नेपालमा कोरोना महामारी पछिको आर्थिक परिदृश्य : वासुदेव अधिकारीको लेख

च्रीनको बुहान शहरमा देखा परेको कोरोना भाइरसको असर यति खतरनाक हुन्छ भन्ने कल्पना थिएन ।

परिकल्पनाभन्दा पर, विश्वमा देखा पर्ने भीमकाय प्रकोपभन्दा व्यापक, प्रकृतिलाई दखल नगरी मानव मात्रलाई निसाना बनाई फैलिएको कोरोना भाइरस आतंक अहिले १८० भन्दा बढी देशमा व्याप्त छ । जल, थल तथा हवाइ मार्गको ग्लोवल केटेक्टिभिटी यस भाइरस संक्रमणको दिगो आधार हो । यस आतंकबाट संसारमा मृत्यु गीत मात्र बजेको छैन सबैजसो मानवीय गतिविधि, आर्थिक क्रियाकलाप, अर्थतन्त्र र मानव मनोविज्ञानमा प्रतिकूल असर परिरहेको छ ।

संंयुक्त राष्ट्र संघको ३१ मार्चसम्मको तथ्यांक अनुसार हालसम्म विश्वमा यो भाइरस ८ लाख ६० हजार जनामा संक्रमित भएको, त्यसमध्ये १ लाख ७८ हजार जना निको भएका र ४२ हजार भन्दा बढीको निधन भइसकेको छ । यो सामान्य प्रकोपबाट फैलिदै फिजिदै महामारीको रुपमा देखा परेको छ । सामान्य रुघाखोकीको रुपमा देखा पर्ने सो रोगको भ्याक्सिन नबनिसकेको अवस्थामा संक्रमित विरामीलाई बचाउन चिकित्सकहरुलाई हम्मेहम्मे परिरहेको छ । त्यसको संक्रमणबाट बँच्न विश्व मानव अहिले आफ्ना सबैजसो गतिविधि रोकी एकान्तवासमा छ । हामी पनि त्यही अभियानमा छौँ । सरकार–जनता यस युद्धमा हातेमालो गरी अघि बढिरहेका छन् । चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरु दिलोज्यानले भिडिरहेका छन् ।

कोभिड–१९ नामाकरण गरिएको यस भाइरसको कारण अहिले आन्तरिक तथा बाह्य पर्यटन, शिक्षा, खेलकूद, मासुजन्य उत्पादन र त्यससित सम्बद्ध सबै क्षेत्र मृतप्रायः बनेका छन् । विश्व मानव ‘पर्ख र हेर’को अवस्थामा लक डाउनमा रहेकाले औद्योगिक उत्पादन, वित्तीय प्रणाली लगायतका सबैजसो क्षेत्र अस्तव्यस्त हुँदै गएको छ । यो नियन्त्रण हुन कति समय लाग्छ त्यसैमा यसबाट पर्ने क्षति आंकलन गर्न सकिन्छ ।

कोरोना भाइरसको आतंक रोकथाम गरी आफ्ना नागरिकको वर्तमान तथा भविष्य सुरक्षित गर्न विश्वका सबैजसो देशहरु युद्धस्तरमा कार्यरत छन् । नागरिकको प्राणरक्षा यतिखेर देश देशको पहिलो प्राथमिकता बनेको छ । स्वास्थ्य तथा खाद्य सुरक्षा विना नागरिक बाँच्न सक्तैन । भविष्यको दिगोपनका लागि भने व्यवसाय, रोजगारी आदिलाई सम्बोधन गर्नुका साथै अहिले खस्किएको मनोवल बढाउनु पर्ने हुन्छ । यतिखेर विश्वका सबैजसो देशको सरकार तथा केन्द्रीय बैंकले सहकार्य गरी स्वास्थ्य, खाद्य तथा रोजगारी सुरक्षा, वित्तीय स्थायित्व तथा अर्थतन्त्रलाई दिगो र गहिरो मन्दीतर्फ जान नदिने उद्देश्यका साथ राहत तथा सुधारका कार्यक्रम ल्याइरहेका छन् । ती कार्यक्रमहरु प्रकोपको असर र निराकणको समय एवम् प्रभावकारिता हेरी लागु गरिने बताइएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले संकलन गरेको तथ्यांक अनुसार विभिन्न मलुकका सरकारले आफ्नो देशको कुल गार्हस्थ उत्पादनको ०.०१ प्रतिशतदेखि १३ प्रतिशतसम्मको राहत प्याकेज अघि सारेका छन् । त्यस अनुसारको प्याकेजमा कतार, संयुक्त राज्य अमेरिका, स्वीडेन, स्वीट्जरल्याण्ड र क्यानडाले आफ्नो जिडिपीको क्रमशः १३, १०, ९.२, ६ र ६ प्रतिशतसम्म खर्च गर्ने गरी राहत प्याकेज घोषणा गरेका छन् । छिमेकी देश भारतले पनि ठुलै प्याकेज घोषणा गरेको छ । देश देशले अघि सारेका राहत प्याकेजमा संक्रमितलाई उपचार गर्ने, अन्यलाई संक्रमणबाट जोगाउने, स्थिति भयावह रहुञ्जेल जनतालाई दैनिक गुजाराको लागि सघाउने, साना तथा मझौला व्यवसायलाई बन्द हुनबाट जोगाउने, रोजगारी जोगाउन व्यवसायलाई प्रवद्र्धन, व्याज सहुलियत, किस्ता स्थगन, कर स्थगन लगायतका सुविधा दिने र दीर्घकालमा वित्तीय स्थायित्व प्रवद्र्धन गरी अर्थतन्त्र जोगाउने रणनीति सार्वजनिक गरेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषको ५० अर्व .डलर, विश्व बैंकको १४ अर्व डलर, युरोपियन केन्द्रीय बैंकको ७५० अर्व युरोको स्टिमुलस प्याकेजले पनि कोरोनासँग लड्न र अर्थतन्त्रलाई बचाउन सघाउने छ ।

नेपालमा पनि सरकार तथा केन्द्रीय बैंकले आफ्नो गच्छे र समझ अनुसारको राहत प्याकेज घोषणा गरिसकेको छ ।

विश्वव्यापी पहल र चासो हेर्दा कोरोना संक्रमण छिटै हल हुने सम्भावना देखिन्छ । तथापि यसको असर वेलायत तथा अमेरिकामा बढ्दो छ । चिकित्सा विज्ञान यसको भ्याक्सिन बनाउन र परीक्षण गर्न लागिरहेको छ । संक्रमण छिटै समाप्त भई प्रभावकारी भ्याक्सिन शीघ्र आउन सक्दा यसले अर्थतन्त्रलाई केही मन्दीतर्फ धकेले पनि त्यसको असर छिटै पुर्ताल गर्न सकिन्छ । तथापि यसले मानव मनोविज्ञानलाई लामो समयसम्म आतंकित भने बनाइरहने छ । यसबाट हाम्रो अहिलेसम्मको विकासको सोच र मोडेलमा परिवर्तन गर्न राजनीतिक नेतृत्वलाई दवाव दिने छ । अवको हाम्रो कुनै पनि विकास गतिविधि नाफा मात्र केन्द्रित होइन मानव केन्द्रित हुनु पर्छ भन्ने सन्देश यस महामारीले दिनेछ ।


विषम परिस्थिति, चुनौती र अवसरलाई सरकार, केन्द्रीय बैंक, बैंक तथा वित्तीय संस्थाहरु, निजी क्षेत्र र समुदायले आपसमा सहकार्य गरी अर्थतन्त्र, उत्पादन र रोजगारीमा कम भन्दा कम क्षति हुने गरी समाधान गर्न आवश्यक छ र त्यो सकिन्छ पनि ।

संक्रमण रोकथाम समयमै हुन नसकी लम्बियो भने यसको असर पुर्तालयोग्य रहने छैन । फलतः मानव सभ्यताको लामो उपलब्धि यही भाइरसको प्रकोपले धुलोपीठो पार्नेछ । सानादेखि ठुला सबै अर्थतन्त्र चरम संकटबाट गुज्रिने छन् । विश्व अर्थतन्त्र महामन्दीबाट गुज्रिने छ र त्यसबाट निस्किन हम्मे हम्मे पर्ने छ । विश्व अर्थतन्त्र मन्दीको चरणमा त प्रवेश गरिसकेको छ त्यो महामन्दीतर्फ जाने पनि उत्तिकै खतरा छ । त्यसो भयो भने आर्थिक गतिविधि शिथिल हुने, बेरोजगारी बढ्ने, वस्तु तथा सेवाको माग कमजोर हुने, गरीवी बढी धेरै मानिस गरिवीको रेखामुनि पर्न जाने, व्यापारमा मन्दी आउने लगायतका अवस्था सिर्जना हुन जानेछ । यसको असर राजनीतिक क्षेत्रमा समेत पर्न सक्नेछ ।

नेपालको सन्दर्भमा यस महामारीबाट कम मात्र मानवीय क्षति हुने लक्षण देखिएको छ । विज्ञहरुका अनुसार मौसम, खुला हावामा काम गर्ने वातावरण, खानपिनको पक्ष आदिलो हामीलाई केही अनुकूलता प्रदान गरेको छ भने स्वास्थ्य सचेतना र पूर्वाधारको कारण हामी केही जोखिममा चाहिँ छौँ । अहिले सबै प्रदेशबाट कोरोना भाइरसको परीक्षण भइरहेको छ । आशा छ सरकारको अनवरत प्रयत्न र जनताको साथको कारण हामी त्यसको प्रकोपबाट छिटै उम्किने छौँ ।

मुलुकमा कोरोना महामारी नियन्त्रण पश्चात देहायको अवस्था आउन सक्ने अनुमान गर्न सकिन्छः

१. लक डाउनमा बन्द भएको आर्थिक कारोवार पूर्व लयमा आउन समय लाग्ने । त्यस समयावधिमा कामदार तथा व्यवसायीलाई ठुलो नोक्सानी भइसकेको हुने ।
२. लक डाउन पूर्वको अवस्थामा व्यवसाय फर्किन सकेन भने त्यसबाट रोजगारीमा प्रत्यक्ष असर पर्ने । कामदारको जीवन कठिन हुने । मुलुकको गार्हस्थ उत्पादनमा कमी आउने ।
३. कोरोना भाइरसको विश्वव्यापी असर परिरहेको, युरोप, अमेरिका तथा खाडी मुलुकबाट आउने विप्रेषण आप्रवाह घट्ने । फलतः अर्थतन्त्रमा तरलता अभाव पेचिलो हुन सक्ने ।
४. लक डाउन अवधिमा शुन्य कारोबार तथ त्यसपछि पनि आर्थिक कारोबार शिथिल हुने भएमा व्यवसायीहरुलाई बैंकको ब्याज तथा सावाँ किस्ता तिर्न कठिन हुने । फलतः बैंकको निष्क्रिय कर्जाको परिमाण बढ्न जाने ।
५. ग्राहकले बैंकसँग धेरै छुट सुविधा माग्ने । नदिए ग्राहक सिद्धिने, दिए बैंकको स्थायित्वमा प्रश्न चिन्ह खडा हुने ।
६ . साना र कमजोर बैंकको स्थायित्व चुनौतिपूर्ण हुने हुँदा सरकार तथा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको पुनर्संरचना के कसरी गर्ने भनी निर्देशन दिन सक्ने ।
७. बैंकहरुमा तरलता अभाव हुने, व्यवसायिक वातावरण नुहने, आम निरासा र शिथिलता कायम रही उत्साहयुक्त बैंकिङ वातावरण कायम हुन समय लाग्ने ।
८. तलताको कमी तथा आर्थिक क्रियाकलापमा आउने सुस्तीले पुँजी बजार केही खस्किन सक्ने ।
९.भारत तथा अन्य मुलुक समेतमा नेपालीका लागि प्राप्त श्रम बजारमा संकुचन आउन सक्ने हुँदा बेरोजगारीको संख्या बढ्न सक्ने ।
१०. कोरोनाको असर सकिएपछि पनि पर्यटन क्षेत्र तंग्रिन समय लाग्न सक्ने हुँदा पर्यटन क्षेत्र सम्बद्ध व्यवसायमा अन्य क्षेत्रको तुलनामा लामो समयसम्म असर देखिने । यसबाट साना तथा मझौला व्यवसाय र सो सम्बद्ध रोजगारी टिकाउने काम चुनौतीपूर्ण हुने ।
११. हाल चालु कतिपय परियोजनाहरुमा कार्यरत विदशी प्राविधिक जनशक्तिले काम सुचारु गर्न, आयात गर्नु पर्ने मेसिनरी लगायतका सामान प्राप्त भई जडान हुन केही समय लाग्ने भएकाले ती परियोजनाहरु ढिलो गरी मात्र सम्पन्न हुने ।
१२. विश्व अर्थतन्त्रमा मन्दीको संकेत देखिई तेलको मूल्यमा गिरावट आएको र अन्य औद्योगिक वस्तुको मूल्य केही न्यून हुन सक्ने भएकाले आयातीत सामानको सन्दर्भमा मूल्यको चाप नपर्ने ।
१३. विश्वका सबैजसो मुलुक खाद्य सुरक्षातर्फ सचेत रहेको सन्दर्भमा खाद्यान्नको भाउ बढ्न सक्ने, त्यसको आपूर्तिको लागि आन्तरिक सक्षमता विकसित गर्न आवश्यक हुने ।
१४. यस महामारीले स्वास्थ्य, वातावरण तथा शिक्षातर्फको सार्वजनिक खर्च बृद्धि गर्न आवश्यक देखाएको सन्दर्भमा अन्य क्षेत्रका लागि साधन स्रोतको अभाव हुने । लक डाउनको मनोवैज्ञानिक असर केही समय रहन सक्ने भएकाले तीनै तहको सरकार र समुदायले मनो स्वास्थ्य सचेतना अभियान सञ्चालन गर्नु पर्ने ।
१५. स्वास्थ्य बीमा लगायत समग्र बीमा क्षेत्रलाई व्यवसाय विस्तार गर्ने अवसर प्राप्त हुने ।
१६. सरकारले आन्तरिक तथा बाह्य स्रोत परिचालन गरी अर्थतन्त्रलाई सही बाटोमा हिँडाउन खर्च गर्नु पर्ने । सरकारले नै ठुला परियोजना सञ्चालन गर्ने ।
१७. केन्द्रीय बैंकले विस्तारकारी मौद्रिक नीति अवलम्वन गर्नु पर्ने ।
१८. डिजिटल भुक्तानीतर्फ जनता सजग हुने । त्यसको जोखिम वहन गर्न बैकिङ प्रणाली सक्षम हुनु आवश्यक हुने । नोटबाट समेत भाइरस सर्न सक्ने सम्भावनातर्फ सचेत रही सबैको सहयोगमा केन्द्रीय बैंकले सफा नोट नीतिलाई व्यवहारिक रुपमै कार्यान्यन गर्नु पर्ने ।
१९. हालको ब्याजदर केही तल जान सक्ने ।
२०. अमेरिका तथा युरो क्षेत्रले कम ब्याजदरमा व्यापक परिमाणमा ऋणपत्र जारी गर्ने सन्दर्भमा नेपाल राष्ट्र बैंक तथा अन्य वाणिज्य बैकको विदेशी मुद्रा आर्जन कम हुने ।
२१ आयात सस्तो हुने भए पनि निर्यात बृद्धि चुनौतीपूर्ण हुने ।
२२. ठुला अर्थतन्त्र संकटबाट गुज्रिने अवस्थामा बाह्य स्रोत साधनको परिचालन पेचिलो हुने । केही समय विदशी लगानीको वातावरण अनिश्चित हुने ।

अन्तमा,
विश्वसित सामाजिक तथा आर्थिक सम्बन्ध जोडिएको कारण उत्पन्न उपर्युक्त विषम परिस्थिति, चुनौती र अवसरलाई सरकार, केन्द्रीय बैंक, बैंक तथा वित्तीय संस्थाहरु, निजी क्षेत्र र समुदायले आपसमा सहकार्य गरी अर्थतन्त्र, उत्पादन र रोजगारीमा कम भन्दा कम क्षति हुने गरी समाधान गर्न आवश्यक छ र त्यो सकिन्छ पनि । सानो अर्थतन्त्रलाई उपयुक्त रणनीति तथा सजग कार्यान्वयनबाट तीब्र सुधारतर्फ लैजान सकिन्छ । बैंक तथा बित्तीय संस्थाहरुले विद्यमान ग्राहक संरक्षणको अलावा गाउँ गाउँमा साना व्यववसायका लागि कर्जा प्रवाह गरी आन्तरिक रोजगारी सिर्जना गर्ने अवसर उपयोग गर्न सक्छन् । हाल चालु रहेको सम्पत्ति शुद्धीकरण सम्बन्धी म्युचुअल इभालुएशनको समयावधि सार्न सकिने भएमा त्यसबाट केही समय वचत भई सरकारले अर्थतन्त्र सुधारको काम गर्न ध्यान केन्द्रित गर्न सक्छ । यस महामारीले स्वास्थ्य सचेतता, वातावरण संरक्षण र हार्दिकता सहितको मानवीय पक्ष अवलम्वन गर्न दिएको शिक्षा भने अमूल्य छ । हाम्रो प्रयत्न अंग्रेजी वर्णमालाको ‘यु’ वा ‘एल’ होइन ‘भी’ रिकोभरी हुनुपर्छ ।

(अधिकारी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशन तथा नेपाल बैंकका अध्यक्ष हुन्)


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status