Logo

‘चन्डीराज ढकाल महासंघको पर्यायवाची हो, उहाँ नभए जिल्ला नगरको कुरा नै सुनिदैंन’

‘चन्डीराज ढकाल महासंघको पर्यायवाची हो, उहाँ नभए जिल्ला नगरको कुरा नै सुनिदैंन’



नेपाल उद्योग वाणिज्य महासंघ उद्योगी व्यवसायीहरुको प्रतिनिधिमुलक संस्था भएपनि महासंघ नेतृत्वले व्यवसायीक हकहितमा काम गर्न नसकेको भन्दै विरोधका आवाज सुनिन थालेका छन् । विशेषगरी जिल्ला नगर उद्योग वाणिज्य संघहरुले महासंघ नेतृत्वले आफ्ना समस्याहरु समाधान गर्न चासो नदेखाएको आरोप लगाउँदै आएका छन् । अहिले महासंघ कमजोर बन्दै गएको महशुस भएको जिल्ला उद्योग वाणिज्य संघ गैडाकोट, नवलपरासीका अध्यक्ष तथा महासंघको आगामी निर्वाचनमा जिल्ला नगरतर्फका सदस्य पदका उम्मेदवार अमृत भट्टचन बताउँछन् । महासंघको विरासतलाई पुरानै अवस्थामा फर्काउनका लागि पनि वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारीलाई समर्थन गर्दै सदस्य पदमा उम्मेदवारी दिन लागेको उनको भनाई छ । महासंघको आसन्न निर्वाचनमा केन्द्रित रहेर उनै भट्टचनसँग बिजखबरले गरेको कुराकानीको सार  :

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा जिल्ला नगरतर्फबाट सदस्य पदमा उठ्दै हुनुहुन्छ । तपाईंको उम्मेदवारी किन ?

नेपाल उद्योग वाणिज्य महासंघ एउटा इतिहास बोकेको संस्था हो । अहिले त्यस्तो संस्था माथि सरकार वा समग्र क्षेत्रले हेर्ने नजर धुमिलिएको छ । अहिले उद्योग व्यवसायीका अनेकौं गुनासा छन्, तर नेतृत्वले काम गर्न सकेको छैन । कोरोनाको बेलामा पर्यटन व्यवसायदेखि अन्य उद्योग व्यवसाय धराशायी भएको छ । यस्तो अवस्थामा महासंघको नेतृत्व मौनजस्तै छ । यो अवस्थमा महासंघको नेतृत्व असफल भएको छ भनेर भनिरहन नपर्ला । आगामी दिनमा नेतृत्वलाई सबल र सक्षम बनाएर जिल्ला नगर उद्योग वाणिज्य संघहरुको मुद्दालाई सम्बोधन गर्न पनि हामीले पहल गरिरहेका छौं । उच्च बैंक ब्याजदर तथा कोरोना महामारीका कारण जिल्ला नगरका धेरैजसो उद्योगी व्यवसायी धराशायी भैसकेका छन् । यो अवस्थामा सरकारले पनि उद्योगी व्यवसायीका समस्या बुझ्न सकेको छैन । अबका दिनमा आउने नेतृत्वले आम व्यवसायीका समस्या सम्बोधन गर्नुपर्छ र त्यसैका लागि म महासंघमा प्रवेश गर्दैछु ।

व्यवसायीक हकहितका लागि तपाईंका खास एजेण्डा के हुन् ?

अहिले महासंघ नेतृत्वले गर्नुपर्ने धेरै कामहरु गर्न सकिरहेको छैन । भवानी राणा नेतृत्वको महासंघले व्यवसायीक हकहितका लागि अहिलेको कार्यकालमा गरेका ५ ओटा काम मात्र बताईदिनु भयो भने म उहाँहरुको सधै प्रसंशक हुनेछु । तर उहाँहरुले कुनै पनि काम गर्न नसकिरहेको अवस्था र महासंघको धुमलिएको छविलाई पुनः पुर्नजागृत गर्दै पुरानै विरासतमा ल्याउनका लागि मैले महासंघका जिल्ला नगरकोतर्फबाट सदस्य पदमा उम्मेदवारी दिएको हुँ । अहिले जिल्ला नगर उद्योग वाणिज्य संघका उद्योगी व्यवसायीहरु कोरोनाका कारण पलायन हुने अवस्था पुगेका छन् भने कर लगायतका समस्या पनि उत्तिकै छन् । त्यसलाई सम्बोधन गर्न पनि महासंघको आसन्न निर्वाचनमा जिल्ला नगरका तर्फबाट चुनावी मैदानमा उत्रिएको हुँ ।

महासंघको सदस्य पदमा उम्मेदवारी दिइरहँदा बरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र जिल्ला नगरतर्फको उपाध्यक्षमा गुणनिधी तिवारीको प्यानलबाट आउनु भएको छ । किन त्यहिँ प्यानलबाट उम्मेदवारी दिनुभयो ?

महासंघको आसन्न निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल दाई र जिल्ला नगरमा गुणनिधी तिवारीले उम्मेदवारी दिँदै हुनुहुन्छ । मलाई विश्वास छ कि यो नेतृत्वले महासंघको धमिलिएको छविलाई पुनर्जागृत गर्दै पूनः मजवुद बनाउने छ । नेपालको उद्योग व्यवसायमा चन्द्रप्रसाद ढकाल दाई शुन्य तहबाट आउनु भएको हो । तर अहिले नेपालका ७७ वटै जिल्लामा उहाँका व्यवसायहरु फैलिएका छन् भने अन्तरराष्ट्रिय स्तरमा पनि त्यतिकै दरिलो सम्बन्ध छ । उहाँ एक सफल व्यवसायी हुनुहुन्छ भने साना, मझौला र ठूला सबै खाले व्यवसायीका समस्या राम्रोसँग बुझ्नु भएको छ । महासंघको नेतृत्वमा आउने व्यक्तिले व्यवसायीका समस्या समाधान गर्न सरकारसँग पनि त्यतिकै लविङ गर्नु जरुरी छ । जुन क्षमता चन्द्र ढकालसँग छ ।

‘भवानी राणा नेतृत्वको महासंघले व्यवसायीक हकहितका लागि अहिलेको कार्यकालमा गरेका ५ ओटा काम मात्र बताईदिनु भयो भने म उहाँहरुको सधै प्रसंशक हुनेछु । तर उहाँहरुले कुनै पनि काम गर्न नसकिरहेको अवस्था र महासंघको धुमलिएको छविलाई पुनः पुर्नजागृत गर्दै पुरानै विरासतमा ल्याउनका लागि मैले वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारीलाई समर्थन गर्दै सदस्य पदमा उम्मेदवारी दिएको हुँ । ‘

अहिले केही साथीहरु सरकारसँग द्वन्द्व वा विरोध गरेर अघि बढ्नु पर्छ भन्ने मानसिकता लिएर हिड्नु भएको छ । तर त्यसरी मात्र पनि हाम्रा समस्या समाधान हुँदैनन् । सरकारसँग सहकार्य गर्दै उद्योगी व्यवसायीका समस्या समाधान गर्न सक्नुपर्छ । तसर्थ चन्द्र ढकालले समग्र व्यवसायीका समस्यालाई सरकार माझ राखेर सम्बोधन गर्न सक्नुहुन्छ भन्ने मेरो आशा र भरोसा छ । उहाँले छोटो समयमै जिल्ला नगरदेखि बस्तुगत र एशोसिएट्स साथीहरुको मन जित्न सफल हुनु भएको छ । यसैगरी जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेद्वार गुणनिधी तिवारीसँग पनि महासंघमा लामो समयदेखि बसेर काम गरेको अनुभव छ । उहाँ पनि शुन्य तहबाटै उद्योग व्यवसायमा प्रवेश गर्नु भएको हो । अहिले सफल हुनु भएको छ । उहाँलाई हरेक उद्योगी व्यवसायीको समस्या थाहा छ, अनुभव पनि छ । जिल्ला नगरकै तर्फबाट महासंघमा डेढ दशकदेखि प्रतिनिधित्व गर्दै हुनुहुन्छ । तसर्थ उहाँहरुको नेतृत्वमा महासंघ सञ्चालन गर्न सकियो भने अहिले देखिएका उद्योगी व्यवसायीका समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वास लिएको छु ।

महासंघको निर्वाचनमा जिल्ला नगरको ५० प्रतिशत मतभार रहन्छ । तर, महासंघ नेतृत्वले सधै जिल्ला नगरलाई नै उपेक्षा गर्यो भन्ने गुनासो पनि सुनिन्छ । अवस्था त्यस्तै हो ?

पक्कै पनि महासंघको निर्वाचनमा जिल्ला नगरतर्फको मतभार ५० प्रतिशत रहन्छ भने कार्यसमितिमा सोही अनुरुपको उपस्थिती रहन्छ । तर पछिल्लो समय महासंघमा जतिपनि नेतृत्वहरु आउनु भएको छ एशोसिएट्बाटै छन् । उहाँहरुको न केन्द्रभन्दा बाहिर व्यापार व्यवसाय छ न जिल्लाका उद्योगी व्यवसायीका समस्यासँग भिज्नु भएको छ ।चण्डीप्रसाद ढकाल पछि अहिलेसम्मका नेतृत्व एशोएिसट्बाटै छन् । उहाँहरु जिल्ला नगरको भोटबाट अध्यक्ष बन्दै आउनुभएको छ तर अध्यक्ष बनेपछि त्यहिं क्षेत्रका समस्या नहेर्ने परिपाटी बनेको छ । जिल्ला नगरलाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्दै आउनु भएको छ । जिल्ला नगरमा दैनिक कामदेखि कर लगायतका धेरै समस्या हुन्छन् । उदारहणका लागि अहिलेको कोरोना महामहारीमा जिल्ला नगरमा धेरै खालका समस्या उत्पन्न भएका छन् । तर उहाँहरु निर्वाचित भएर गएपछि जिल्ला नगरका उद्योगी व्यवसायीहरुको फोन नउठाउने, समस्या परेमा कुनै वास्ता नगर्ने परिपाटीको विकास भएको छ । अहिले जिल्ला नगरका साथीहरुको मुख्य गुनासो नै हाम्रो भोटले अध्यक्ष बनेर आफ्नो स्वार्थ अनुरुप लाभ लिने तर आफुहरुका कुनै पनि गुनासोको सुनुवाई गरेनन् भनिरहेका छन् । जिल्ला नगरका व्यवसायीक मुद्दाहरुलाई उहाँहरुले फर्केर पनि हेर्नु भएको छैन।

उदाहरणका लागि शेखर गोल्छा महासंघको आसन्न साधारणसभा पछि स्वत अध्यक्ष हुँदैहुनुहुन्छ । तर अहिले नै उहाँको कार्यशैलीप्रति व्यापक आलोचना भैसकेको छ । उहाँ बरिष्ठ उपाध्यक्ष हुँदा जिल्ला नगरका साथीहरुसँग जुन वचन बद्धता गर्नुभएको थियो तर अहिले कुनै पनि सम्बोधन भएको छैन । जिल्ला नगरका मुद्दामा कहिंकतै पनि बोल्नु भएको छैन । वरिष्ठ उपाध्यक्षमा चुनाव जितेर आएपछि जिल्ला नगरका उद्योगी व्यवसायीका समस्याका बारेमा एक शब्द पनि नबोलेका गोल्छा अहिले आफ्नो प्यानल जिताउनका लागि भोट माग्दै हुनुन्छ रे । तीन बर्षसम्म व्यवसायीक मुद्दामा कुनै आवाज नउठाउने गोल्छाले अहिले केका आधारमा आफ्नो गुटका लागि भोट माग्दै हुनुहून्छ । उहाँलाई अहिलेको अवस्थामा उद्योगी व्यवसायी माझ आउन लाज लाग्नु पर्ने होइन ? अर्को कुरा हाल महासंघको नेतृत्व गर्दै आउनु भएको भवानी राणा । उहाँले व्यवसायीक हकहितका लागि गरेका ५ वटा मात्र बताईदिए पुग्छ । उहाँको तीन बर्षे कार्यकालमा के काम गर्नुभयो, के उहाँले हामी सदस्य माझ बताउनु सक्नुहुन्छ ? तर उहाँले कुनै पनि काम गर्न सक्नुभएन । उहाँ के स्वार्थमा अल्झिनु भयो त्यो हामीलाई थाहा भएन । तर कुनै पनि व्यवसायीक मुद्दामा काम गर्न सक्नु भएन । यो हामी जिल्ला नगरका साथीहरुको विडम्वना हो ।

व्यवसायीक हकहितका लागि एक जुट हुनुपर्ने अवस्थामा तपाईहरु किन सर्वसम्मत नेतृत्व चयनमा जान सक्नु भएन ? किन दुई प्यानल बनाएर चुनावी मैदानमा उत्रनु भएको ? आखिर व्यवसायीक मुद्दा त एउटै होइन ?

हुनु पर्ने त्यहि नै हो । सुरुमा सर्वसम्मतीका लागि नै पहल गरेका हौं । तर एकथरी साथीहरुको मुख्य लक्ष्य भनेको महासंघको अभिभावक चण्डीराज ढकालको कसरी विरोध गर्ने, उहाँलाई कसरी कमजोर बनाउने भन्ने लविङमा लाग्नु भयो । महासंघको अविभावकको विरोध गर्ने विषयमा हामी सहमत हुन सकेनौै भने त्यो उहाँहरुको दिवास्प्ना मात्र थियो । अहिले पनि चण्डीराज ढकाल भनेको महासंघको पर्यायवाची नै हुनुहुन्छ । यदि महासंघमा चण्डी ढकाल सक्रिय भुमिकामा नरहने हो भने जिल्ला नगरका उद्योगी व्यवसायीको समस्याको सनुवाई नै हुँदैन । कुनै पनि समय व्यवसायीलाई समस्या परेका तुरुन्त एक्सनमा उत्रिनुहुन्छ । अहिले महासंघका नेतृत्वमा रहेका व्यक्तिहरुले आफु अनुकुलका संचार माध्यममार्फत चण्डी ढकाल विरुद्ध प्रहार गर्दै आउनु भएको छ । होला उहाँहरुमा पनि चण्डी ढकाल बन्ने सपना । तर चण्डी ढकाल बन्नका लागि सोही अनुरुप योगदान पनि गर्नु पर्यो नि । जिल्ला नगर उद्योग वाणिज्य संघका साथीहरुलाई सहयोग गर्नु पर्यो । व्यवसायीले समस्या परेर फोन गर्दा तुरुन्त उठाएर समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्छ ।

‘अहिले भवानी राणा र शेखर गोल्छाले व्यवसायीक हितभन्दा पनि महासंघ भित्र गुटगत राजनीति गरेर त्यसैको जोडवलमा आफू अनुकुल लाभ लिइरहेका छन् । आफू अनुकुलका व्यक्ति जिताउन तीन बर्षपछि जिल्ला नगरका साथीहरुलाई फोन गर्दैछन् । के उहाँमा जिल्ला नगरका साथीहरुलाई फोन गर्ने नैतिकता छ ?’

हुन त म चण्डी ढकालको कार्यकालमा कुनै पनि पदमा थिइन । तर उहाँले आफ्नो कार्यकालमा महासंघको पक्षमा गरेको कामको बारेमा सुन्दा अहिले पनि गौरव लाग्छ । तसर्थ हामीहरु जिल्ला नगरका साथीहरु चण्डी ढकाल, चन्द्र ढकाल र गुणनिधी तिवारीलाई समर्थन गर्दै पछि लागेका हौं । चण्डी ढकाल पछिका नेतृत्वले महासंघमा गर्न नसकेका काम उहाँहरु नेतृत्वमा पुगेपछि गर्न सक्नुहुन्छ भन्ने विश्वास पनि छ । अहिले भवानी राणा र शेखर गोल्छाले व्यवसायीक हितभन्दा पनि महासंघ भित्र गुटगत राजनीति गरेर त्यसैको जोडवलमा आफू अनुकुल लाभ लिइरहेका छन् । आफू अनुकुलका व्यक्ति जिताउन तीन बर्षपछि जिल्ला नगरका साथीहरुलाई फोन गर्दैछन् । के उहाँमा जिल्ला नगरका साथीहरुलाई फोन गर्ने नैतिकता छ ? शेखर गोल्छा महासंघको आसन्न साधारणसभा पछि हामीले अध्यक्ष मानेको व्यक्ति हो । यस्तो अवस्थामा उनी सर्वमान्य भएर बस्नुपर्ने होइन । महासंघको अविभावकत्व लिने व्यक्तिले कसैको पक्ष विपक्षमा बोल्न मिल्छ । यदि भोलीका दिनमा उनले समर्थन गरेको टीमले जितेर आएन र उनी अल्पमतमा परे भने नैतिकताको आधारमा राजिनामा दिएर हिड्ने कि हिनताबोध गर्दै महासंघमै टासिएर बस्ने ? के यो प्रश्नको उत्तर गोल्छासँग छ ? तसर्थ यदि शेखर गोल्छाले अब महासंघको अध्यक्ष सम्हाल्ने हो भने आफ्नो धरातल सम्झिाएर मौन भएर बस्नुपर्छ ।

कोरोनापछि व्यवसायीहरु एकदमै समस्यामा छन् भने धेरैजसो व्यवसायीहरु पलायन हुने अवस्थामा पुगिसकेका छन् । यसलाई सरकारले कसरी सम्बोधन गर्नुपर्छ ?

हामी जिल्ला नगरका अध्यक्ष हौं । अहिले जिल्ला नगरका उद्योगी व्यवसायीहरु धेरै ठूलो मारमा पर्नुभएको छ । अहिले सबै उद्योग व्यवसाय बन्द छन् । यस्तो अवस्थामा सरकारबाट कुनै पनि सहयोग पाएका छैनौं । सरकारले कोरोनाका कारण केही समय बैंकको किस्ता र व्याज तिर्न पर्दैन भनेर सहुलियत दिएको छ । तर, बैंकले निरन्तर फोन गरेर उद्योगी व्यवसायीलाई दबाब दिँदै आएको छ । समयमै व्याज तिर्दा समेत छुट पाउन सकेका छैनौं । यस विषयमा हामीले भन्ने भनेको नेतृत्वलाई हो । तर नेतृत्वले यस विषयमा कुनै काम गर्न सक्नु भएको छैन । अहिले महासंघको नेतृत्व व्यवसायीक हकहितमा भन्दा पनि हाम्रो मतले नेता बनेर सरकारसँग आफ्नो निजी स्वार्थका लागि छलफल गर्दै सोही अनुरुप लाभ लिइरहेका छन् । यस्तो भयावह अवस्थामा पनि व्यवसायीक मुद्दामा बोल्न सक्नु भएको छैन । यो अवस्था सम्म आईपुग्दा भवानी राणाको नेतृत्व पूर्ण रुपमा असफल भएको छ । यो कुरा तपाईहरुकै अनलाईन मार्फत उहाँ समक्ष पुर्याउन पनि चाहन्छु ।

महासंघको आसन्न निर्वाचनमा जिल्ला नगरतर्फबाट सदस्य पदमा उम्मेदवारी दिँदै हुनुहुन्छ । मतदातालाई के भन्न चाहनुहुन्छ ?

महासंघ एउटा इतिहास बोकेको संस्था हो । तर अहिले महासंघको छवि र सरकारले महासंघलाई हेर्ने नजर एकदमै नाजुक अवस्थामा छ । महासंघभन्दा धेरै पछि खुलेका संस्थाहरुले व्यवसायीक मुद्दामा लिड गरिसके तर महासंघ झन्झन् पछि पर्दैछ । हामीसँग जिल्ला नगरमा दशौं वर्ष बसेर काम गरेको धेरै अनुभव छन् । जिल्ला नगरका व्यवसायीहरुको समस्यासँग जुध्दै यो अवस्थासम्म आईपुगेका छौं । व्यवसायीक हकहितमा लड्नुपर्छ भने सोही अनुरुप व्यवसायीक मुद्दालाई स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वास छ । जिल्ला नगरका व्यवसायीका हक अधिकारका लागि लड्न महासंघको केन्द्रिय सदस्यमा उम्मेदवारी दिँदै छु । महासंघको धुमलिएको छविलाई पुरानै विरासतमा फर्काउँदै व्यवसायीक हकहितमा काम गर्न महासंघको केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको हुँ । यसका लागि सहयोग गर्न सबैसँग अपिल गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
MBL