघका उपाध्यक्ष ढकालले नेपालमा लगानीका लागि निकै धेरै सम्भाव्यता रहेको र कतिपय क्षेत्रहरु यद्यपी पहिचान समेत हुन नसकेकाले नेपालमा लगानी गरी फाइदा उठाउन यस क्षेत्रका उद्योगी व्यवसायीलाई आग्रह गरेका छन । नेपालमा लगानीका लागि यतिखेर अत्यन्त उपयुक्त समय भएको, वातावरण पनि लगानी मैत्री रहेको, आन्तरिक तथा वाह्य लगानी आकर्षणका लागि नेपाल सरकारबाट आवश्यक नीतिगत सुधार समेत भैरहेकोे जानकारी गराउँदै नेपालमा लगानी बढाई यस क्षेत्रलाईनै लाभान्वित बनाउने दिशामा अगाडी बढ्न समेत उनले सुझाव दिएका छन । नेपाल सरकारले, गराउँदै उक्त सम्मेलनमा सहभागिताका लागि सार्क व्यवसायिक नेताहरूलाई निम्तो समेत दिएका छन ।

सार्क क्षेत्रका मन्त्रीहरू, सरकारी प्रतिनिधिहरू, उद्यमी व्यवसायीहरू, लगानीकर्ताहरू, संचारमाध्यमहरू, विकास साझेदारहरूको महत्वपूर्ण सहभागिता रहेको सो कार्यक्रममा नेपालमा, ऐतिहासिक राजनीतिक परिवर्तन पश्चात सबै प्रकारको निर्वाचन समेत सम्पन्न भई स्थिर सरकारले काम गरिरहेकाले नेपालको दीगो आर्थिक विकासका लागि आवश्यक पूर्वाधार क्षेत्र जस्तो हाइवे, रेल, उर्जा तथा त्यससम्बन्धी पूर्वाधार तथा यातायात क्षेत्रमा लगानीको आवश्यकता रहेको समेत उनले जानकारी दिएका छन ।

संवोधनका क्रममा उनले नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ(सीआइआई) बीचको आपसी सम्बन्ध अत्यन्त प्रगाढ रहेको, दुई देश बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, नीतिगत सुधारमा समेत दुवै संस्थाले विगतमा ऐतिहासिक भूमिका निर्वाह गरेको स्मरण गर्दै अव दुबै संस्था बीच आपसी सहकार्यका माध्यमबाट औद्योगिक विकास, लगानी आकर्षणमा समेत सहकार्य हुनुपर्नेमा जोड दिएका हुन ।
पूर्व अध्यक्ष ढकालले सम्मेलनकै दौरान पर्यटन तथा सेवा क्षेत्र सम्बन्धी एउटा शत्रलाई संवोधन गर्दै सार्क क्षेत्रलाई जो्डने अर्को महत्वपूर्ण माध्यम पर्यटन क्षेत्र भएको स्पष्ट पारेका छन । पर्यटन क्षेत्रको अधिक विकास मार्फत यस क्षेत्रका जनताको जीवनस्तर माथि उठाउन सकिने तर्क राख्दै उनले यसका लागि सार्क क्षेत्रभित्र स्वतन्त्र आवागमन र कनेक्टीभीटीमा जोड दिनु पर्ने धारणा व्यक्त गरेका छन ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेकाले नेपालमा पर्यटन क्षेत्रमा लगानी गरी फाइदा उठाउन पनि उनले अनुरोध गरेका छन । पर्यटन क्षेत्र पनि नेपालमा लगानीका लागि ठूलो सम्भाव्यता भएको क्षेत्र हो भन्दै पुर्व अध्यक्ष ढकालले सो अवसरमा नेपालमा पर्यटन क्षेत्रमा लगानीको सम्भाव्यता, क्षेत्र तथा पर्यटन उद्योगको हालको वस्तुस्थितिका वारेमा स्पष्ट पारेका हुन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL