बक्यौता नतिर्नेको सेवा बन्द हुन्छ, ‘कम्प्रमाइज’ हुँदैन

raj-kumar-chetri

भनिन्छ, विमानस्थल कुनै पनि देशको ऐना हो । पर्यटक हुन् या जोकोही नयाँ देशमा प्रवेश गर्नासाथ त्यो देशबारे पहिलो धारणा बनाउने काम विमानस्थलबाटै हुन्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नेपालको एक मात्र अन्तरराष्ट्रिय विमानस्थल हो । बर्षेनी लाखौं हवाई यात्रु ओहोरदोहोर गर्ने देशको एउटा मात्र सेतु । तर, भीडभाड, अव्यवस्थापन, फोहोर र गन्जागोल र साँघुरो संरचनाका कारण यो विमानस्थलबारे आम यात्रुको सकारात्मक प्रतिक्रिया खासै रहँदैन । यद्यपि यो विमानस्थलमा सुधारका सामान्य प्रयास पनि आम चासोको विषय बन्न थालेको छ । विमानस्थलको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल नागरिक उड्ययन प्राधिकरणले त्यसको लागि महाप्रबन्धकका रुपमा राजकुमार क्षेत्रीलाई खटाएको छ । बुटिक विमानस्थलको चर्चा अघि सारेर क्षेत्री अहिले त्यसकै तयारीमा जुटिरहेको बताउँछन् । विमानस्थलका कमजोरीदेखी सुधारका प्रयासका तिनै विषयमा बिजखबरका राङडोल लामाले गरेको कुराकानी :

आम यात्रुको गुनासोका कारण चर्चामा रहिरहने एक मात्र अन्तरराष्ट्रिय विमानस्थल पछिल्लो समय केही सुधारका प्रयासले पनि चर्चामा छ । सुधारको प्रयास अहिले कहाँ पुग्यो ?

सुधार भन्ने कुरा कहिल्यै पनि अन्त्य हुँदैन, यो निरन्तर भईरहने कुरा हो । अहिले चाहीं हामीले अप्रिल १ तारिखबाट विमानस्थल रनवेको ‘रिह्याबिलिटेशन’को काम सुरु गरेका छौं । यो भनेको धावनमार्गको सम्पूर्ण सामग्री निकालेर नयाँ हाल्ने हो । ७० बर्षको इतिहासमा अहिलेसम्म यो काम भएको थिएन । दोस्रो कुरा रनवे सँगसँगै ट्याक्सी वेको पनि मर्मत सुधार गर्दै छौं ।

दोस्रो हामीले स्ट्रायल जोन, जुन हाम्रो अहिले जहाज चढ्ने र आउने भाग हो त्यो सानो भएको थियो । त्यसलाई नयाँ बनाउँदै छौं, पहिलेभन्दा ठूलो बनाउँदै छौं । १४ सय यात्रु प्रति घण्टा क्षमताको स्ट्रायल जोन बनाउँदै छौं । अहिले हामीसँग ४ ओटा कन्भेयर बेल्ट छ । त्यसलाई मर्मत गर्दै छौं । त्यस पछि हामीले अबको ४ महिनादेखी ६ महिनाभित्र नयाँ २ ओटा कन्भेयरबेल्ट थप्ने तयारी गरेका छौं ।
त्यस्तै ६ महिना भित्र हामीले डिपार्चरमा विदेशमा जस्तो काउन्टरमा नै आएर सुरक्षा दिएर स्क्रीन भएर जाने कन्भेयर बेल्ट राख्ने तयारी समेत गरेका छौं ।

अबको ४ महिनाभित्रमा ४ ओटा नयाँ पार्किङ वे जहाँ एयरबस ३२० मोडलका ६ ओटा जहाज राख्न सक्ने स्थान बनाउँदै छौं । अरु सजावटको कुरा, बुटिक एयरर्पोटमा सम्माननीय प्रधानमन्त्रीको जुन सोंच छ त्यसलाई आत्मसाथ गरेर बुटिक एयरर्पोटमा हामीले केके गर्न सक्छौं त ? जस्तो सिलिकन पेन्टदेखी लिएर अस्ति भर्खरै हामीले नेपालको एक सिंगे गैडा चिनारीको रुपमा स्थापना गरेका छौं । त्यस्तै अरु काम पनि गर्दै गइरहेका छौं । अबको एक वर्षदेखी डेढ बर्ष भित्र यी कुराहरुले काठमाडौं विमानस्थललाई विगत भन्दा धेरै राम्रो बनाउने छ भन्ने मैले विश्वास लिएको छु ।

तपाईले जिम्मेवारी लिएयता भएका सुधारहरु बताइदिनु होस् न ?

हाम्रो शौचालयनै हेरी नसक्नुको दुर्गन्धित थियो । त्यसलाई मैले रिनोभेट गर्ने नयाँ बनाउने, सफा बनाउने काम गराएँ । त्यसपछि एयरकन्डिसननै थिएन । सेन्ट्रल एसीको व्यवस्था गरें । बस्ने कुर्सी थिएन त्यो पनि व्यवस्था गरें । मार्बल फोहोर भएर हेरी नसक्नुको थियो, मैले कार्पेट लगाईदिएँ ।
त्यसपछि जहाँ जहाँ फोहोर फाल्ने डम्पिङसाईट बनाएका थिए त्यो बेला मैले सबै हटाएर सेल्फी पोईन्ट बनाई दिएँ । अर्को कुरा भनौं यहाँलाई, आगमनतर्फको एक्सीलेटर भर्याङमुनी जहाँ फोहोर फाल्ने गरिन्थ्यो त्यस्लाई समसमायीक चाडबाड अनुसारको सजावट गर्ने बनाएको छु ।

रंगरोगनदेखी लिएर अध्यागमनमा कसरी सहुलियत हुन्छ, कसरी छिटो छरितो हुन्छ यी कुराहरु बनायौं । अर्को एउटा कुरा व्यवस्थित रुपमा हाम्रो पार्किङ थिएन, पार्किङलाई व्यवस्थित गरेका छौं । आन्तरिक विमानस्थलमा पनि न बस्ने ठाउँ न शौचालय यस्तो अवस्थामा थियो । अहिले यी सबै कुरालाई व्यवस्थित गरेर यो रुपमा आएको छ, अझै हामी निरन्तर प्रयासमा छौं ।

कतिपय सुधारका कामहरु क्षणिक जस्ता मात्र भए भन्ने पनि आरोप छ नि ?

जस्तै, कुनै पनि एउटा मात्रै भए पनि मलाई उदारहण दिनुहोस म त्यस्लाई आत्मसाथ गरेर गल्ती सुधार गर्ने छु । त्यस्तो छैन । मैले पटक पटक मेरो निकायलाई के भनेको छु भने, तपाईहरुले गरेको कामको दिर्घकालीन असर हुनु पर्छ, क्षणिक होईन । शौचालय एक दिन सफा गरेर हुन्छ र ? सम्भव नै छैन, सधैं सफा गर्नु पर्छ । कुर्सी, एसी लगायतका कामहरु एक दिन राखेर हुँदैन त्यसैले त्यो कुरा चाहीं गलत जस्तो लाग्छ मलाई । र मलै अझै विकास गर्दै जाने छु । सुविधाहरु क्रमिक रुपमा विस्तार गर्ने छु ।

बुटिक विमानस्थल निर्माण गर्ने भन्ने कुरा पनि आमचासोको विषय बन्यो । यो भनेको कस्तो विमानस्थल हो ?

खास गरी मैले बुझेको बुटिक एयरर्पोट भनेको ‘स्मुथ अप्रेशन’ र ऐतिहासिकता झल्कने किसिमको हो । जस्तै म सानो उदारहण दिन्छु । हुन त हाम्रो विमानस्थल विगतमा पनि बुटिकको रुपमा नै छ । चाईनिज इट्टाले बनेको यस्तो सजावट संसारमा कहिँ छैन । ठूला ठूला आर्मेचर, सिसाका रुप पाउनु हुन्छ तर यस्तो पाउनु हुन्न । त्यसैले यो एउटा आफैमा बुटिक हो ।

जस्तो मैले भनौं, हामीले आगमनमा अतिथि देवो भवःका लागि १० ओटा गमला, गाग्रो राखेर फुल राखेर हामीले स्वागत गर्ने गरेका छौं । गरुडको मूर्ति राखेर स्वागत गरेका छौं । जुन त्यो संसारको कुनै पनि विमानस्थलमा पाउँदैनौं त्यो नै एउटा बुटिक एयरर्पोटको सुरुवात हो, अवधारणा हो ।
त्यस्तै अब हामीले मूर्तिहरु राख्दैछौं । अस्ति भर्खरै एक सिंगे गैंडा राख्यौं । नयाँ ‘केनोपी’ गर्दै छौं । यी कुराहरुले चाहीं हामीलाई राम्रो गरे जस्तो लाग्छ ।

बैशाखबाट बुटिक विमानस्थल घोषणा गर्ने भन्नु भएको छ । त्यस्का लागि बुटिक विमानस्थल बनाउनेतर्फ भएका प्रयासहरु के के हुन् ?

बुटिक विमानस्थलको लागि चाहीं अहिले साँढे ७ करोड रुपैयाँ निकासा भएको छ । त्यसको धेरै कुराहरुको टेण्डर पनि भएको छ । त्यसपछि दिर्घकालीन रुपमा अरु कामहरुको पनि हामी गर्नेवालामा छौं । त्यसकारण अहिले तत्काललाई भन्नुहुन्छ भने मैले सरसफाईमा ध्यान दिएको छु । सिलिकन पेन्टहरु गरीरहेका छौं । जतिसक्दो हामीले जे जे गर्न सकिन्छ त्यो गरेका छौं । तर यो भनेको क्षणिक समय हो दिर्घकालीन रुपमा मैले पुनः दोहोर्याउन चाहें एक वर्ष पछि तपाईले यो विमानस्थलको केही स्वरुप परिवर्तन भएको देख्न सक्नुहुनेछ ।

विमानस्थल २२ घन्टा सञ्चालनमा आएपनि खासगरी होल्ड हुने समस्या अझै उत्तिकै रहेको यात्रुहरुको भनाई सुनिन्छ । समय बढाउँदा पनि खास प्रभावकारी किन हुन नसकेको ?

पहिलो कुरा के छ भने उहाँहरुले एउटा कुरा के हेक्का राख्नु पर्छ भने हाम्रो काठमाडौं विमानस्थल भनेको पहाडले घेरेको र बीचमा रनवे छ । अरु देशभन्दा यहाँ केही समय बढी लाग्नु स्वभाविक हो । दोस्रो कुरा अहिले राती १० बजे देखी विहान ८ बजे सम्म हाम्रो विमानस्थल बन्द गराएर रिह्याबिलिटेशन गर्दैछौं । त्यो समयका उडानलाई पनि हामीले दिउँसो व्यवस्थापन गरेका छौं । त्यस कारण केही होल्ड हुनु स्वभाविक हो । तर विगतमा जस्तो डेढ घण्टा दुई घण्टा होल्ड भएको कसैले भन्छ भने म मान्न तयार छैन ।

आन्तरिक टर्मिनल सञ्चालनको समय पनि बढेको छ । यसका प्रत्यक्ष फाईदा के छन् ?

आन्तरिक टर्मिनलको समय बढेकाले यात्रुहरुले फाईदा पाउनुभएको छ । जस्तै पहिले ६ बजे आएर ७ बजे जहाज उड्थ्यो भने अहिले ५ बजे आएर ६ बजे जहाज उड्छ । हिजो कन्जेशन हुन्थ्यो भने आज कन्जेशन छैन । समय बढे पछि सुविधा बढे पछि सबैलाई सुविधा हुन्छ नि ।

पार्किङको क्षमता विस्तारका सन्दर्भमा कस्तो प्रगति भइरहेको छ ?

हाम्रो रिमोट पार्किङ भनेर जुन हामीले बनाउँदै छौं, केहि दिनभित्र त्यसको ढलान सकिन्छ । अबको एक महिना भित्र कम्तिमा पनि हामीले दुईओटा एयरबस ३३० जहाजलाई राख्न सक्ने गरी पार्किङ तयार गर्न सक्छौं । त्यो पनि काम सकिसकेको छ, त्यसलाई २८ दिन चैं कुलिङ पिरियडमा राख्नु पर्ने हुन्छ । त्यो पिरियड पछि हामीले २ ओटा एयरबस ३३० अथवा दुईओटा एयरबस ३२० र एउटा एटिआर ७२ राख्न सक्छौं । त्यसको अर्को ३ देखी ४ महिना भित्र हामीले अर्को दुईओटा पार्किङमा एयरबस ३२० तीनओटासम्म राख्ने बनाउँदै छौं । किन भने पार्किङ वे को काम पनि तिब्र गतिमा चलिरहेको छ ।

कुनै समय विमानस्थललाई तिर्नुपर्ने बक्यौताको विषय पनि सञ्चार माध्यममा निकै बहसको विषय बन्यो । त्यस अनुसार बक्यौता उठाउन त सक्नुभएन नि ?

बक्यौता रकमको कुरा गर्दा सबैभन्दा बढी बक्यौता रकम भनेको भन्सार विभाग र नेपाल वायुसेवा निगमको हो । अब एउटा कुरा के छ भने भन्सार भनेको सरकारी निकाय हो । हामीले नेपाल सरकारको निकायलाई अनुरोध मात्रै गर्न सक्छौं हामीले बन्द गर्न सक्दैनौंं । त्यस्तै निगमको बक्यौता रकम भनेको ५५ करोड रुपैयाँबाट ३४ करोड रुपैयाँमा झरेको छ । त्यो पनि घट्दै गएको छ । राष्ट्रिय ध्वजाबाहकलाई पैसा तिरेन भन्दै बन्द गर्न गाह्रो हुन्छ । तर हामीले पटक पटक उहाँहरुलाई भनेका कारण पैसा तिरिराख्नु भएको छ । म आईसके पछि मैले विगतको ५५ करोड रुपैयाँ प्लस बक्यौता रकम उठाईसकेको छु ।

मेरो पालाको धेरै बक्यौता रकम भनेको हिमालय एयरको हो । त्यसमा पनि मैले पटक पटक भनेको छु तपाईहरुलाई म कारवाही गर्छु भनेर । उहाँहरुले अब पनि समयमै तिर्नुभएन उहाँहरुको जहाज रोकिदिन्छु । मैले बक्यौतामा कुनै कम्प्रमाईज गरेको छैन उठाईरहेको छु । अर्को कुरा रसुवाकेडी जुन तल पार्किङ बनिरहेको छ त्यसलाई पनि मैले हेरिरहेको छु । उहाँलाई मैले सोमबार पनि भनेको छु । उहाँहरु पैसा तिर्न तयारी अवस्थामा हुनुहुन्छ केही कुराले गर्दा उहाँहरु रोकिनुभएको छ । तर उहाँहरुले तिर्नु हुन्छ भन्ने मलाई विश्वास छ ।

विमानस्थलबाट पटक पटक सुन तस्कर भईरहेको खबर आईरहन्छ । तर यसलाई किन रोक्न नसकिएको ?

एउटा कुरा के हो भने सुन काण्ड रोक्ने निकाय भनेको नितान्त नेपाल प्रहरीको हो, कस्टम हो हामी होईन । तपाईलाई एउटा कुरा हेक्का हुनु पर्छ यो एयरर्पोटमा ७० ओटा अरु निकाय पनि छन । त्यसकारण हामीले सुझाव मात्रै दिन सक्छौं त्यो निकाय हाम्रो अधिकारमा रहँदैन ।
तर मैले बुझे अनुसार सुरक्षा बैठकमा पटक पटक यो कुरा पनि उठाएको छु । विगतमा भन्दा अहिले धेरै सुधार भएको छ । अझै केही कमि कमजोरी छश तपाईहरुले सुधार्नुहोस तपाईहरुले रोक्नुहोस भनेर मैले भन्ने गरेको छु । तर मैले उहाँहरुलाई निर्देशन दिन मिल्दैन मैले एउटा सुझाव दिने हो त्यो मैले दिईराखेको छु ।

प्राधिकरणको महानिर्देशकमा पनि तपाईको नामको चर्चा सुनिन थालेको छ नि ?

पहिले त तपाईले नै भन्नुहोस न महानिर्देशक बनुँ कि नबनु । दोस्रो कुरा मैले अहिलेसम्म प्रयास नै गरेको छैन । तेस्रो कुरा मैले महाप्रबन्धक भएर विमानस्थलमा राम्रो काम गरेको छु कि छैन मूल्याङ्कन गर्ने जिम्मा आम जनताको हो । त्यसपछि मलाई तपाईहरुले भनिदिनोस म के गरौं म गर्छु । तर मैले अहिलेसम्म प्रयास गरेको छैन ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status