Logo

रानीपोखरीमा बैशाखदेखि पानी भर्ने गरी यसरी भइरहेको छ युद्धस्तरमा काम (फोटो फिचर)

रानीपोखरीमा बैशाखदेखि पानी भर्ने गरी यसरी भइरहेको छ युद्धस्तरमा काम (फोटो फिचर)



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानी पोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणलाई थप तीब्रता दिएको छ । प्राधिकरणले आगामी बैशाखसम्म सम्पन्न गर्ने गरि पोखरी र मन्दिरको पुनर्निर्माणको गतिलाई तीब्र बनाएको हो । हाल रानीपोखरी र मन्दिर २ भागमा गरी निर्माण भइरहेको छ ।

laxmi

पोखरीको निर्माण उपभोक्ता समितिले गरिरहेको छ भने मन्दिरको पुनर्निर्माण तुलसी कन्सट्रक्शनमार्फत भईरहेको छ । रानीपोखरीको पुनर्निर्माण सम्पन्न भए पछि पानी जमाउन भने मेलम्चीको पानी ल्याएर हाल्ने चर्चा चले पनि तत्कालको लागि भने त्यस्तो कुनै योजना नभएको प्राधिकरणका सह प्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

रानीपोखरीमा बोरिङबाट पानी जमाउने र आवश्यक परेको खण्डमा मात्रै अन्य क्षेत्रबाट पानी ल्याएर भर्ने काम गर्ने प्राधिकरणको योजना रहेको छ । प्राधिकरणले बैशाखमा मात्रै पानी हाल्ने योजना बनाए पनि यही माघ महिना भित्रै पानी हाल्नको लागि पोखरी तयार हुने उपभोक्ता समितिका सचिव रोशनकाजी तुलाधरले जानकारी दिए ।

उनका अनुसार रानीपोखरी पुनर्निर्माणको लागि काठमाडौं महानगरपालिकाका वडा नं १, २७ र २८ का उपभोक्ता समिति सक्रिय रहेको छ । साथै ३ ओटै वडाका अध्यक्षहरु भने अनुगमन समितिमा रहेको र काम छिट्टो सम्पन्न गर्न निर्देशन दिईरहेको तुलाधरले बताए । उनका अनुसार पुस मसान्तसम्मको समयावधि रहे पनि पुल निर्माण र मन्दिरको निर्माण बाँकी रहेकाले माघ अन्तिममा मात्रै काम सम्पन्न हुने छ ।

प्राधिकरणले रानीपोखरीमा पानी जमाए पनि निकासको लागि भने अहिलेसम्म कुनै योजना नबनाएको बताएको छ । त्यसको विषयमा अहिले छलफल भईरहेको र केही समयमै टुङ्ग्याउने घिमिरेको भनाई रहेको छ ।

हाल पोखरीको दायाँ बायाँ दुबै भागको करिब आधा क्षेत्रमा कालोमाटो राखी इट्टा बिछ्याउने काम सम्पन्न भईसकेको छ । तर पुल निर्माण र मन्दिरको काम चालु अवस्थामा रहेकाले पुल क्षेत्रको दायाँ बायाँ ४/४ मिटर छोडेर काम गर्नु परेकाले माघ महिनामा मात्रै ईट्टा विच्छ्याउने काम सम्पन्न गर्न सकिने सम्बन्धित अधिकारीहरुले बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्
MBL