Logo

‘बेलैमा सोचौं, नत्र अर्थतन्त्र थला पर्न सक्छ’, राजेन्द्र मल्लको विचार

‘बेलैमा सोचौं, नत्र अर्थतन्त्र थला पर्न सक्छ’, राजेन्द्र मल्लको विचार



विश्वमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को नेपालमा असर देखिएको छैन । एकजना व्यक्तिमा संक्रमण देखिएतापनि उपचार पश्चात घर फर्किएको अवस्था छ । तर खुल्ला नाकाहरू भएका कारण मानिसहरुको आवतजावतमा सावधानी अपनाईनु पर्दछ । सरकारले हालै आएर नेपालमा उक्त रोग भित्रन नदिनका लागि केही कडाई गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइसर नेपालमा आएको छैन भनेर ढुक्क हुने अवस्था छैन । यसका लागि सरकार, निजी क्षेत्र र जनता सबै मिलेर रोकथामका लागि पूर्वतयारी तथा उक्त रोग भित्र नदिनका लागि प्रयाप्त सावधानी अपनाउनुपर्ने हुन्छ ।

हरेक नाकाहरू जस्तै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, भारत र चीनका नाकाहरूमा मानिसहरु आवतजावत तथा मालसामान आयात निर्यात गर्दा उच्च सतर्कता साथ चेकजाँच गरिनुपर्छ । यसका लागि सोही अनुरूप कोरोनाको संक्रमण भए नभएको जाँच गर्ने संयन्त्र समेत जडान गरिनुपर्छ । पछिल्लो समय युरोप, अमेरिकालगायतका विभिन्न विकशित देशहरुलाई यसले ठुलो असर पारिसकेको छ । नेपाली अर्थतन्त्रमा पनि विशेषगरी पर्यटन, होटल तथा उड्डयन क्षेत्रमा ठुलो असर पारेको छ । यसकै कारण नेपालका होटलको अकुपेन्सी घटेर १० प्रतिशतमा झरेको छ भने वायुसेवा कम्पनीहरुले आफ्ना उडान नै रद्ध गरि ग्राउन्डेड गरेर बस्नुपर्ने अवस्था आएको छ ।
नेपालको मुख्य विदेशी मुद्रा आर्जन गर्ने स्रोत भनेको पर्यटननै हो । यस रोगका कारण नेपाल आउने पर्यटक बन्द नै भएको छ भने त्यसैका लागि खोलिएका होटलहरु बन्द हुने अवस्थामा पुगेका छन् । नेपालको आयात निर्यात व्यापार ठूलो मन्दी आएको छ भने राजस्व संकलनमा समेत ठुलो असर परेको छ ।

नेपाल निर्यातभन्दा आयातमा बढि निर्भर भएको मुलुक हो । विश्वमा आएको कोरोनाको मन्दीले गर्दा हाम्रो मुलुकको अर्थतन्त्रमा ठूलो असर पर्ने स्पस्ट देखिन्छ । आउदा दिनमा नेपालले खाधान्न तथा औषधिजन्य बस्तु उत्पादन गरि आत्मनिर्भर बन्नु पर्दछ । यसप्रकारको चुनौतीलाई अवसरमा बदल्न हामी दृढ भएर अघि बढ्नु पर्दछ ।

नेपाली उद्योगीहरुले नेपालमा उद्योग स्थापना गरेपनि त्यसका लागि आवश्यक कच्चा पदार्थ चीन, भारत लगायत तेस्रो मुलुकबाट आयात गर्दै आएका छन् । अन्य देशमा निर्भर र सानो अर्थतन्त्र भएको नेपालमा अरु देशको अर्थतन्त्रमा असर पर्दा त्यसको प्रभाव स्वत पर्न जान्छ । तर, त्योभन्दा ठूलो मानव स्वास्थ्य हो । अहिले जुन गतिमा विश्वमा कोरोना भाइरसको प्रभाव फैलिएको त्यहि अनुरुप नेपालमा पनि आउने हो भने दर्दनाक अवस्था सिर्जना हुनेछ । जुन विषय अर्थसँग जोडेर हेर्न सकिँदैन ।

यसोभन्दै गर्दा विश्वमा आएको कोरोना भाइरसको असरले नेपाली अर्थतन्त्रलाई थला पार्ने संकेत देखिएको छ । विकास निर्माण तथा नेपाली उद्योगका लागि आवश्यक कच्चापदार्थ अहिले नेपाल भित्रन सकेका छैनन । धेरैजसो उद्योग तथा पूर्वाधार निर्माणका काममा प्रविधि र सिप समेत विदेशी प्रयोग हुँदै आएको छ , जहाँ अहिले विदेशी कामदार आउन नसक्दा कामै ठप्प हुन पुगेको छ । यसले नेपालको निर्माण क्षेत्रमा ठूलो असर परेको छ । तसर्थ विश्वभरी फैलिएपछि यो महामारी नेपालमा नभित्रिएपनि हाम्रो जस्तो सानो अर्थतन्त्र भएको मुलुकलाई ठुलो असर पार्ने हुनाले यसको रोकथामका लागि बेलामै सोच्नुपर्दछ ।

यसकै कारण सरकारले लिएका आर्थिक विकासको लक्ष्य पुरा नुहने स्पष्ट देखिएको छ भने राजस्व उठौती तथा पूर्वाधार निर्माणको काममा पनि सोही अनुरुप नहुने प्रस्ट भैसकेको छ । चैत्र मसान्त नजिकिँदै छ । उद्योगी व्यवसायीले बैंकबाट लिएको कर्जाको व्याज तथा किस्ता बुझाउनका लागि चाप पर्न थालिसकेको छ । यसलाई संवोधन गर्न सरकारले तत्कालै आवश्यक कदम चाल्नु पर्छ । सोका लागि सरकारले उद्योग व्यवसाय क्षेत्रमा परेको असरहरुको अध्ययन गरेर अल्कालिन र दिर्घकालिनखालका विभिन्न प्याकेजहरु सार्वजनिक गर्नुपर्दछ । यस अवस्थामा बैकको व्याज समेत न्युनिकरण गर्नुपर्छ । यसका लागि सरकारले राहतको प्याकेज ल्याउनैपर्छ ।

हामी आम व्यवसायीले पनि राष्ट्रको लागि स्वयंसेवकको काम गर्नुपर्दछ । यो कुनै पनि उद्योगी व्यवसायीले राज्यप्रतिको दायित्व निर्वाह गर्ने समय हो । यसमा सबै एकजुट भएर अघि बढ्नुपर्छ । यदि कसैले यसैलाई अवसरको रुपमा लिएर कमाउ धन्दामा लागेको छ भने तुरुन्त छानविन गरी कारबाहीको दायरामा ल्याउनुपर्छ । यो अवस्था भनेको हामीले मानवता देखाउने र सेवाको भावनाले काम गर्ने समय हो ।

कोरोना भाईरसका कारण विभिन्न देशबाट नेपाल आउने कच्चा पदार्थको आयातमा गिरावट आएको छ । जसको असर नेपाली उद्योगमा परेको छ । यसले गर्दा नेपालमा उत्पादन हुने प्राय वस्तुमा संकुचन सिर्जना भैसकेको छ । यसकै कारण पर्यटन, होटल तथा उड्डयन क्षेत्रमा कामदारलाई तलबै दिन नसक्ने अवस्था सिर्जना भएको छ । उद्योग क्षेत्रमा पनि यसले असर पारेपछि पर्यटन र एयरलाईन्सले गरेजस्तै नियम लगाउनुपर्ने अवस्था आउन लागेको छ ।
यसकै कारण चीनतर्फबाट कच्चा पदार्थ आयात गर्ने केही उद्योगीहरुले आफ्नो उत्पादन बन्द गरिसकेका छन भने आयातनिर्यात व्यापारीहरुको व्यापार समेत चौपट भएको छ ।

त्यसकारण पर्यटन, होटल र उड्डयन क्षेत्रले लागुगरेजस्तै अन्य क्षेत्रमा पनि गर्नुपर्ने अवस्था सिर्जना भएको छ । हामी आयातमुखी अर्थतन्त्रको भरमा मात्रै बस्नु हुँदैन र आत्मनिर्भर बन्न सिक्नुपर्छ । जसका लागि राज्यले आत्मनिर्भर बनाउने खालको नीति अवलम्बन गर्नुपर्छ भने निजी क्षेत्रले पनि त्यसमै हातेमालो गरेर अघि बढ्नुपर्छ । यसले नेपाललाई आत्मनिर्भरतर्फ उन्मुख गर्छ भने नेपालको अर्थतन्त्रलाई मजबुद बनाउन ठूलो सहयोग गर्नेछ । यदि हामी अत्यावश्यक बस्तुमा आत्मनिर्भर हुन सकेमा दवाववाट मुक्त हुनेछौ । हामीकहाँ जडिबुटी लगायतका प्राकृति औषधिजन्य कच्चा पदार्थहरु प्रशस्तै छन । त्यसैलाई प्रोसेसिङ तथा उत्पादनगरी आन्तरिक खपत तथा निर्यात गर्नुपर्छ ।

यदि अहिले जुन रुपमा कोरोनाको संक्रमण विश्वभर द्वूत गतिमा फैलिएको छ यस्तै अवस्था रहीरह्यो भने विश्व नै संकटमा पर्छ । विश्व नै संकटमा परेपछि नेपाल कहाँबाट चुक्ला र ? तर नेपालले आत्मबल बढाउने र यस्तो चुनौतिलाई अवसरको रुपमा लिनुपर्दछ । हामी अब विगतमा जस्तै रमाएर बस्ने समयको अन्त्य भएको छ, आफै उत्पादन गरेर आफै पैसा कमाउनतिर लाग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL