Logo

पूर्व-पश्चिम राजमार्ग ४ लेनको बनाईने, कोटेश्वरमा फ्लाई ओभर र अण्डरपास निर्माण

पूर्व-पश्चिम राजमार्ग ४ लेनको बनाईने, कोटेश्वरमा फ्लाई ओभर र अण्डरपास निर्माण



काठमाडौं । सरकारले भौतिक पूर्वधारलाई प्राथमिकता दिँदै पूर्व–पश्चिम राजमार्गलाई एसियन हाइवे मापदण्डयुक्त ४ लेनको बनाउने गरि स्तरोन्नती गर्ने भएको छ । राष्ट्रपति विद्यादेबी भण्डारीले शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त सडकखण्डलाई स्तरोन्नती गर्ने बताएकी हुन ।

त्यस्तै चालू आर्थिक वर्षभित्रै कोटेश्वरमा फ्लाई ओभर तथा अण्डरपासको निर्माण सुरु हुने गरी कार्य अघि बढाउने भएको छ । राष्ट्रिय राजमार्गको मर्मतसम्भार, स्तरोन्नती, पुर्नस्थापना तथा निर्माणकार्यलाई विशेष प्राथमिकता दिइने कार्यक्रममा उल्लेख छ । कोशी करिडोर धनकुटा–लेलेघाट, खाँदबारी–किमाथांका सडकको ट्रयाक निर्माणकार्य सम्पन्न गरिने, चुरे भित्री मधेशका क्षेत्रहरु जोड्ने गरी प्रस्ताव गरिएको मदन भण्डारी राजमार्गको १२ सय किलोमिटर सडकमध्ये ३ सय ७८ किलोमिटर कालोपत्रे भइसककोमा थप १ सय ५५ किलोमिटर सडक कालोपत्रे गरी स्तरोन्नति गर्ने भएको छ ।

नारायणघाट–बुटवल सडकखण्डको ११५ किलोमिटर कमला–कञ्चनपुर ८७ किलोमिटर निर्माणकार्य अघि बढेको र बाँकी खण्डको स्तरोन्नति क्रमशः अगाडी बढाउने तयारीभएको कार्यक्रममा उल्लेख छ । त्यस्तै मध्यपहाडी लोकमार्गको १ हजार ८ सय ७९ किमि सडकमध्ये आगामी आवमा ३ सय किलोमिटर कालोपत्र निर्माण सम्पन्न गरिने र बाँकी २ सय किलोमिटर खण्डको ठेक्का लगाइने भएको छ । जहाँ १५ वटा पुल निर्माण गरिनेछ ।

हुलाकी राजमार्ग आयोजनाअन्तरगत १ हजार ७ सय ९२ किलोमिटर सडकमध्ये आगामी आवमा २५० किमि कालोपत्रे गरिने भएको छ । सरकारले नीति तथा कार्यक्रममा कालीगण्डकी करिडोरमा ९० किलोमिटर कालोपत्रे गर्ने, गण्डकी करिडोर खुलाखु–मिमिकोट ट्रयाक निर्माण सम्पन्न गर्ने उल्लेख गरेको छ ।

त्यस्तै भारतीय सीमानाकासँग जोड्ने प्रमुख व्यापारिक नाकाहरुलाई पूर्व–पश्चिम राजमार्गसँग जोडी उपभोग्य वस्तुहरुको परिवहनमा सहजता ल्याउन प्रमुख व्यापारिक मार्गहरुको स्तरोन्नती गर्ने तथा चन्द्रनिगाहापुर–गौर ४४ किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ । महाकाली नदीमा चार लेनको मोटरेबल पुन निर्माणको कार्यलाई निरन्तरता दिने, काठमाडौं–तराई (मधेश) द्रुतमार्ग निर्माणलाई निरन्तरता दिने, गल्छी–रसुवागढी सडक निर्माणको कार्यलाई तीव्रता दिने कार्यक्रममा समावेश रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL