Logo

सुख्खा बन्दरगाह कार्यालय सिर्सियामा लक्ष्यभन्दा कम राजश्व संकलन, चैत सम्ममा ३ अर्ब मात्रै

सुख्खा बन्दरगाह कार्यालय सिर्सियामा लक्ष्यभन्दा कम राजश्व संकलन, चैत सम्ममा ३ अर्ब मात्रै



काठमाडौं । सुख्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाले लक्ष्य भन्दा कम राजस्व संकलन गरेको छ ।

भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने फलाम, रक्सी, यातायातका साधनको आयातमा कमी आएपछि सुख्खा बन्दरगाह भन्सार कार्यालयमा लक्ष्य भन्दा कम राजस्व संकलन भएको हो ।

चालु आर्थिक वर्ष २०७५÷७६ को चैतमा ३ अर्ब २४ करोड ५३ लाख ८८ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य लिएकामा ७९ दशमलव ६९ प्रतिशत लक्ष्य हासिल गरी २ अर्ब ९८ करोड ६० लाख ९१ हजार रुपैयाँमात्र राजश्व उठाउन सकेको छ ।

आव २०७४÷७५ को चैतमा २० अर्ब ३७ करोड १८ लाख ६४ हजार रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएकामा ९९ दशमलव ९ प्रतिशत लक्ष्य हासिल गरी १९ अर्ब ३७ करोड ९ लाख ३५ हजार रुपैयाँ मात्रै राजश्व संकलन गरेको थियो ।

संघीय सरकारले तोकेको वार्षिक लक्ष्य ३६ अर्ब ९ करोड ३२ लाख रुपैयाँ रहेको छ । जुन लक्ष्य आव २०७४÷७५ भन्दा ८ अर्ब रुपैयाँले बढी रहेको सूचना अधिकारी विकास साहले बताए ।

चालु आव २०७५÷७६ को साउनदेखि चैत मसान्तसम्म २५ अर्ब ९९ करोड ४६ लाख पाँच हजार रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएकामा भारत तथा तेस्रो मुलुकबाट आउने सामानको आयातमा कमी आएपछि ९१ दशमलव ७८ प्रतिशत मात्र लक्ष्य हासिल गरी २३ अर्ब ८४ करोड ८२ लाख ७१ हजार रुपैयाँ मात्र राजश्व संकलन भएको सुख्खा बन्दरगाह कार्यालयले जनाएको छ ।

तेस्रो मुलुकबाट आयात भई कोलकाता बन्दरगाहको बाटो हुँदै आउने रक्सी, पेयपदार्थ, गाडी बोकेको कन्टेनर त्यति मात्रामा नआएकाले राजश्व प्रभावित भएको हो । सो कारणले वैशाखमा ३ अर्ब २४ करोड ५३ लाख ८८ हजार रुपैयाँ राजश्व उठाउन कठिनाई हुने भएको छ ।

आर्थिक वर्ष २०७४÷७५ को चैतमा २० अर्ब ३७ करोड १८ लाख ६४ हजार राजश्व उठाउने लक्ष्य लिएकामा ९९ दशमलव ९ प्रतिशतले लक्ष्य हासिल गरी १९ अर्ब ३३ करोड ९ लाख ३५ हजार रुपैयाँ मात्र राजश्व उठेको थियो ।

सुख्खा बन्दरगाह कार्यालयले भारतबाट आयात गरिने फलाममा मात्र सबभन्दा बढी २५ प्रतिशत राजश्व उठाउने गरे पनि हाल फलामको आयातमा कमी आएपछि चालु आवमा राजश्व लक्ष्य अनुरुप उठ्न नसक्ने सो कार्यालयले जनाएको छ ।

सरकारले भारतबाट चिनीको आयातमा प्रतिबन्ध लगाए पनि कोटा प्रणाली लागू गरेपछि केही मात्रामा चिनी आयात भइरहेको छ । यस वर्ष तेस्रो मुलुकबाट १०९ गाडी पर्साको सिर्सिया भन्सार कार्यालय भएर भित्रिएको छ ।

वीरगञ्ज र कोलकाता बन्दरगाहबीच सहजीकरण नहुँदा, कोलकाता बन्दरगाहबाट रेलमार्ग हुँदै आउने सामानको भाडा दरमा एकरुपता नहुँदा राजश्व प्रभावित भएको सुख्खा बन्दरगाह कार्यालय सिर्सियाले जनाएको छ /रासस

प्रतिक्रिया दिनुहोस्
MBL