Logo

ढुवानीमा भ्याट फिर्ता दिन आन्तरिक राजस्व विभागको सिफारिस, अर्थमा पुग्यो फाइल

ढुवानीमा भ्याट फिर्ता दिन आन्तरिक राजस्व विभागको सिफारिस, अर्थमा पुग्यो फाइल



काठमाडौं । आन्तरिक राजस्व विभागले ढुवानीमा प्रयोग हुने पेट्रोलियम पदार्थमा मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता दिनका लागि अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ । ढुवानी व्यवसायमा देखिएको भ्याट सम्बन्धी समस्या समाधानमा लागि आन्तरिक राजस्व विभागका उपमहानिर्देशकको संयोजकत्वमा गठित कार्यदलले उक्त सिफारिस गरेको हो ।

laxmi

उक्त कार्यदलले गहन छलफल गरेर गतहप्ता मात्रै ढुवानीमा प्रयोग हुने पेट्रोलियम पदार्थमा भ्याट फिर्ता दिनका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएको सो कार्यदलका सदस्य तथा विभागका निर्देशक कृष्णबहादूर बोहोराले जानकारी दिए । ‘ढुवानी व्यवसायीहरु सम्मिलित विभागको उपमहानिर्देशकको संयोजकत्वमा गठित कमिटिले ढुवानी व्यवसायमा प्रयोग हुने कच्चा पदार्थ अर्थात पेट्रोलियम पदार्थमा भ्याट फिर्ता दिनुपर्छ भनि ‘ढुवानी व्यवसाय सम्बन्धी कार्यविधी’ बनाएर अर्थ मन्त्रालयमा सिफारिस गरेका छौं,’ उनले भने, ‘सो विषयमा निर्णय गर्ने अधिकार अर्थ मन्त्रालयकै हुनेछ ।’

यस अघि ढुवानी व्यवसायीहरुले सरकारले चालू आर्थिक बर्षको बजेटमार्फत ढुवानीमा तथा ढुवानीमा प्रयोग हुने पेट्रोलियम पदार्थमा भ्याट लगाएको भन्दै दुबै खारेज गर्नुपर्ने माग राखेका थिए । तर, कार्यदलले ढुवानीमा प्रयोग हुने पेट्रोलियम पदार्थमा मात्र भ्याट फिर्ताका लागि सिफारिस गरेको हो ।

उक्त कार्यदलका सदस्य तथा ढुवानी यवसायी संघका महासचिव ज्ञानेन्द्र श्रेष्ठले पनि ढुवानीमा देखिएको भ्याट सम्बन्धी समस्या समाधानमा लागि कार्यविधी बनाएर अर्थ मन्त्रालयमा पठाइएको बताए । ‘हामीहरुले सुरुदेखि नै ढुवानीमा भ्याट लगाउनु हुँदैन भन्ने माग राख्दै आएका थियौं,’ उनले भने, ‘तर विभागले सरकारले बजेटमार्फत कार्यान्वयनमा ल्याएको ढुवानीको भ्याट हटाउन नसकिने तर पेट्रोलियम पदार्थमा दिँदै आएको भ्याट छुट फिर्ताका लागि भने आगामी बजेटमार्फत कार्यान्वयन गराउनका लागि उक्त कार्यदलले अर्थमा सिफारिस गरेको छ ।’

साथै ढुवानीको भ्याट कार्यान्वयनको लागि पनि थप समय माग गरिएको छ । उनका अनुसार कार्यविधी बनेको १ महिना पछि मात्र ढुवानीमा भ्याट कार्यान्वयनमा ल्याउने गरी सिफारिस गरिएको छ । तर, सरकारको नीति अनुसार भने चालू आबको बजेट कार्यान्वयनमा आएसँगै ढुवानीमा भ्याट लगाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL