Logo

मनकामना मन्दिर पुनर्निर्माण सम्पन्न, साढे १४ करोड रुपैयाँ खर्च

मनकामना मन्दिर पुनर्निर्माण सम्पन्न, साढे १४ करोड रुपैयाँ खर्च



काठमाडौं । भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

laxmi

मन्दिर पुनर्निर्माणका लागि नेपाल सरकार पुरातत्व विभागमार्फत् ४ करोड र बाँकी रकम भक्तजनबाट सहयोग प्राप्त भएको मन्दिर जीर्णोद्धार समितिका कोषाध्यक्ष कृष्णबाबु श्रेष्ठले जानकारी दिएका छन ।

‘मन्दिर निर्माणका लागि कूल १४ करोड ६४ लाख रुपैयाँ खर्च भएको छ’, उनले भने, ‘सरकारले उपलब्ध गराएकोबाहेक सबै रकम भक्तजनबाट सहयोग सङ्कलन भएको हो ।’ मन्दिर निर्माणका लागि सबैभन्दा धेरै खर्च सुनमा भएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए । मन्दिरको छाना, गजुर, झ्यालढोकालगायतमा सुनको मलम्बा लगाउन १८ केजी सुन खर्च भएको छ ।

मन्दिर निर्माण गर्दा कर्मचारीतर्फ कूल रु ५५ लाख ६५ हजार र प्रशासनिकतर्फ ६२ लाख ४१ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै मन्दिर निर्माणको ज्याला, निर्माण सामग्री, सुनलगायत गरी १३ करोड ४६ लाख ८० हजार रुपैयाँ खर्च भएको कोषाध्यक्ष श्रेष्ठले बताए ।

मन्दिर जीर्णोद्धार समितिले चन्दा बाकस, बैंकमार्फत र विभिन्न रसिदमार्फत मन्दिर निर्माणका लागि सहयोग सङ्कलनको अभियान चलाएको थियो । अभियानबाट नगद तथा जिन्सी गरी १५ करोड २७ लाख २१ हजार ९ सय २८ रुपैयाँ सङ्कलन भएको र बाँकी रकम १ करोड ४० लाख ४४ हजार ७ सय ४ रुपैयाँ बैंक ब्याजबाट आम्दानी भएको थियो ।

मन्दिर जीर्णोद्धारपछि समितिको खातामा अहिले कूल ५ करोड ८६ लाख रुपैयाँ मौज्जाद रहेको बताइएको छ । करीब ३ सय वर्ष अघि निर्माण भएको मनकामना मन्दिर विसं १९९० को भूकम्पले दक्षिण पश्चिमतर्फ ६ इञ्च ढल्किएपछि २०६८ सालमा मन्दिर जीर्णोद्धारका लागि छलफल चलेको थियो ।

विसं २०७२ को भूकम्पले मन्दिर पूर्णरुपमा क्षति पुर्याएपछि पुनर्निर्माण गरिएको हो । विसं २०७२ जेठ २५ गते शुभसाईत पारी मन्दिरको गजुर झिकेर साउन ६ गते जगपूजा गरी मन्दिर पुनर्निर्माणको काम अघि बढाइएको जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए ।

समितिले तत्कालीन अवस्थामा जीर्णोद्धारका लागि ८ करोड ४८ लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान तयार गरेको भए पनि निर्माणका क्रममा लागत बढेको हो ।

२०७४ चैत महीनाभित्रै मन्दिर पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि भूकम्पपछि नाकाबन्दी, मन्दिरलाई चाहिने आकारको काठको अभाव लगायतका कारण करीब ८ महीनापछि निर्माण सम्पन्न भएको हो / रासस

प्रतिक्रिया दिनुहोस्
MBL