Logo

सिसिटिभीमार्फत २० हजार चालक कारवाहीमा, ५ सय देखि १ हजार रुपैयाँ सम्म जरिवाना

सिसिटिभीमार्फत २० हजार चालक कारवाहीमा, ५ सय देखि १ हजार रुपैयाँ सम्म जरिवाना


रासस
351
Shares

काठमाडौं । ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाएको छु भनेर मख्ख नपर्नुहोला । सिसिटिभीमार्फत तपाईँको अनुगमन भइरहेको हुन्छ, फन्दामा पर्नुहोला ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समय जथाभावी सवारीसाधन चलाउने चालकलाई सिसिटिभीमार्फत अनुगमन गरी कारवाही बढाएको छ । महाशाखाले हालसम्म सिसिटिभीमार्फत २० हजार २४ जनालाई कारवाही गरेको छ ।

विसं २०७३ देखि सिसिटिभीमार्फत सवारी चालकलाई कारवाही थालेको महाशाखाले हालसम्म २० हजार बढी व्यक्तिलाई कारवाही गरेको हो । आव २०७३÷७४ मा १३ हजार २ सय २७, आव २०७४÷७५ मा २ हजार ७ सय १६ र आव २०७५÷७६ मा २ हजार ७ सय ५२ जनालाई कारवाही गरेको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले पछिल्लो समय सिसिटिभीमार्फत सवारी साधन कारवाहीलाई तीव्रता दिएको बताएका छन ।

‘उपत्यकाका सबै चोक र सडकमा ट्राफिक जनशक्तिको अभाव छ, त्यसैले महाशाखाले सिसिटिभीमार्फत सवारी उल्लङ्घन गर्ने सवारी चालकलाई कारवाही अगाडी बढाएका हौँ’, उनले भने ।

साँघुरा सडक र अत्याधिक सवारीसाधन भएकाले लेन मिच्ने, तीब्र गतिमा सवारी चलाउने, एकतर्फी बाटोमा सवारी चलाउने, नो टर्न लेखेको ठाँउबाट टर्न लिनेलगायतलाई कारवाही गरिएको महाशाखाले जनाएको छ । हाल महाशाखाले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेका ४ सय ६० क्यामराबाट उपत्यकाको ट्राफिक गतिविधिको बारेमा हेर्दे आएको छ ।

चालकलाई घरमा चिठी पठाएर कारवाही

महाशाखाले सवारी नियम उल्लङ्घन गर्ने १ हजार ३ सय २९ सवारी चालकलाई घरमा चिठी पठाएर कारवाही गरेको छ । विसं २०७४ मा तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनाल महाशाखा प्रमुख भएको समयमा महाशाखाले सवारीसाधन उल्लङ्घन गर्ने चालकलाई घरमा चिठी पठाएर कारवाही गर्ने अभियान शुरु गरेको थियो । आव २०७४÷७५ मा ५ सय ५१ र आव २०७५÷७६ को हालसम्म ७ सय ७८ जनालाई कारवाही गरेको हो ।

महाशाखाले सवारीसाधनमार्फत १ हजार ९ सय ५८ सवारी चालकलाई कारवाही गरेको छ । आव २०७४÷७५ मा १ हजार २ सय ५३ र आव २०७५÷७६ मा ७ सय ५ सवारी चालकलाई कारवाही गरेको छ ।

महाशाखाका प्रमुख पन्त सवारी नियम उल्लङ्घन गर्ने सवारी चालकलाई ५ सय रुपैयाँ देखि १ हजार रुपैयाँसम्म जरिवना र जनचेतना दिँदै आएको बताउँछन । महाशाखाले सिसिटीभिका अलावा बडीवान क्यामरा, ग्रोप्रो क्यामरामार्फत कारवाही गर्दै आइरहेको छ ।

ट्राफिक उभिएर गर्ने कारवाही, सामाजिक सञ्जालमार्फत हेरेर गरिने कारवाही, यात्रुहरुले खबर गरेर गरिने कारवाहीसमेत रहेका छन । महाशाखाले सिसीटिभीमार्फत उपत्यकामा हुने कतिपय सवारी दुर्घटनाको अनुसन्धान गर्दै आइरहेको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल नेपालभर ३२ लाख सवारीसाधन सञ्चालनमा रहेका छन, जसमध्ये ८ लाख सवारीसाधन काठमाडौं उपत्यकामा मात्र सञ्चालनमा रहेका छन । उपत्यकामा साँघुरा सडक र सवारीसाधन धेरै भएका कारण ट्राफिक व्यवस्थापन दिनानुदिन जटिल बन्दै गएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL