Logo

रानीपोखरीको पिंध र पानी रहने पर्खालको काम सम्पन्न, ठेक्काको ८५ प्रतिशत काम सकियो

रानीपोखरीको पिंध र पानी रहने पर्खालको काम सम्पन्न, ठेक्काको ८५ प्रतिशत काम सकियो



काठमाडौं । रानीपोखरी पुनर्निर्माणअन्तर्गत पोखरीको पिंधमा कालो माटो र ईंटा ओच्छ्याउने एवं पानी रहने भागको पर्खाल निर्माणको काम सकिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत् पोखरीको पिंध र पानी रहने भागको पर्खाल निर्माणको काम गराएको हो । उपभोक्ता समितिका अध्यक्ष अजयरत्न स्थापितले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सोमबार उपभोक्ता समितिको जिम्मेवारीमा रहेको काम सम्पन्न भएको औपचारिक जानकारी दिने बताए ।

२०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालमा १५ देखि १८ इञ्च कालो माटो हालेर त्यसमाथि ईंटा ओच्छ्याएको हो । यसअघि, ०७७ बैशाख १२ (गोरखा भूकम्पको पाँच वर्ष पुगेको दिन अघि यो काम सक्ने तालिका भए पनि कोभिड(१९ महामारी रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउनका कारण प्रभावित भएको थियो । पिंध र पानी रहने पर्खालको काम सकिएपछि बर्षाको पानी जम्मा गर्न मिल्ने भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आकासे पानी, त्रिचन्द्र कलेज र दरबार हाइस्कूल क्षेत्रको आकासे पानी संकलन एवं प्रशोधन गरी पोखरीमा पानी राख्ने कार्यलाई प्राथमिकता दिने र नपुग भएमा भूमिगत स्रोतको पानी राख्ने व्यवस्था मिलाउने जानकारी दिए । दरबार हाइस्कुलको छानाको पानी पोखरीमा खसाल्ने प्रबन्ध भइसकेको छ ।

त्यसैगरी, टुँडिखेलमा जम्मा भएको पानी ल्याउनका लागि पाइप बिछ्याउने काम पनि भइसकेको रानीपोखरी पुनर्निर्माण हेरिरहनु भएका सम्पदा विज्ञ राजुमान मानन्धरले बताए । यी व्यवस्थाबाट पनि पानी पर्याप्त नभए मेलम्चीको पानी पाइपमा हालेर परीक्षण गर्दा रानीपोखरीमा खसाल्ने अन्तिम विकल्प पनि प्राधिकरणको छ ।

रानीपोखरीको पिंध पुनर्निर्माणका लागि सुरुमा भक्तपुरबाट कालिगढ ल्याइएको थियो भने त्यसपछि सीप हस्तान्तरण गरी काठमाडौंका कालीगढ पनि सहभागी भएका थिए । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर, त्यहाँसम्म जाने पुल तथा पोखरी वरिपरिको सौन्दर्यकरणको काम जारी छ । यी काम सिएरतुलसी कन्ट्रक्सन जेभीले गरिरहेको छ । ठेक्काको पनि करिब ८५ प्रतिशत काम सम्पन्न भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपाल अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL