Logo

कोटेश्वर–कलंकी सडक : अझै सम्पन्न भएन ‘सर्भिस ट्र्याक’

कोटेश्वर–कलंकी सडक : अझै सम्पन्न भएन ‘सर्भिस ट्र्याक’



काठमाडौं । कोटेश्वर–कलंकी सडक खण्डमा हालसम्म ‘सर्भिस ट्र्याक’ निर्माण सम्पन्न हुन सकेको छैन । सो खण्ड विस्तार कार्य सम्पन्न भएको लामो समय वितिसक्दा पनि ट्र्याकले गति लिन सकेको छैन ।

चीन सरकारले मुख्य र सहायक गरी ८ लेन सडक निर्माण गरिदिएको थियो । नेपाल सरकारले सडकको दुबैतर्फ एक–एक लेन निर्माण गर्ने गरी सम्झौता भएको थियो । सो खण्डको मर्मत २ वर्ष पहिले सुरु भएपनि अझैसम्म सम्पन्न हुन सकेको छैन । कतिपय स्थानमा जग्गाका कारण मार्ग निर्माण हुन नसकेको काठमाडौं चक्रपथ सुधार योजनाले जानकारी दिएको छ ।

कोटेश्वर, एकान्तकुना, बल्खुलगायतका विभिन्न स्थानमा सो समस्या रहेको योजना प्रमुख अमृतमणि रिमालले जानकारी दिएका छन । कोटेश्वर सूर्यकोट मार्गबाट बालकुमारी पुलसम्म ३ वटा घर सडकको अधिकार क्षेत्रमा रहेका कारण मार्ग निर्माण अघि बढ्न सकिरहेको छैन ।

त्यस्तै, एकान्त कुनामा रहेको तिब्बती शरणार्थी क्याम्प पनि सडकको अधिकार क्षेत्रमा परेको छ । उनले भने, ‘यी संरचना हटाउन नसक्दासम्म हामीले चाहेर पनि सडक निर्माण गर्न सकिँदैन ।’ सडकको लम्बाइ झण्डै १० किमी रहेको छ । चीन सरकारको सहयोगमा विसं २०७२ मा सो सडकको निर्माण सुरु भइ गतवर्ष सरकारलाई हस्तान्तरण गरिएको थियो ।

नेपालको पहिलो ८ लेन सडकका रुपमा रहेको सो सडकमा पर्ने ३ आकाशे पुल चीन सरकारले नै निर्माण गरिदिएको थियो । खसी बजारदेखि कलंकीसम्मको ‘अण्डर पास’ नेपालको पहिलो हो । चीन सरकारकै सहयोगमा कलंकीबाट धोबीखोलासम्मको सडक पनि ८ लेनमै विस्तार हुने भएको छ । सो सडक खण्डमा पनि ‘सर्भिस ट्र्याक’ निर्माण गर्ने सहमति भएको सडक विभागले जानकारी दिएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL