Logo

बैंक तथा वित्तीय संस्थाको ३२ खर्ब लगानी जोखिममा, कुन क्षेत्रमा कति असर ?

बैंक तथा वित्तीय संस्थाको ३२ खर्ब लगानी जोखिममा, कुन क्षेत्रमा कति असर ?



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण बैंक तथा वित्तीय क्षेत्रको लगानी जोखिममा पर्ने भएको छ । लामो समयदेखि फैलिएको उक्त भाइरस कहिले अन्त्य हुने भन्ने बारे अन्यौल बढ्दै जाँदा बैंक तथा वित्तीय क्षेत्रले गरेको लगानी जोखिममा पर्ने देखिएको छ ।

हाल बैंक तथा वित्तीय संस्थाले कृषि, पर्यटन, वेवरेज, रिटेल, जलविद्युत, रियलस्टेटजस्ता क्षेत्रमा ठूलो लगानी गरेको र कोरोना पछिको लकडाउनका कारण उक्त क्षेत्रहरु ठप्प हुन पुग्दा लगानी जोखिममा पर्ने देखिएको हो । नेपालका बैंक तथा वित्तीय क्षेत्रले लकडाउन सुरु हुनुभन्दा अघि अर्थात फागुन मसान्तसम्ममा सबै क्षेत्रमा गरी कुल ३२ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ लगानी गरेका छन् । जसमध्ये २८ खर्ब ४ अर्ब बाणिज्य बैंकको रहेको छ भने ४ खर्ब ९ अर्ब रुपैयाँ विकास बैंक र फाइनान्स कम्पनीहरुले लगानी गरेका छन् ।

सो अबधिसम्ममा सबैभन्दा बढी कर्जा होलसेल तथा रिटेलमा ५ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रदान भएको छ भने कृषि, फरेष्ट्री र वेवरेजमा ५ खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रदान भएको छ । यसैगरी निर्माण क्षेत्रमा ३ खर्ब ४५ अर्ब र रियल स्टेटमा २ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको तथ्याङकले देखाएको छ ।

यसैगरी होटलमा १ खर्ब ४२ अर्ब रुपैयाँ लगानी हुँदा जलविद्युत, ग्याँस र सिँचाईमा १ खर्ब ४९ अर्ब कर्जा प्रवाह भएको छ । सो अबधिमा अतिरिक्त सेवामा १ खर्ब ३७ अर्ब तथा व्यक्तिगत कर्जा लगायतका ओडी लोनमा ४ खर्ब ७० अर्ब रुपैयाँ लगानी भएको तथ्याङ्कले देखाएको छ । यस्तै ट्रान्पोटेशन र कम्युनिकेशमा ९३ अर्ब रुपैयाँ र कम्जम्शन क्षेत्रमा १ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा प्रबाह भएका छ ।

बैंक तथा वित्तीय संस्थाहरुले ठूलो मात्रामा लगानी गरेका क्षेत्रहरु ठप्पजस्तै हुँदा आगामी दिनमा कर्जा असुलीमा समस्या आउने सम्बद्ध सारोकारवालाहरु बताउँछन् । विशेषगरी बैंकहरुको ठूलो कर्जा प्रवाह भएका कृषि, रियल स्टेट, जलविद्युत, पर्यटन, होलसेल तथा रिटेलजस्ता क्षेत्रहरुमा प्रत्यक्ष असर परेको हुँदा त्यस्ता क्षेत्रमा प्रवाह गरिएको कर्जाको किस्ता र ब्याज उठाउन एकदमै ठूलो समस्या हुने नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादूर अधिकारीले जानकारी दिए । ‘अहिले त कोरोनाका कारण राष्ट्र बैंकले ऋणीहरुसँग कर्जाको ब्याज र किस्ता नउठाउन निर्देशन दिएकाले सबै चुप लागेर बसेका छौं,’ उनले भने, ‘लकडाउन खुलेपछि कर्जाको ब्याज र किस्ता कसरी असुल गर्ने हो त्यस विषयमा सोच्न पनि सकिएको छैन ।’

साथै आगामी दिनमा बैंकले नाफा आर्जन गर्नुभन्दा पनि खराब कर्जाको अनुपात ह्वात्तै बढ्ने सम्भावना रहेको समेत उनले जानकारी दिए । ‘अहिले राष्ट्र बैंकको नीति अनुरुप पनि बैंक तथा वित्तीय क्षेत्रले पर्यटन र जलविद्युतमा साढे ४ खर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् तर ती क्षेत्रमा तत्काल सधार हुने अवस्था देखिँदैन,’ उनले भने, ‘साथै अहिलेको अवस्थामा धेरेजसो क्षेत्रमा प्रवाह गरिएका कर्जाहरु रेडजोनमा जाने अवस्था देखिएको छ ।’

लकडाउनका कारण आर्थिक गतिविधि ठप्प हुँदा बैंकहरुले प्रवाह गरेका कर्जामा समस्या उत्पन्न हुने पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महत बताउँछन् । ‘विशेषगरी होटल, निर्माणाधिन जलविद्युत, रियल स्टेटजस्ता क्षेत्रमा प्रबाह गरिएको कर्जामा समस्या आउनेछ,’ उनले भने, ‘रिटेल लगायतका अन्य क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको ठूलो लगानी रहेको र त्यस्ता क्षेत्रहरुमा पनि आर्थिक गतिविधि सुचारु नभएसम्म बैंकको कर्जा तिर्न कठिन हुनेछ ।’ साथै लकडाउनका कारण आर्थिक गतिविधि ठप्प हुँदा उद्योगी व्यवसायीको ब्याजलगायतत खर्च मात्र बढिरहेकाले अबका दिनमा बैंकको कर्जा तिर्न बढी समय लाग्ने समेत उनले जानकारी दिए ।

लकडाउन लम्बिएर आर्थिक गतिविधि ठप्प भएसँगै बैंकहरुले प्रबाह गरेका कर्जाको जोखिम उच्च रुपमा बढेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए । ‘अहिले आर्थिक गतिविधि ठप्प भएर उद्योगी व्यवसायीको खर्च मात्र बढेको छ भने आम्दानी भएको छैन,’ उनले भने, ‘कतिपय उद्योगी व्यवसायीले कच्चा पदार्थ समेत ड्यामेज भएको गुनासो गर्न थालेका छन् भने निर्माणको अन्तिम चरणमा रहेको जलविद्युत आयोजनाको पनि काम रोकिदा थप आर्थिक भार पर्न गई बैंकको कर्जा तिर्न नसक्ने अवस्था आउनेछ ।’ साथै रियल स्टेट, होटल तथा पर्यटन जस्ता क्षेत्र तत्कालै लकडाउन हटेपनि लामो समयसम्म चल्न नसक्ने भएकाले यस्ता क्षेत्रमा प्रबाह गरिएका कर्जाको ब्याज तथा किस्ता तत्काल उठ्ने सम्भावना देखिँदैन । यस्ता क्षेत्रमा प्रवाह गरिएका कर्जाको जोखिम झन उच्च हुने उनको तर्क थियो ।

लकडाउनका कारण उद्योग व्यवसाय बन्द हुँदा नगद प्रवाहमै समस्या परेको र अबका दिनमा कतिपय उद्योग व्यवसाय नै चल्न नसक्ने अवस्थामा पुग्ने समेत उनले जानकारी दिए । लकडाउनका कारण माछा मासु बिक्री हुन नपाउँदा किसानको खर्च समेत धान्न नसक्ने अवस्थामा पुगेको हुँदा त्यस्ता क्षेत्रमा प्रवाह गरिएको कर्जाको समेत जोखिम बढ्न सक्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । हाल बाहिर जिल्लाबाट माछा मासु ओसार पसार गर्न नपाउँदा कृषकलाई दाना खुवाउन समेत समस्या उत्पन्न भएको छ । साथै बैंकहरुले उत्पादनमुलक क्षेत्रमा प्रबाह गरेको कर्जामा समेत समस्या आउने देखिएको छ । ठूलो मात्रामा रोजगारी प्रदान गर्दै आएका उद्योगहरुको पनि खर्च बढ्न जाने हुँदा त्यसले समेत बैंकको कर्जा उठौतीमा समस्या उत्पन्न हुने देखिएको हो ।

लामो समयको बन्दाबन्दीको कारण जलविद्युत क्षेत्रका लगानीकर्ताहरु ‘बैंकक्रप्ट’ हुने अवस्थामा पुग्ने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईले जानकारी दिए । ‘लामो समयको लकडाउनका कारण निर्माणधिन जलविद्युत आयोनजाको कर्मचारी खर्च, व्यवस्थापन, ब्याज खर्च दैनिक रुपमा बढिरहेको छ भने काम हुन सकेको छैन,’ उनले भने, ‘जलविद्युत क्षेत्रको स्वामित्व निश्चित समयपछि सरकारलाई बुझाउनु पर्ने भएको र सो अबधिसम्म लगानीकर्ताले बैंकको सावाँब्याज तिर्न समेत कठिन हुने देखिएको छ ।’ हाल जलविद्युत क्षेत्रको बैंकहरुको ठूलो लगानी रहेको समयमै आयोजना सम्पन्न नहुँदा लागत बढ्द गई बैंकहरुको लगानी समेत जोखिममा पर्न सक्ने उनले जानकारी दिए ।

यसैगरी अहिलेको अवस्थामा होटल व्यवसायले बैंकको कर्जा तिर्न सक्ने अवस्था नरहेको एमएस ग्रूप तथा होटल मेरिओटका उपाध्यक्ष सुमितकुमार अग्रवालले जानकारी दिए । ‘कोरोना पछिको लकडाउनका कारण होटल व्यवसाय धराशयी भएका छन्, यसको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थामा देखिने भएको छ,’ अग्रवालले भने, ‘होटल व्यवसाय पुनरुत्थानका लागि सरकारले केकस्ता प्याकेज ल्याउँछ त्यसपछि मात्र कसरी अघि बढ्न भन्ने विषयमा सोच्न सकिने छ ।’

हाल सरकारले पुनर्कर्जा दिने भनेपनि त्यसले मात्रै होटल व्यवसाय पुनरुत्थानका लागि काम नगर्ने उनको भनाई थियो । ‘सिमित समयमा लागि दिने पुनर्कर्जाले हाटल व्यवसायीलाई थप कर्जाको भार मात्र बढाउने हो राहत मिल्दैन,’ उनले भने, ‘यस क्षेत्र सुधारका लागि निश्चित समयका लागि तोकेर ब्याजदरमा उल्लेख्य मात्रामा घटाउनु जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL