Logo

३ सय विद्युतीय बस खरिदमा मन्त्रालय र साझाबीच समन्वय देखिएन, साढे ३ अर्ब रुपैयाँ यत्तिकै थन्कियो

३ सय विद्युतीय बस खरिदमा मन्त्रालय र साझाबीच समन्वय देखिएन, साढे ३ अर्ब रुपैयाँ यत्तिकै थन्कियो



काठमाडौं । काठमाडौंको यातायात सुधार र प्रदूषण नियन्त्रण लागि भन्दै सरकारले निकै महत्वकांक्षी लक्ष्यका साथ घोषणा गरेको विद्यतीय बस खरिद प्रक्रिया नै अन्यौलमा परेको छ ।

बस खरीदका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसै साता टेण्डर आह्वान गर्ने भनेपनि बस खरिद र सञ्चालनको जिम्मेवारी पाएको साझा यातायातले भने यससम्बन्धमा आफुलाई कुनै जानकारी नभएको बताएको छ । काठमाडौंमा ३ सय ओटा बिद्युतीय बस सञ्चालनका लागि सरकारले गत साउनमा ३ अर्ब रुपैयाँ रकम साझालाई दिएको थियो ।

साझा यातायातलाई दिएको ३ अर्ब रुपैयाँ रकम ४ महिना बितिसक्दा समेत कुनै प्रयोगमा आउन सकेको छैन । ४ महिना बितिसक्दा समेत उक्त रकम यत्तिकै रहेकोे साझाका अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिए । ‘सरकारले हामीलाई पैसा दिएको छ । तर के गर्ने, के नगर्ने अहिलेसम्म कुने जानकारी आएको छैन’, उनले भने, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उक्त रकम सेयरका रुपमा राख्नु भनेको छ, बाँकी हामीलाई कुनै जानकारी छैन ।’

तर, मन्त्रालयका सचिव देबेन्द्र कार्कीले भने माघको पहिलो हप्ताभित्रै टेण्डर आह्वान गर्ने गरी काम अघि बढेको बताएका थिए । सरकारले चालू आवभित्रै ३ सय ओटा विद्युतीय बस सञ्चालन गर्ने घोषणा गर्दै गत बर्षको पुसमा नै ३ सय बिद्युतीय बस खरिद गर्न मन्त्रिपरिषदबाटै निर्णय गरेको थियो ।

तर, निर्णय गरेको एक बर्षसम्म पनि खरीद प्रक्रिया अघि बढन सकेको छैन । साझा यातायात सञ्चालन गर्दै आएको साझा यातायात सहकारीका संस्थाका अनुसार बस खरिदको लागि प्रदेश ३ सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड र ललितपुर महानगरपालिकाले २ करोड रुपैयाँ प्रदान गरेका छन् । सबै गरेर साझालाई बस खरिदका लागि करीब साढे तीन अर्ब रुपैयाँ जम्मा भइसकेको छ । जुन रकम यत्तिकै थन्किएको छ ।

साझाले बस खरिदको लागि प्रक्रिया अघि बढाइरहेको समयमा गत कार्तिकमा सरकारले प्रक्रिया रोक्न निर्देशन दिएपछि खरिद प्रक्रिया अहिलेसम्म अवरुद्ध छ । कार्तिकमा मन्त्रालयले साझालाई पत्र लेख्दै विद्युतीय बस खरिदको प्रक्रिया अघि नबढाउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL