Logo

गभर्नरले भने, नेपालको वित्तीय क्षेत्रको अवस्था सवैभन्दा नाजुक

गभर्नरले भने, नेपालको वित्तीय क्षेत्रको अवस्था सवैभन्दा नाजुक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालको बैंक तथा वित्तीय संस्थाको अवस्था अन्य देशको तुलनामा नाजुक भएको बताए । ‘नेपालको कुनै पनि बैंक तथा वित्तीय क्षेत्र अन्तरराष्ट्रिय मापदण्ड अनुसारका छैनन्,’ नेपाल बैंकिङ इन्ष्टिच्युटद्वारा आयोजित मर्जर सम्मेलनमा उनले भने, ‘अन्य देशको तुलनामा नेपालको बैंक वित्तीय क्षेत्रका लगानीकर्ताको स्तरदेखि कार्यशैली समेत नाजुक छ ।’ बैंक वित्तीय क्षेत्रलाई अन्तरराष्ट्रिय स्तरमा लैजानका लागि पनि पूँजी बृद्धि र लगानीकर्ताको क्षमता अभिबृद्धि आवश्यक रहेको उनले बताए ।

बैंक संचालन गर्न किराना पशल चलाएको अनुभवले नुहुने भन्दै सोको लागि क्षमता बृद्धि गर्नुपर्ने उनको धारणा थियो । ‘एउटा सानो कुरामा समस्या आउदा समग्र बैंकिङ प्रणाली नै विग्रन पुग्छ,’ उनले भने, ‘सेवाग्राहीको विश्वास लिनका लागि पनि बैंक वित्तीय क्षेत्रलाई अन्तरराष्ट्रिय मापदण्डमा लैजानु जरुरी छ ।’ यदि वित्तीय क्षेत्रलाई पुरानै ढर्ररामा संचालन गर्ने हो भने यसको कुनै औचित्य नरहने उनको दावी थियो ।

बैंक वित्तीय क्षेत्रलाई स्थानीय स्तरमा मात्र सिमित राखेर नहुने जानकारी दिँदै विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने खालको बनाउनु पर्ने उनको भनाइ थियो । ‘अहिले १ अर्ब रुपैयाँको आयोजना निर्माणका लागि दातृनिकायसँग हात थाप्नुपर्ने वाध्यता छ,’ उनले भने, ‘नेपालका वित्तीय संस्था विश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ ।’ चुक्ता पूँजी कम भएका कारण हाल १३ वटा संस्था समस्याग्रस्थ अवस्थामा रहेको जानकारी दिँदै त्यसलाई राष्ट्र बैंकले लाशलाई झै कुर्नुपरेको उनको गुनासो थियो ।

बैंक वित्तीय संस्थामा लगानीगर्न व्यवसायीहरु झोलामा पैसा बोकेर वसेको बताउँदै उनीहरुलाई भित्र्याउन उनको आग्रह थियो । ‘पूँजी बृद्धिको मुख्य उद्देश्य मर्जर होइन,’ उनले भने, ‘तर, वैंक संचालकहरु आफुले पैसा थप्नुको सट्टा मर्जरमा गइरहेका छन् ।’ यदि लगानीकर्ताले पैसा थपेर पूँजी बृद्धि गर्ने हो भने ८ अर्ब पुर्याउन २ दिन पनि नलाग्ने उनको दावी थियो । तर, आफैले पैसा थप्दा सम्पती सुद्धिकरणमा परिने डरले लगानीकर्ताले मर्जरलाई रोजिरहेका छन् । साथै, बैंक तथा वित्तीय क्षेत्रमा आफ्नै हावीलाई कायम राख्न संचालकले नयाँ लगानीकर्ता नभित्र्याएर मर्जरलाई प्राथमिकता दिएको समेत उनको आरोप थियो ।

कार्यक्रममा एनबीआईका अध्यक्ष तथा लुम्बीनी बैंकमा प्रमुख कार्यकारी अधिकृत शोभवदेव पन्तले पूँजी बृद्धि पश्चात त्यसको पोर्टफोलियो कसरी व्यवस्थापन गर्ने भन्ने तर्फ राष्ट्र बैंकले ध्यान दिनुपर्ने बताए । ‘पूँजी बृद्धिसँगै त्यसले कसरी प्रतिफल दिन्छ त्यस विषयमा ध्यान दिनु जरुरी छ,’ उनले भने, ‘राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धि योजनाको मुख्य चुनौती पनि यहि नै हो ।’

त्यसैगरी एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बाले पूँजी बृद्धिको मुख्य आधार मर्ज नै भएको जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL