Logo

नेप्सेमा कोरोना भाइरस प्रभाव : हुण्डीको पैसा ‘सर्टटर्म ट्रेड’मा थुप्रिदा बजारमा उछाल

नेप्सेमा कोरोना भाइरस प्रभाव : हुण्डीको पैसा ‘सर्टटर्म ट्रेड’मा थुप्रिदा बजारमा उछाल



काठमाडौं । चीनबाट शुरु भएर विश्वव्यापी बन्दै गएको कोरोना भाइसको प्रभाव दैनिक उपभोग्य बस्तुमा नकारात्मक परेपनि सेयर बजारमा भने सकारात्मक परेको छ । कोरोना भाइसरका कारण चीनसँगको व्यापार ठप्प हुँदा त्यस्तो रकम अहिले सेयर बजारमा भित्रिएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

laxmi

केही समय अघिसम्म दैनिक २०÷३० करोड रुपैयाँको कारोबार हुने सेयर बजारमा अहिले उक्त कारोबार रकम बढेर ३ अर्ब ६० करोड रुपैयाँभन्दा बढी पुगेको छ । साताको पहिलो दिन नेप्से इतिहासमै सबैभन्दा बढी ३ अर्ब ६० करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा सोमबार पनि ३ अर्ब ४१ करोड रुपैयाँ सेयर खरिदबिक्री भएको थियो ।

विशेषगरी व्यापारीहरुले चीनबाट सामान आयात गर्नका लागि कोरोना भाइरसका कारण पैसा पठाउन नपाउँदा त्यस्तो रकम सेयर बजारमा ओइरिएको एक व्यापारीले बताए । चीनबाट सामान आयातका लागि व्यवसायीहरुले एलसी र वीच्याटलगायतका हुण्डी माध्यमबाट पैसा पठाउँदै आएका छन् । तर, कोरोनाका भाइरसका कारण नेपालबाट हुण्डीबाट पठाएको रकम रिसिभ गर्न चीनमा नेपाली एजेन्टसमेत नभएकाले त्यसको विकल्पमा व्यापारीहरुले छोटो समयका लागि भएपनि सेयर बजारमा लगानी गर्न थालेका छन् ।

‘कोरोना भाइरसका कारण नेपालबाट हुण्डीलगायतका माध्यमबाट चीनमा सामान आयातका लागि पठाएको रकम रिसिभ गर्ने नेपाली एजेन्टहरु सबै नेपालमा आएका छन्,’ एक व्यापारीले भने, ‘त्यस्तो रकम होल्ड भएर बस्दा व्यापारीहरुले सर्टटर्मका लागि सेयर बजारमा लगानी गर्न थालेका छन् ।’ कोरोना भाइरसका कारण विगत २ महिनादेखि चीनसँगको नेपालको व्यापार ठप्पजस्तै छ ।

बजारमा दीर्घकालिन लगानीकर्ता भन्दा पनि चीनबाट सामान आयात गर्नका लागि राखिएको पैसा सर्टटर्म ट्रेडको लागि बजारमा प्रवेश हुँदा एकै दिन बजारमा असामान्य रुपमा बढ्न पुगेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

‘व्यापारीहरुले छोटो समयमै नाफा बुक गरेर बजारबाट निष्कनका लागि ठूलो मात्रामा लगानी गर्दै नेप्से परिसूचक समेत उच्च रुपमा बढाएका छन्,’ ती लगानीकर्ताले भने, ‘चीनमा कोरोना भाइसरको असर हट्ने वित्तिकै बजारबाट त्यस्तो रकम बाहिरिने हुँदा पुनः बजारमा मन्दी आउने सम्भावना रहेको छ ।’

अहिले बजारमा भएका केही ठूला लगानीकर्ताले नाफा बुक गर्दै ठूलो परिमाणमा सेयर बिक्री गरेका छन् भने त्यस्तो सेयर छोटो समयमा नाफा कमाउने उद्देश्यले व्यापारीहरुले खरिद गरेका छन् । केही ठूला लगानीकर्ताले नाफा बुक गर्ने तथा व्यापारीहरुले छोटो समयका लागि भएपनि ठूलो मात्रामा सेयर खरिद थालेको हुँदा बजारमा दैनिकजसो कारोबार रकम बढ्न पुगेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

यसैगरी बढ्दो बजारमा ब्रोकरहरुले पनि विभिन्न नाममा लगानी गर्दा बजारमा कारोबार रकम बढ्न थालेको एक लगानीकर्ताले जानकारी दिए । हाल संचालनमा रहेका ५० ओटा ब्रोकरसँग चुक्ता पूँजी र रिर्जवमा गरी ४ अर्ब रुपैयाँभन्दा बढी पैसा रहको छ । त्यस्तो रकमसमेत ब्रोकरले सेयर बजारमा लगानी गर्न थालेको लगानीकर्ताको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL