Logo

ऋणीमाथी बैंकको अनावश्यक दबाब, ऋण लिँदा अनिवार्य जीवन बीमाको कसी

ऋणीमाथी बैंकको अनावश्यक दबाब, ऋण लिँदा अनिवार्य जीवन बीमाको कसी



काठमाडौं । बैंक र बीमा कम्पनीबीच सम्झौता गरेर ऋणीमाथी अनावश्यक बोझ बोकाउन थालिएको छ । व्यवसाय वृद्धि र नाफा कमाउने उद्देश्य अनुरुप बैंकले कर्जा लिन आउने ऋणीहरुलाई अनिवार्य रुपमा जीवन बीमाको पोलिसी बिक्री गर्न थालेसँगै ऋणीमाथी अनावश्यक दबाब सिर्जना भएको हो ।

राष्ट्र बैंकको नियमअनुसार बैंकहरुले आफ्नो कर्जाको सुरक्षाका लागि ऋण दिँदा कर्जाको बीमा गराउनुपर्ने व्यवस्था छ । तर, पछिल्लो समय बैंक र बीमा कम्पनीको मिलेमत्तोमा ऋण दिँदा सम्बन्धित व्यक्तिको पनि बीमा गराउन थालेका छन् ।

विशेषगरी एकै व्यक्ति प्रवद्र्धक रहेका बैंक तथा जीवन बीमा कम्पनीबीच सहकार्य गरेर व्यवसाय गर्ने उद्देश्य अनुसार ऋणीमाथी बीमाको पोलिसी बिक्री गर्न थालिएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । पछिल्लो समय आफ्नो व्यवसाय वृद्धि गर्न बैंकहरुले ब्राञ्च म्यानेरजहरुलाई बीमा पोलिसी बिक्रीको समेत टार्गेट दिन थालेका छन् । ‘पहिला बैंकहरुले ब्राञ्च म्यानेजरलाई निक्षेप संकलन तथा कर्जा प्रबाहको टार्गेट दिन्थे,’ एक बैंकका ब्राञ्च म्यानेजरले भने, ‘तर, अहिले निक्षेप र कर्जाका साथै जीवन बीमा पोलिसीको पनि टार्गेट दिन थालेका छन् ।’ अहिले निक्षेप संकलन तथा कर्जा प्रबाहको भन्दा जीवन बीमा पोलिसी बिक्रीको बढी दबाव आउन थालेको समेत ती म्यानेजरको भनाई थियो ।

कर्जाको छोटो अबधिको हुने र जीवन बीमा परिपक्क हुन न्युनतम १० बर्षभन्दा बढी समय लाग्ने भएकाले पनि उक्त बीमा पोलिसी कर्जा लिने व्यक्तिको लागि अनावश्यक आर्थिक भार हुने भएको छ । ‘अहिले जतिओटा बैंकबाट कर्जा लियो सबैंकले जीवन बीमा गर्नुपर्छ भन्ने सर्त अघि सार्न थालेका छन्,’ एक ऋणीले भने, ‘एउटै व्यक्तिले ५/७ वटा बैंकबाट कर्जा लिएका हुन्छन् तसर्थ सबै बैंकबाट जीवन बीमा गराउनुको कुनै औचित्य हुँदैन ।’ साथै ऋणीले आफ्नो कर्जा चुक्ता गरिसकेपछि उक्त बीमा पोलिसीलाई निरन्तरता नदिने भएकाले पनि त्यसरी गरिएको जीवन बीमाको बैंक र बीमा कम्पनीलाई कमाईखाने भाडो मात्र भएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

यसैगरी अहिले बैंक र बीमा कम्पनीबीच बैंकाइन्स्योरेन्स भनेर जुन सम्झौता गरिरकेका छन् त्यो नै गैरकानुनी काम भएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । ‘अहिले बीमा कम्पनीहरुले आफ्नो ऋणको बीमा गराउनका लागि बीमा कम्पनीसँग एजेन्टमात्र लिएका हुन्,’ उनले भने, ‘तर, नियम कानुन विना नै बैंक र बीमा कम्पनीबीच जुन खालको बैंकाइन्स्योरेस भनेर सम्झौता गरिरहेका छन् त्यो सरासर गलत छ ।’ हाल बैंकाइन्स्योरेन्सका लागि बीमा समितिले कानुन बनाईरहेको र उक्त कानुन आएपछि मात्र बैंकाइन्स्योरेन्स गर्न मिल्ने समेत उनको तर्क थियो ।

कानुनी व्यवस्था अनुसार बैंकहरुले आफ्नो कर्जाको इन्स्योरेन्स गराएपनि ऋण लिने व्यक्तिलाई आर्थिक भार थुपारेर अनिवार्य रुपमा जीवन बीमा पोलिसी बिक्री गर्न नमिल्ने समेत समितिले जानकारी दिएको छ ।

यसैगरी नेपाल राष्ट्र बैंकले ऋणामाथी अनिवार्य रुपमा जीवन बीमा पोलिसी बिक्री गर्न नमिल्ने बताएको छ । ‘ऋण दिँदा बैंकहरुले ऋणको बीमा गराउने हो तर ऋणको बीमा गराउन मिल्दैन,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने, ‘जीवन बीमा ऋणहरुले आफ्नो स्वेच्छाले गर्ने भएकाले यसमा बैंकहरुले अनिवार्य रुपमा पोलिसी बिक्री गर्न मिल्दैन ।’ बैंकहरुले बीमा अभिकर्ताको काम गर्न अनुमति लिएको र ऋणीले चाहेमा मात्र बैंकहरुले जीवन बीमा गर्न मिल्ने समेत उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL