Logo

‘फेक नाम’मा सेयर कारोबार गर्ने क्रम बढ्यो, बोर्डको निगरानीमा ब्रोकर कम्पनी

‘फेक नाम’मा सेयर कारोबार गर्ने क्रम बढ्यो, बोर्डको निगरानीमा ब्रोकर कम्पनी



काठमाडौं । पछिल्लो समय फेक नाम (अर्काको नाम) मा सेयर कारोबार गर्ने क्रम बढेको छ । सेयर बजारमा बास्तविक व्यक्तिभन्दा पनि अर्केको नाममा डिम्याट खाता खोली सेयर कारोबार गर्ने क्रम बढेको हो ।

विशेष गरी पछिल्लो समय ब्रोकरहरुले नै अन्य कुनै अमुक व्यक्तिको नाममा डिम्याट खाता खोली सेयर कारोबार गर्ने क्रम बढेको उच्च स्रोतले जानकारी दिएको छ । कानुनतः ब्रोकरहरु आफैले सेयर खरिद गर्न पाउँदैनन् । तर, बजारबाट उच्च लाभ लिनका लागि ब्रोकरहरुले कुनै अमुक व्यक्तिको नाममा डिम्याट खाता खोली सेयर कारोबार गर्ने क्रम बढेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

केही समय अघि पनि ब्रोकरले फेक नाममा सेयर कारोबार गरेको जानकारीमा आएको र अहिले पनि सो सम्बन्धमा अनुसन्धान भइरहेको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । ‘पहिलो पनि ब्रोकरले कुनै अमुक व्यक्तिको नाममा सेयर खरिदबिक्री गरेको जानकारीमा आएको थियो,’ उनले भने, ‘सो सम्बन्धमा बोर्डले अनुसन्धान गरिरहेको छ ।’

सेयर बजारमा ब्रोकरको कामलाई पारदर्शी बनाउनकै लागि पछिल्लो समय धितोपत्र नियमावली नै परिवर्तन गरी ब्रोकरलाई स्टक डिलर गर्न दिइएको गिरीले जानकारी दिए । ‘ब्रोकरहरुले अपारदर्शी काम गरेभन्ने गुनासोको आधारमै उनीहरुलाई पारदर्शी बनाउन स्टक डिलरको जिम्मा दिएका हौं,’ उनले भने ।

पछिल्लो समय पनि फेक नाममा बढी सेयर कारोबार भइरहेको भन्ने गुनासोको आधारमा छानविन प्रक्रिया अघि बढाएको बोर्ड स्रोतले जानकारी दिएको छ । ‘विशेषगरी पछिल्लो समय भएको ठूलो कारोबारलाई लिएर बोर्डले छानविन प्रक्रिया अघि बढाएको छ,’ बोर्ड स्रोतले भन्यो, ‘यदि कुनै ब्रोकर कम्पनीले कुनै अमुक व्यक्तिको नाममा सेयर खरिदबिक्री गरेको पत्ता लागेमा हँदैसम्मको कारबाही गर्नेछौं ।’

केही समयअघि दैनिक पौने २ अर्ब रुपैयाँसम्मको सेयर कारोबार हुँदा फेक नाममै बढी कारोबार भएको भेटिएको सम्बद्ध स्रोतले जानकारी दिएको छ । विशेषगरी दोहोरो नागरिकताधारी र ब्रोकरकै मिलेमत्तोमा फेक नाममा बढी कारोबार भइरहेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL