Logo

पूँजी बजार शुद्धीकरण गर्न सेबोनले लागू गर्यो सम्पती शुद्धीकरण निर्देशिका, यस्तो छ नयाँ व्यवस्था

पूँजी बजार शुद्धीकरण गर्न सेबोनले लागू गर्यो सम्पती शुद्धीकरण निर्देशिका, यस्तो छ नयाँ व्यवस्था



काडमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीलाई थप निरुत्साहित गर्ने भएको छ । बोर्डले ‘सम्पत्ती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०७४’ जारी गर्दै पूँजी बजारमा स्रोत नखुलेको रकम तथा आतङ्कवादी क्रियाकलापलाई रोक्न थप कदम अघि बढाएको हो ।

बोर्डले यस अघि सम्पत्ती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीलाई निरुत्साहित तथा नियन्त्रण गर्ने उद्देश्यले अनुरुप सम्पत्ती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०६९ लागू गरेको थियो । मौजुदा निर्देशिका प्रतिस्थापन गर्दै थप व्यवस्थित गर्न नयाँ निर्देशिका लागू गरिएको हो ।

नयाँ व्यवस्था अनुसार कुनै पनि व्यक्तिले एक दिनमा पटक पटक वा एकै पल्ट १० लाख रुपैंया भन्दा वढिको कारोवार गरेमा सोको जानकारी वित्तीय जानकारी इकाईमा गराउनुपर्ने छ । यस्तै शंकास्पद कारोवार सम्वन्धी प्रतिवेदन वित्तीय जानकारी इकाईमा अनिवार्य दिनु पर्नेछ ।

अबका दिनमा सूचक संस्थाले आफ्नो कारोबार र व्यवसाय सञ्चालन गर्दा कानूनको पालना र उच्च नैतिक मापदण्डहरुको पालना र अनुसरण गर्नु पर्ने भने सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलाप सम्बन्धी प्रचलित कानूनको कार्यान्वयन र त्यस सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातमा कानून कार्यान्वयन गर्ने निकायलाई आवश्यक सहयोग गर्नुपर्ने छ ।

त्यस्ता संस्थाले जोखिमको आधारमा आफूसँग कारोबार गरिरहेका तथा गर्ने ग्राहकको पहिचान सम्बन्धी सूचना तथा विवरण राख्ने व्यवस्था लागू गर्नुपर्ने छ भने सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलाप विरुद्धका कामकारवाहीलाई प्रभावकारी रुपले कार्यान्वयन गर्न प्रत्येक सूचक संस्थाले आफ्नो आन्तरिक नीति, आन्तरिक नियन्त्रण प्रणाली तथा कर्मचारीको लागि तालिमको व्यवस्था गर्नु पर्दछ ।

यदि कुनै सूचक संस्थाले आफ्नो व्यवसायको सिलसिलामा बेनामी वा काल्पनिक नाममा कुनै पनि खाता खोल्न वा कारोबार गर्न पाइने छैन भने बेनामी वा काल्पनिक खाता खोलिएको वा कारोबार भएको रहेछ भने त्यस्तो खाता वा कारोबार तत्काल बन्द गरी आवश्यक छानबिन गर्नुपर्नेछ ।

साथै कुनै सूचक संस्थाले ग्राहकको सही रुपमा पहिचान तथा सोको सम्पुष्टि भरपर्दो स्रोतबाट प्राप्त कागजात, तथ्याङ्क वा जानकारीका आधारमा गर्नु पर्ने र सो गर्नको लागि आवश्यक मनासिव उपायहरु अपनाउनु पर्नेछ । ग्राहकको पहिचान तथा जाँचगर्दा जोखिममा आधारित भएर गर्नु पर्नेछ भने सूचक संस्थाले ग्राहकसँग व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा बृहत ग्राहक पहिचान सम्बन्धी उपयुक्त उपायहरु अपनाउनु पर्नेछ ।

नयाँ निर्देशिका कार्यान्वयनमा आएसँगै पूँजी बजार तथा वस्तु वजारको क्षेत्रमा हुन सक्ने सम्पत्ती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्वन्धी जोखिम न्युनिकरण भई बजारको पारदर्शीता तथा विश्वशनियतामा अभिबृद्धि हुने बोर्डको विश्वास छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL