कोरोनाले माग, आपूर्ति र भुक्तानीको चक्र विगारेको छ, टुटेको व्यवसायलाई यसरी सुचारु गराऔं : निरज राईको विचार

niraj_rai_chamber_bizkhabar

विश्वव्यापी कोरोना भाईरस (कोभिड–१९) महमारीले ३ लाख भन्दा बढी मानिसको ज्यान लिईसकेको छ, ४८ लाख भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन्, मानिसको जीवनयापन प्रभावित भएको छ, लाखौं श्रमिक रोजगारविहीन भएका छन्, आर्थिक क्रियाकलाप प्रभावित भएसँगै विश्व अर्थतन्त्रनै सिथिल भइसकेको छ ।

कोरोना महामारीको यो अत्यासलाग्दो परिस्थतीबाट नेपाल पनि जोगिन सकेको छैन, संक्रमितको संख्या ३ सय नाघिसकेको छ, कोरोनाबाट एक जनाको मृत्यु पनि भइसकेको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको बन्दाबन्दी (लक डाउन)ले दैनिक जनजीवन प्रभावित भएको छ, हजारौंले रोजगारी गुमाईसकेका छन्, उद्योग व्यवसाय ठप्प अवस्थामा छन्, जसबाट मुलुकको अर्थतन्त्र संकटमा पुगेको छ ।

उत्पादनदेखि आपूर्तिसम्म समस्या

कोरोना महामारी र लक डाउनका कारण उद्योगमा कच्चा पदार्थको आपूर्ति हुन सकेको छैन । छिमेकी मुलुक चीन र भारत कोरोनाबाट अझ बढी प्रभावित भएका कारण हाम्रो व्यापार झन् धेरै प्रभावित भएको छ । आवश्यक कच्चा पदार्थ आयात हुन नसक्दा उत्पादन नै प्रभावित हुनु स्वभाविक नै भईगयो । आयात तथा उत्पादन प्रभावित भएपछि त्यसको समग्र व्यवसायको चक्र (चेन) नै प्रभावित भएको छ । उपभोक्ताले चाहेको सामान पाउन सकेका छैनन् ।

यसरी आयात, उत्पादन र आपूर्तीको समग्र चक्रनै प्रभावित भएका कारण एकातर्फ उपभोक्ताले आवश्यकताअनुसार वस्तु तथा सामग्री पाउन सकेका छैनन् भने अर्कातर्फ रोजगारदाताले आम्दानी र श्रमिकले रोजगारी गुमाईरहेका छन् । यसको असर मुलुकको राजस्वमा समेत परेको छ । आयात व्यापार प्रभावित हुँदा भन्सार राजस्व गुमिरहेको छ । उत्पादन र व्यवसायको चक्र प्रभावित हुँदा आन्तरिक राजस्व समेत खुम्चने देखिएको छ । समग्र आर्थिक क्रियाकलापमा परेको यस्तो प्रभावको असर अहिले मात्रै होइन दीर्घसमयसम्म देखिने छ ।

माग र आपूर्ति दुवै साईड प्रभावित

अर्थतन्त्रका संरचनामा मुख्य दुई ओटा क्षेत्र (साईड) छन्, माग (डिमाण्ड) र आपूर्ति (सप्लाई) । यो दुवै साईड अहिले कोरोना महामारी र लक डाउनबाट प्रभावित भएको छ । कुनै वस्तुको माग बढेको छ तर आपूर्ती हुन सकेको छैन, कुनै वस्तुले भने बजार पाउन सकेका छैनन्, कतिपय वस्तुको उत्पादन हुनसक्ने अवस्था छ तर माग हुन सकेको छैन । यसरी माग र आपूर्तीको चक्रममा समेत लक डाउनले असर पारेको छ । लकडाउनकै कारण बस्तु तथा सेवा खरिद गर्ने प्रवृत्तिमा नै परिवर्तन आएको छ, मागको चक्रमै असर परेको छ । भुक्तानीको चक्र पनि भत्किएको छ । आयात, उत्पादन र व्यवसायसम्मको भुक्तानीको चक्रमा असर परेको छ । समयमा भुक्तानी दिन र लिन सकिएको छैन । यसको असर निकै पछिसम्म देखिने छ ।

टुटेको आयात व्यापार कसरी खुलाउने ?

विश्वा व्यापारसँगै नेपालको अन्तरदेशीय व्यापार पनि टुटेको छ । मासिक सवा खर्ब रुपैयाँ बराबरको आयात व्यापारमा ६० प्रतिशतभन्दा बढीको गिरावट आएको छ । अहिले मासिक ३०/४० अर्ब रुपैयाँको मात्रै आयात भइरहेको छ । हाम्रा पूर्वाधार निर्माणदेखि प्रसोधन उद्योगसम्म आयातमा निर्भर छन्, अधिकांश उद्योगको कच्चा पदार्थ आयातमा आधारित छन्, पूर्वाधार निर्माणका लागि मेशिनरी पनि आयात नै गर्नुपर्ने हुन्छ, तर अहिले तरकारी, फलफूल, औषधि, खाद्य पदार्थलगायत अत्यावश्यक र दैनिक उपभोग्य वस्तुको मात्रै आयात भइरहेको छ । निर्यात त लगभग ठप्प नै छ, अझ केहि महिना निर्यात गर्न सकिने अवस्था छैन । छिमेकी मुलुक चीनसँगको नाका त झण्डै तीन महिना ठप्प नै भयो । अहिले नाका खुलेको छ तर व्यवासयक आयात निर्यात हुन सकेको छैन ।

‘उद्योगी व्यवसायीलाई कर्जाको सुविधामा बढोत्तरी गर्दै कर्जा प्रबाहलाई सहजीकरण गरिनुपर्छ । व्यापार प्रक्रियालाई थप सरल बनाईनुपर्छ भने विभिन्न शुल्क तथा महसुल घटाएर व्यापार लागत घटाउनुपर्छ अनि सरकारको क्षमताले धान्नेगरी करमा समेत छुट दिनुपर्छ ।’

भारततर्फका मुख्य नाकाबाट मात्रै व्यापार भइरहेको छ त्यो पनि अत्यावश्यक वस्तुको मात्रै । यसर्थ, समग्र व्यापार र त्यसको चक्र टुटेको छ । यसलाई पुनः सुचारु गर्न पक्कै गाह्रो हुने छ । पुरानै अवस्थामा आउन निकै महिना लाग्ने छ । टुटेको आयात व्यापार खुलाउन सरकारको सहयोग चाहिन्छ । उद्योगी व्यवसायीलाई कर्जाको सुविधामा बढोत्तरी गनुपर्छ, कर्जा प्रबाहलाई सहजीकरण गरिनुपर्छ, व्यापार प्रक्रियालाई थप सरल बनाईनुपर्छ, विभिन्न शुल्क तथा महसुल घटाएर व्यापार लागत घटाउनुपर्छ अनि सरकारको क्षमताले धान्नेगरी करमा समेत छुट दिनुपर्छ । यसरी सरकारले तत्कालिन राहत र ढाडस दियो भने टुटेको आयात व्यापार पुरानै अवस्थामा फर्काउन सकिन्छ ।

आत्मनिर्भर हुने सिकाउने महामारी

कोरोना महामारीले व्यापार तथा आपूर्तीको चक्र टुटाएको छ, अर्थतन्त्रलाई सिथिल बनाएको छ तर यसबा बाबजुत केहि सकारात्ममक पाठ समेत हामीले महामारीबाट सिक्ने अवसर पाएका छौं । परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने पाठ समेत यसले सिकाएको छ । यसबीचमा हामीलाई स्वास्थ्य उपकरणको अभाव खड्कियो, व्यापार चक्र विग्रिएका कारण सहज आयात हुन सकेन, यसले हामीलाई नेपालमै यस्ता सामग्री उत्पादन गर्नुपर्ने रहेछ भन्ने पाठ सिकाएको छ ।

कोरोना संक्रमणबाट जोगिन प्रयोग गरिने सेनिटाईजर, मास्कलगायतका स्वास्थय सामग्री नेपालमै पनि बन्ने सम्भावना रहेछ भन्ने देखिएको छ । नेपाल चेम्बर र सदस्य साथिहरु तथा अन्य व्यवसायीले उत्पादन समेत शुरु गर्नुभयो । आयातमा कमी भएपछि यहि अन्य सामग्री पनि उत्पादन गर्नुपर्छ भन्ने भाव जागृत भएको छ । दैनिक जीवनमा चाहिले उपभोग्य वस्तुमा आत्मनिर्भर हुने गरी उत्पादन बढाउनुपर्ने आवश्यकता देखियो, त्यसअनुसार उद्योगी व्यवसायीले सोच समेत बनाएका छन्, सरकारले सहयोग गरेमा सोचलाई कार्यन्वयनमा ल्याउन सकिने छ । अर्थतन्त्रमारेमिटयान्सको भर दीर्घकालिन हुँदोरहेनछ भन्ने चेत पनि खुलेको छ । नेपालमै रोजगारी सिर्जना गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने देखिएको छ ।

राहत तथा आर्थिक पनुरुत्थानको प्याकेजको आवश्यकता

सरकारले नीति तथा कार्यक्रममार्फत उद्योग व्यवसाय पुनरुत्थानको कार्यक्रम ल्याउने घोषणा गरिसकेको छ, भलै त्यो कस्तो हुने ? कसरी ल्याउने भन्ने विषयमा नीति कार्यक्रम स्पष्ट छैन । तर, सिथिल अर्थतन्त्रलाई चलायमान बनाउन तथा टुटेको उत्पादन, आपूर्ती र भुक्तानीको चक्रलाई सुचारु गराउन राहत र प्याकेज ल्याउनुको विकल्प छैन । सरकार र केन्द्रीय बैंकले केहि राहत तथा सुविधा ल्याएका पनि छन् तर त्यो पर्याप्त छैन । सरकारले विभिन्न क्षेत्रलाई विभाजन गरेर कुन क्षेत्रलाई कस्तो प्याकेज अर्थात सुविधा चाहिने हो त्याही अनुसार प्याकेज वा सुविधा घोषणा ग¥यो भने सजिलो हुन्छ । हाल एयरलाईन्स कम्पनी, होटल, पर्यटनलगायत क्षेत्रमा ठुलो असर परेको छ । अन्य केही क्षेत्र पनि प्रभावित छन् । केहि क्षेत्र आंशिक मात्रै प्रभावित भएका छन् । कतिपय उद्योग व्यवसाय राम्रै चलिरहेका पनि छन् । यस्ता क्षेत्रलाई विभाजन गर्दै सोही अनुसारको सहजीकरण गरिनु आवश्यक छ ।

विपद्बाट प्रभावित उद्योग व्यवसायलाई सहयोग तथा सहजीकरण नगरिए अर्काे विपद आईपर्छ, यसप्रति सरकारको ध्यान जान आवश्यक छ ।उद्योगी व्यसायीको संकट टार्नु भनेको अर्थतन्त्रमा आउन सक्ने संकट टार्नु हो । उद्योग व्यवसाय धरापरमा परेभने अर्थतन्त्र धरापमा पर्छ । तर, राहत प्याकेज ल्याएर सजीकरण गरिदिएको अवस्थामा दुई चार महिनापछि विस्तरै रिभाईभ हुन थाल्छन्, अनि अर्थतन्त्र ध्वस्त हुनबाट जोगिने छ । छिमेकी भारतलगायतविश्वका विभिन्न मुलुकले आर्थिक पुनरुत्थानको प्याकेज घोषणा गरेका छन्, त्यसको अनुसरण गर्दै हामीले पनि हाम्रो अर्थतन्त्रलाई जोगाउनुपर्छ । महामारीले बढाउन सक्ने बेरोजगरी र गरिबीको संख्या रोक्नुपर्छ ।

(राई नेपाल चेम्बर अफ कमर्सका भन्सार समितिका सभापति हुन्)


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status