Logo

सयभन्दा बढी स्थानमा यसै हप्तादेखि टेलिकमको फोरजी सेवा, परीक्षणको तयारी पुरा

सयभन्दा बढी स्थानमा यसै हप्तादेखि टेलिकमको फोरजी सेवा, परीक्षणको तयारी पुरा



काठमाडौं । नेपाल टेलिकमले यसै हप्ताभित्र देशभरका १ सयभन्दा बढी स्थानमा फोरजी परीक्षण गर्ने भएको छ । टेलिकमले कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क (र्यान) को जडान, स्थापना लगायतका काम सम्पन्न भएका १ सय भन्दा बढि स्थानमा यो हप्ताभित्रै फोरजी परीक्षण गर्ने भएको हो ।

laxmi

टेलिकमले देशभर नै आफ्नो फोरजी सेवा विस्तार गरिरहेको छ । सोही अनुरुप कम्पनीले पछिल्लो समय फोरजी विस्तारका लागि सबै प्रक्रिया पुरा भएका १ सय भन्दा बढी स्थानमा फोरजी परीक्षण गर्न लागेको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।

‘हामीले १ सय भन्दा बढी स्थानमा कोर र र्यानको काम सम्पन्न गरेका छौं,’ उनले भने, ‘त्यसमा पनि खासगरी सातै प्रदेशका मुख्य शहरहरु र अन्य केही क्षेत्रहरु रहेका छन जसमा यसको परीक्षण गर्ने वित्तिकै सेवा संचालमा समेत ल्याउने छौं ।’

टेलिकमले देशभर १ बर्षभित्र फोरजी सेवा विस्तार गर्नका लागि गत माघमा चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता गरेको थियो । जेडटीईले नेपालभरका ५ स्थानमा कोर नेटवर्क स्थापनाको लागि सम्झौता गरेको थियो । जेडटीईले हालसम्म काठमाडौं, हेटौंडा, बुटवल, नेपालगंज र विराटनगरमा कोर नेटवर्क विस्तार गरिसकेको छ ।

यस्तै सीसीएसआई हङकङले भने नयाँ बीटीएस टावर निर्माण गर्ने र र्यान विस्तार गर्ने काम तिव्र गतिमा गरिरहेको छ । सोही अनुसार सीसीएसआईले र्यान विस्तार गरेका स्थानमा भने टेलिकमले फोरजी सेवा संचालन गर्न लागेको हो ।

नेपाल टेलिकम हाल आफ्ना फोरजी ग्राहकको संख्यामा निजी सेवाप्रदायक एनसेल भन्दा धेरै पछि छ । नेपाल टेलिकमले एनसेलभन्दा अघि नै आफ्नो फोरजी सेवा संचालनमा ल्याएपनि सोही अनुसार विस्तार हुन नसक्दा पछि परेको थियो । तर अब टेलिकमले पनि आफ्नो फोरजी सेवा सबै क्षेत्रमा उपलब्ध गराउने भएपछि टेलिकमका फोरजी ग्राहक संख्या बढ्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL