Logo

बुधबारदेखि कालीगण्डकीमा र्याफ्टिङ सुरु, बर्षाका कारण घट्दै जलयात्रा गर्ने पर्यटक

बुधबारदेखि कालीगण्डकीमा र्याफ्टिङ सुरु, बर्षाका कारण घट्दै जलयात्रा गर्ने पर्यटक



काठमाडौं । निरन्तरको वर्षाका कारण झण्डै एक महीना ढिलो गरी कालीगण्डकी नदीमा जलयात्रा (र्याफ्टिङ) सुरु भएको छ । नदीमा पानीको सतह घटेपछि गत जेठ अन्तिम सातादेखि बन्द भएको जलयात्रा बुधबारदेखि सुरु भएको हो ।

कालीगण्डकीमा सेप्टेम्बरको पहिलो सातादेखि नोभेम्बरको मध्यसम्म सञ्चालन हुने भए पनि यसपटक झण्डै एक महीना ढिलो गरी जलयात्रा सुरु भएको हो । निरन्तरको वर्षा नरोकिएका कारण बुधबारबाट पहिलो समूह र्याफ्टिङ गर्न आएको छ । एक महीना ढिलो गरी जलयात्रा सुरु भएकाले धेरै पर्यटकले जलयात्रा गर्न नपाउने अवस्था रहेको स्विसा र्याफ्टिङ एन्ड ट्रेकिङ एक्सपिडेशनका प्रबन्ध निर्देशक देव रेग्मीले बताएका छन ।

छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएका थिए । एक याममा कम्तीमा पनि २ देखि ३ हजार पर्यटकले जलयात्रा गर्दै आएका छन् । यो याममा वर्षा, बाढी, पहिरो नरोकिएका कारण सेप्टेम्बरको सुरुमै बुक गरेका धेरै पर्यटकले र्याफ्टिङ रद्द गरिसकेका रेग्मीले बताए । कालीगण्डकीमा १० भन्दा धेरै कम्पनीले र्याफ्टिङ सञ्चालन गर्दै आएका छन् ।

कुश्मा नगरपालिका–१ पाङस्थित नयाँपुल तथा मालढुङ्गादेखि सुरु हुने र्याफ्टिङ स्याङ्जा, पर्वत र गुल्मीको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको जलाशयमा पुगेर टुङ्गिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रुपमा रहेको छ । कालीगण्डकीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरहरुको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् ।

यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अस्टे«लिया, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाइमा पनि कालीगण्डकी नदी पर्दै आएको छ । नयाँपुल–मोदीवेणी खण्डमा पहिलो दिनको यात्रा बनाएर जाने साथै दोस्रो दिनमा पर्वतकै विहादी गाउँपालिका बर्राचौरको पूर्तिघाट नजीक बस्ने र तेस्रो दिनमा मिर्मी हुँदै पोखरा जानेगरी पर्यटकले यात्रा तय गर्ने गरेका छन् ।

यात्राका क्रममा बस्ने ठाउँमा भौतिक संरचनाको विकास गर्न र नगरपालिकाको आर्मादी नजीकै खोलाकोबीचमा रहेका ठूला ढुङ्गा नहटाउँदा समस्या आउने गरेको पर्यटक गाइड नवीन केसीले बताए/रासस

प्रतिक्रिया दिनुहोस्
MBL