Logo

६५ हजारको स्वास्थ्य बीमा, ३ करोड ७० लाख बीमा शुल्क उठ्दा साढे ३ करोड खर्च

६५ हजारको स्वास्थ्य बीमा, ३ करोड ७० लाख बीमा शुल्क उठ्दा साढे ३ करोड खर्च


बिजखबर संवाददाता
108
Shares

पोखरा । कास्कीमा एक वर्षमा ६५ हजार जनाले स्वास्थ्य बीमा गराएका छन् । २०७३ पुस १२ गतेदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले बीमा दर्ता प्रक्रिया शुरु गरेकामा २०७४ पुस मसान्तसम्ममा सो बराबरको बीमा गरिएको हो ।

सो अबधिमा कुल १२ हजार ६ सय ९५ परिवार बीमामा आबद्ध भएका छन् । जसबाट समितिले ३ करोड ७० लाख रुपैयाँ संकलन गरेको कार्यालयका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिए । सो अवधिमा बीमा गरेकामध्ये ३८ हजार जनाले ३ करोड ५० लाख रुपैयाँको सेवा लिएको उनले जानकारी दिए ।

हाल कास्कीका बीमा गराएका नागरिकले १० सेवाप्रदायक स्वास्थ्य संस्थाबाट ५ सय ३० प्रकारका सूचीकृत औषधि र २७ वटा विविध उपचार सेवा पाइरहेका छन् । समितिले एक्सरे, युएसजी, इसिजी र सेमी अटो एनभाइजर मेशिन पनि उपलब्ध गराएको छ । सरकारले २०७२ चैत २५ गतेदेखि कैलालीबाट बीमा कार्यक्रम शुरु गरेको थियो ।

कास्कीका सेवा प्रदायक स्वास्थ्य संस्थामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल, गण्डकी मेडिकल कलेज, हिमालय आँखा अस्पताल, शिशुवा अस्पताल, मातृशिशु मितेरी अस्पताल, अर्मला, भेडावारी, कृस्ती र थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्र छन् ।
जिल्लामा हाल १ सय ५ जना बीमा दर्ता सहयोगी जिल्लाको एक महानगरपालिका र चार गाउँपालिकामा खटिएका छन् । यो कार्यक्रममा परिवारका सबै सदस्य सहभागी हुनुपर्नेछ । पाँच जनासम्मको परिवारले वार्षिक २ दुई हजार ५ सय योगदानमा आधारित रकम बुझाउनु पर्नेछ ।

परिवारमा ५ जनाभन्दा बढी सदस्य भए प्रतिसदस्य ४ सय २५ का दरले थप रकम बुझाउनु पर्नेछ । सुविधाको थैलीको सीमा ५ जना परिवारको हकमा वार्षिक ५० हजार रुपैयाँ रहेको छ । यसैगरी ५ जनाभन्दा बढी परिवारका सदस्य भएमा प्रति थप सदस्यबापत १० हजारको सीमा बढ्दै जाने र अधिकतम सीमा १ लाख रुपैयाँसम्म कायम गरिएको छ /रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL