Logo

जेट एयरवेज बन्द भएसँगै ४० प्रतिशत नाफामा गयो निगम, तर किन घटाउन सकेन ऋणको भार ?

जेट एयरवेज बन्द भएसँगै ४० प्रतिशत नाफामा गयो निगम, तर किन घटाउन सकेन ऋणको भार ?



काठमाडौं । जेट एयरलाईन्सले नेपाल उडान बन्द गरेसँगै नेपाल वायुसेवा निगमको ब्यापार बढेको छ । निगमको जहाज वाईडबडी र न्यारोबडीमार्फत नेपाल भारत उडानमा करिब ९५ प्रतिशत ब्यापार बढेको निगमले जानकारी दिएको छ ।

निगमको जहाज दैनिक १०÷११ घण्टा संचालनमा आए पछि उक्त ब्यापार गर्न सफल भएको हो । वाईडबडीबाट आम्दानीमा खासै प्रभाव नभए पनि न्यारोबडीबाट भने आम्दानी राम्रो भएको निगमले जानकारी दिएको छ ।

निगमको जहाजले काठमाडौं भारत एक पटक उडान गर्दा सबै खर्च कटाएर करिब ४० प्रतिशत नाफा कमाउन सफल भएको निगमका एक उच्च अधिकारीले जानकारी दिएका छन । ति अधिकारीका अनुसार २ सय ७४ सिट पुरै बिक्री भई उडान गरेको खण्डमा एक उडानमा झण्डै ५० प्रतिशत नै नाफामा रहन्छ । तर सबै उडानमा सिट प्याक भन्ने हुँदैन जस्ले गर्दा सरदर ४० प्रतिशत भने नाफा रहन्छ ।

तर निगमका सह प्रवक्ता नबराज कोईरालाले भने निगमको जहाजले त्यती धेरै नाफा कमाउन सफल नभएको बताएका छन । कोईरालाका अनुसार वाईडबडीले जती कमाउँछन त्यतिनै खर्च गर्छन । तर न्यारोबडीले भने केही मात्रमा नाफा कमाएको छ उनले भने ।

जहाजले राम्रो आम्दानी गरे पनि तेल, ल्याण्डिङ पार्किङ शुल्क, ग्राउण्ड ह्याण्डलिङ, जहाज तथा यात्रुको बीमा लगायत राजस्व समेत घटाउँदा निगम नाफामा नरहेको कोईरालाले बताए । निगमले एक उडान मार्फत ४० प्रतिशत नाफा कमाए पनि ३५ अर्ब रुपैयाँ ऋण तिर्न सकेको छैन ।

निगम आर्थिक संकटमा रहेको भन्दै लामो समय देखी उक्त रकमको ब्याज समेत बुझाउन सकेको छैन । निगमले ३५ अर्ब रुपैयाँको प्रत्येक ३ महिनामा ब्याज मात्रै १ अर्ब १३ करोड रुपैयाँ बुझाउनु पर्ने हुन्छ । तर लामो समय विति सक्दा समेत निगमले उक्त ब्याज तिर्न सकेको छैन ।

निगमको जहाज नाफामा रहँदा समेत ऋण तिर्न नसक्नुको खास कारण के हो भनेर बुझने प्रयास गर्दा कोईरालाले भने, ‘त्यसरी हामी ऋण तिर्न सक्ने क्षमतामानै छैन । मान्छेहरुले पैसा लुकायो भन्छन तर हामीसँग पैसानै छैन,’ ‘हामीले नतिर्ने भनेका होईन तर हाम्रो जति आम्दानी हुन्छ त्यसको आधा खर्च तेलमानै खर्च हुन्छ अन्य पार्टीलाई पनि दिनै पर्यो पैसानै कहाँ रहन्छर ?’

जहाज उडाउनु पर्यो जहाज नउडाई किस्ता तिर्न सकिँदैन तर अहिले हामीले जति उडान गरेको भए पनि निगम नाफामा जान सकेको छैन । घाटाको ब्यापार कहिले सम्म गछौं त भन्ने प्रश्नमा कोईरालाले भने, ‘घाटाको ब्यापार संसार भरिनै भईरहेको छ । यसलाई घाटाको ब्यापार भन्दा प्लेटफर्मको रुपमा प्रयोग गर्नु पर्ने हुन्छ ।’

निगमको जहाजले ४० प्रतिशत नाफामा जाँदा समेत ब्याज तिर्न नसकेको भन्दै सरकारसँग २० अर्ब रुपैयाँ माग गरेको छ । निगमले सरकारसँग २० अर्ब रुपैयाँ माग गरे पनि सरकारले भने २ अर्ब रुपैयाँ मात्रै दिएको छ । सरकारले दिएको उक्त २ अर्ब रुपैयाँ पनि हाल सम्म निगममा आईनसकेको कोईरालाले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL