Logo

९१३ विदेशी पर्यटक आफ्नै घर फिर्ता, १० हजार पर्यटकले भिसा थपेर बसे

९१३ विदेशी पर्यटक आफ्नै घर फिर्ता, १० हजार पर्यटकले भिसा थपेर बसे



काठमाडौं । सरकारले विभिन्न मुलुकका ९१३ जना विदेशी नागरिकलाई आफ्नै देश पठाएको छ । लकडाउनका कारण विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका उनीहरुलाई शुक्रबार र शनिबार हवाई उद्धार गरी काठमाडौं ल्याएको थियो ।

धेरैलाई जहाज र कतिपयलाई बसबाटै ल्याइएको नेपाल पर्यटन बोर्डले जाकारी दिएको थियो । लुक्ला, पोखरा, मुस्ताङलगायत गन्तव्यबाट पर्यटकको उद्धार गरिएको हो । यीमध्ये लुक्ला र जोमसोमबाट जहाजमा र पोखराका धेरै पर्यटक जहाज तथा केहीलाई बसबाट काठमाडौँ ल्याइएको बोर्डले जानकारी दिएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले लुक्लालगायत गन्तब्यमा रोकिएका पर्यटकको उद्धार भइसकेको र अन्य सुलभ गन्तब्यमा रहेका पर्यटकको सोही स्थानमा सहज वातावरणमा रहने व्यवस्था मिलाइएको जानकारी दिएका छन । यसरी काठमाडौँमा जम्मा भएका ९१३ विदेशी नागरिक घर फर्किएका हुन । ती नागरिकलाई सम्बन्धित मुलुकले कतार एयरवेजको जहाजमार्फत चार्टर्ड उडान गरी गन्तब्यतर्फ लगेका हुन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट कतारको जहाजले शुक्रबार एक उडानबाट ३०४ र शनिबार दुई उडानमार्फत ६०९ युरोपेली मुलुकका नागरिक लगेको विमानस्थलले जानकारी दिएको छ । लुक्लामा रोकिएका पर्यटकको शुक्रबार बुद्ध एयर, यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले उद्धार गरेका थिए भने शनिबार निगमले बिहानदेखि लुक्लामा अलपत्र ७० विदेशी पर्यटकको उद्धार गरेको थियो । त्यस्तै तारा, समिट र श्री एयरलाइन्सले पर्यटक उद्धार गरेको विमानस्थलले जानकारी दिएको छ ।

फ्रान्स, जर्मनलगायत मुलुकका नागरिक घर फर्किएका हुन् । अब क्रमशः अष्ट्रेलिया र अमेरिकाका नागरिक स्वदेश लैजाने तयारी भइरहेको छ । अष्ट्रेलियाले निगमको वाइडबडी जहाज चार्टर्ड गरिसकेको छ । अप्रिल १ तारिख २०२० मा निगमको वाइडबडी अष्ट्रेलिया उड्ने भएको छ । लकडाउनका कारण मुलुकको अन्तरराष्ट्रिय उडान ठप्प प्रायः रहेपनि शुक्रबार र शनिबार दिनभरजसो आन्तरिक उद्धारका उडानहरु भए । आज पनि पाँचदेखि सात उडानबाट विदेशी नागरिकलाई र तिनका सहयोगी नेपालीलाई काठमाडौँ ल्याइने बोर्डले जानकारी दिएको छ । लुक्लामा रहेका विदेशी पर्यटकका गाइड तथा भरियालाई काठमाडौँ ल्याईसकेका छन ।

अन्य पर्यटकको भने अहिले जुन स्थानमा रहेका छन् सोही स्थानमा सहज वातारणका साथ राख्न र सम्बन्धित मुलुकले लैजान चाहेको खण्डमा काठमाडौँसम्म ल्याउने निर्णय भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए । उनले भने, ‘रोकिएका पर्यटक आइसके अब देशका विभिन्न गन्तब्यमा रहेका पर्यटकलाई उनीहरुको मुलुकबाट लैजाने व्यवस्था नभएसम्मका लागि हालकै स्थानमा व्यवस्थापन गर्न सरोकारवालालाई निर्देशन दिने निर्णय गरिएको छ ।’

बोर्डको विवरणमा शनिबार लुक्ला र पोखराबाट गरी ६०४ र जोमसोमबाट ५८ पर्यटक उद्धार गरी ल्याइएको थियो । त्यस्तै बिभिन्न गन्तब्यबाट विभिन्न तवरले बोर्डले नेपालका विभिन्न पर्यटकीय गन्तब्य तथा प्रमुख पर्यटकीय शहरमा रहेका पर्यटकको वास्तविक विवरण उपलब्ध गराइदिन होटल, घरबास कार्यक्रम (होमस्टे) लगायतलाई बोर्डले जरुरी सूचना निकालेर आग्रह गरेको छ । नेपालमा कति संख्यामा विदेशी पर्यटक छन् भन्नेबारे विभिन्न माध्यमबाट संख्या व्यवस्थापनको काम भइरहेको बोर्डले जानकारी दिएको छ ।

बोर्डले अहिले अत्यावश्यक सेवाका लागि सीमित कर्मचारीको व्यवस्था गरी सेवालाई नियमित गरिरहेको प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए । नेपालमा झण्डै १० हजार पर्यटकले प्रवेशाज्ञा थपेर बसेका छन् । वसन्त ऋतुको यो याममा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य संख्यामा युरोपेली मुलुकका नागरिक नेपाल आएका थिए । विभिन्न मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई फिर्ता लगिरहेका हुन्/रासस

प्रतिक्रिया दिनुहोस्
MBL