Logo

४ दिनमै सवा २ लाख टिकट बुकिङ, काउन्टरवाला भन्छन, दशैंका लागि टिकट सकियो

४ दिनमै सवा २ लाख टिकट बुकिङ, काउन्टरवाला भन्छन, दशैंका लागि टिकट सकियो



काठमाडौं । दशैं नजिकिएसँगै खुलेको अग्रीम टिकट बुकिङ केही दिनमै विवादित बन्न पुगेको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले सहज रुपमा यात्रुलाई टिकट उपलब्ध गराउने जिम्मा लिएको बताएपनि यात्रुहरु भने काउन्टरबाट टिकट नपाएर फर्किने अवस्था सिर्जना भएको छ ।

laxmi

नयाँ बसपार्कस्थित टिकट काउन्टरवालाहरुले अग्रीम टिकट बुकिङका लागि लाईन लागेका सेवाग्राहीलाई टिकट सकिएको भन्दै फर्काउने गरेका छन । तर यातायात व्यवसायीहरु भने टिकट नपाई दशैं मनाउन नपाउने अवस्था आउन नदिने बताउँदै आएका छन ।

टिकट खुलेको ४ दिनमै टिकट सकिएको भन्दै काउन्टरवालाहरुले फर्काउन थालेपछि काठमाडौंबाट बाहिरिने यात्रुहरु सास्तीमा परेका छन । बुधबार बेलुकासम्म मात्रै करिव सवा २ लाखभन्दा बढि टिकट बिक्री भईसकेको काउन्टरवालाहरुको भनाई छ । काउण्टरवालाले सवा २ लाखभन्दा बढि टिकट बिक्री भएको दावी गरेपनि हालसम्म सो संख्यामा टिकट बिक्री नभएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

व्यवसायीको तर्फबाट जतिसक्दो सहज रुपमा यात्रुहरुलाई घर जाने वातावरण बनाउने यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । ‘हामीले यात्रुलाई सहज तरिकाले गन्तव्यमा जाने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘तर सरकारले पनि सोही अनूरुप बाटोको सहजीकरण गरिदिए आभारी हुनेथियौैं ।’

व्यवसायीले यसो भनिरहँदा सुदुरपश्चिम, मध्यपश्चिम तथा पूर्व जाने बसहरुको भने टिकट पाउन अप्ठ्यारो परेको यात्रुहरुको गुनासो छ । बसपार्कका टिकट काउन्टर वालाहरुले भने अग्रीम टिकट सकिसकेको भएपनि घर जाने पहिलो दिन बसपार्कमा आए टिकट उपलब्ध गराउन सकिने बताउँदै आएको बसपार्कमा भेटिएका केही यात्रुहरु बताउँछन् ।

यस्तै अनलाईनमार्फत बसको टिकट विक्री गरिरहेको बस सेवाले पनि ८ हजार जनाको अग्रीम टिकट काटेको छ । लाईन नलागिकनै विना झन्झट अग्रीम टिकट बुकिङ खुलेदेखि बुधबार सम्म ८ हजार टिकट विक्री गरेको बस सेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले जानकारी दिए ।

उनका अनुसार हाल प्रायजसो रुटको बस टिकट सकिसकेको र पोखरा, नारायणघाट लगायत केही स्थानको मात्रै टिकट बाँकी रहेको छ । बस सेवाले अन्य रुटहरुका लागि पनि अनलाईन बुकिङ गर्नका लागि समन्वय गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL