Logo

अब त मैले चाहेर पनि साथीहरुले उपाध्यक्षबाट पछि हट्न दिनुहुन्न

अब त मैले चाहेर पनि साथीहरुले उपाध्यक्षबाट पछि हट्न दिनुहुन्न


बिजखबर संवाददाता
27
Shares

गलैंचा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने बस्तुमा पर्छ । निर्यात व्यापारको उतारचढावबीच पनि नेपाली गलैंचाको अन्र्तराष्ट्रिय पहिचान बलियो नै छ । त्यहिं गलैंचा निर्यातको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका उद्योगी हुन अनुपबहादुर मल्ल । नेपाल काङ्ग्री कार्पेट्सका कार्यकारी निर्देशक उनै मल्ल यसपटक नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी साधारणसभामा बस्तुगततर्फको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दाबी गर्दैछन् । कुनै पनि अवस्थामा आफ्नो उम्मेदवारी फिर्ता नलिने सोंचाइमा रहेका मल्लसँग बिजखबरका प्रमुख संवाददाता रामराजा श्रेष्ठले यस्तो कुराकानी गरेका छन् ।

बस्तुगततर्फको उपाध्यक्षमा सबैभन्दा पहिला प्यानलसहित उम्मेदवारी घोषणा गर्नु भएको थियो । अहिले तयारी कस्तो छ ?

हामीले घोषणा गर्दा अन्य साथीहरुको उम्मेदवारीको विषयमा कुनै कुरा आएको थिएन । तर, त्योभन्दा पहिला हाम्रो ग्रूपलाई एक ढिक्का बनाउने हो भने आन्तरिक रुपमा मत संकलन गरौं र त्यसको आधारमा उम्मेदवारी दिऔं भनेर प्रस्ताव राखेको थिए । यदि त्यसो भएको भए अहिले विभिन्न गुट उपगुट जन्मदैन्थ्यो । तर, मैले राखेको प्रस्तावलाई साथीहरुले ठाडै अस्वीकार गर्नुभयो । जसले गर्दा मैले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेको हुँ ।

अब चुनाव आउनदुई हप्ता जति मात्र बाँकी छ । यो अवस्थामा हाम्रो तयारी एकदमै द्रुत गतिमा अघि बढेको छ । बस्तुगततर्फ सम्पूर्ण टीम सहित जित्ने तयारीका साथ अघि बढिरहेका छौं । चुनाव भनेको व्यवस्थापनको विषय हो त्यसमा हामी एकदमै चुस्तदुरुस्त छौं । चुनाव भीड र हुलको दस्ता देखाएर मात्र हुँदैन जित्नका लागि प्रतिबद्ध साथीहरु चाहिन्छ । जितको नजिक अहिले नै पुगिसकेका छौं अबका दिनका अझै सशक्त रुपमा अघि बढ्नेछौं ।

anup-bahadur-malla-nepali-carpets

आन्तरिक रुपमा प्रतिस्पर्धा भन्नुको मतलब ?

चुनावमा उम्मेदवारी दिनुभन्दा पहिला सम्भावितमध्ये आन्तरिक प्रतिस्पर्धा गराउनु विश्वव्यापी मान्यता हो । चुनाव उठ्ने चाहना र उठ्नका लागि छनौट हुनु फरक विषय हो । अघिल्लो चुनावमा बस्तुगत तर्फ ८७ भोट खसेको थियो जसमा मैले ६७ मत सुरक्षित गरेको थिए । टीममा जो पपुलर छ त्यो नै उम्मेदवार हुने हो । महासंघमा चार कार्यकाल कार्यसमिति भएर काम गरे । निर्यात प्रवद्र्धन समितिलाइ महासंघ भित्र रहेर एक तहमा पुर्याएको छु भने अन्य थुप्रै काम गरेको थिए । सोही आधारमा टीमभित्र आन्तरिक रुपमा मतदान गरौं जसले बढी मत पाउँछ उही चुनावी प्रतिस्र्धामा जाऊ भन्ने हो ।

टीम भन्नाले कुन प्यानललाई भन्नु भयो ?

पूर्व अध्यक्षहरुको आआफ्नो हठका कारण महासंघ लामो समयदेखि दुई धारमा विभाजित हुँदै आएको छ । त्यसमध्येको मेरो टीममा २–३ जनामहत्वाकांक्षी हुनुहुन्थ्यो । अहिले पनि पूर्व अध्यक्षहरु छुट्टा छुट्ै उम्मेदवार बोकेर चुनावी मैदानमा होमिनु भएको छ । महासंघभित्र बस्तुगत संघलाई पूर्व अध्यक्षहरुको हात समातेर हिड्नुपर्ने जरुरी छैन र उहाँहरुले डोर्याएको ठाउँमा जानुपनि पर्दैन । व्यापार र उत्पादनमुलक क्षेत्र सबै समेटेर क्षेत्रगत रुपमा अध्यक्ष भएर आउनुभएका साथीहरुले नेतृत्व चुन्ने हो । पहिला नै संस्था हाकेर आएका व्यक्तिले नेतृत्व चुन्न अरुको साथ लिनु पर्दैन । सर्बसहमतिमा जाउ भनेर सबै साथीहरुलाई अपिल गरे तर उहाँहरुले नमाने पछि गुटभन्दा बाहिर आएर उम्मेदवारी दिएको हुँ ।

यसको मतलब आफुलाई महासंघमा सक्षम देखाउनका लागि पनि स्वतन्त्र रुपमा चुनावी प्रतिस्पर्धामा आउँदै हुनुहुन्छ ?

पक्कै पनि । यो मेरा लागि परीक्षा पनि हो । यो चुनावले मेरो क्षमताको जाँच गर्नेछ । यदि मैले स्वतन्त्र रुपमा साथीहरुको मन जितेर चुनाव जित्न सक्छु भने पूर्व अध्यक्षहरुको हात किन समाउने ? उहाँहरुको शरणमा किन जाने ?महासंघमा परम्परा नै यस्तो छ कि स्वतन्त्र रुपमा उठ्ने बित्तिकै चुनाव जित्न सक्दैन । सधै प्यानल खडा गरिन्छ । तसर्थ महासंघभित्र देखिएको गुटको राजनीति अन्त्य गर्न दुबै प्यानलमा नबसी बस्तुगतको छुट्टै स्वतन्त्र टीम बनाएर आएको हुँ । मलाई विश्वास छ, साथीहरुले योग्यता र क्षमताको कदर गर्नुहुनेछ ।

दुईपक्षका उम्मेदवार प्यानलबाट आइरहँदा स्वतन्त्र रुपमा उठ्दा चुनाव जित्न सकिन्छ ?

बस्तुगतमा प्यानलले भोट दिने होइन । हामीलाई प्यानलको भोट आउँदैन यसमा बस्तुगत क्षेत्रको बस्तुगतकै साथीहरुले मात्र मतदान गर्ने हो । प्यानल देखाउने दाँत मात्र हो यसको कुनै अर्थ रहँदैन । हामीलाई बस्तुगततर्फका ९९ वटा संघले मात्र मतदान गर्ने हुन । यो क्षेत्रमा सबै साथीहरुलाई समेटेर अघि बढेको छु जसले गर्दा नतिजा मेरो पक्षमा आउनेछ ।

आफ्नो टीम चाहिँ कसरी बनाउँदै हुनुहुन्छ ?

शुरुका दिनमा प्यानल सहित घोषणा गरे । मिडियामा साथीहरुको नाम आएपछि अन्य गुटले ती साथीहरुलाई तान्ने काम भयो । त्यतिबेला हामीले सेक्रेट राखेको भएपनि हुन्थ्यो तर हामीले हिम्मतका साथ ११ जनाको टीम घोषणा गर्यौं । त्यतिबेला टीममा आएका साथीहरुलाई विभिन्न प्रलोभन देखाएर तान्ने काम भयो । उहाँहरुलाई पनि अनुप मल्लको टीममा बस्दा जितिदैन भन्ने भान भएको हुन सक्छ । त्यतिबेला मेरो टीम छाडेर जानुभएका साथीहरु पनि अहिले फर्किरहनु भएको छ । टीममा थोरै प्रतिबद्ध साथीहरुबीच सहकार्य गरेर अघि बढिरहेका छौं । पछिल्लो समय महत्वपूर्ण र नयाँ बस्तुगत संघका साथीहरु भित्रने क्रम बढिरहेको छ ।

तपाइको टीममा अहिले को को हुनुहुन्छ ?

नाम लिने बित्तिकै भटाभट साथीहरु तान्नका लागि लागिहाल्नुहुन्छ । हामीले पहिला एउटा कार्ड स्वरुप टीम सहित उम्मेदवारी घोषणा गरेका थियौं । तर अबका दिनमा त्यसरी नाम प्रचार गर्दै हिड्दैनौ । आन्तरिक रुपमा टीम निर्माण गरिरहेका छौं । अहिले प्रतिबद्ध र ससक्त साथीहरुको आबद्धता छ ।अहिले भएका साथीहरु कसैको प्रलोभनमा नपर्ने साथीहरु हुनुहुन्छ । पहिला हाम्रो टीममा भएर अन्त गएका साथीहरु फेरी फर्कने क्रम जारी छ । को को कसरी चुनावमा आउछ भन्ने कुरा हाम्रो टीममा सबैलाई थाहा छ । सदस्यसाथीहरुको नाम चाहिँ अन्तिम समयमा मात्र घोषणा गरिनेछ ।

त्यसो भए तपाइ उपाध्यक्षको उम्मेदवारबाट पछि हट्ने सोंचाइ छैन ?

यसमा कुनै दुविधा छैन । म सबैभन्दा पहिला उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा आएको व्यक्ति हुँ । चुनाव आउन अझै समय बाकी छ । यो अवस्थामा अन्य प्रतिस्पर्धी साथीहरुले मलाई सहयोग गरेर पनि अघि बढ्न सक्नुहुनेछ । पछिल्लो समय मेरो टीम झनझन बलियो हुँदै गएको छ । अबका दिनमा मैले छोड्न चाहेपनि टीमले दिँदैन । यदि अघि नै सहमतिको प्रयासमा साथीहरु आउनुभएको भए केही लचिलो हुन सकिन्थ्यो । तर अहिले म धेरै टाढा पुगिसकेको छु फर्कन सक्ने अवस्था नै छैन । अहिले चुनावी प्रतिस्पर्धामा आउने साथीहरुमध्ये म सबैभन्दा सिनियर र महासंघ भित्रै रहेर पनि बढी योगदान दिएको व्यक्ति हुँ । त्यसको लागि महासंघमा रेकर्ड छ ।

सहमतिको कुरा पनि उठिरहेको छ नि ?

के कुरामा सहमति गर्ने ? सहमति गर्नका लागि कारण पनि चाहियो नि । मैले छोड्दा मात्र सहमति हुने हो र ? बस्तुगतका अन्य उपाध्यक्षको उम्मेदवारको तुलनामा मैले छोड्नुपर्ने कुनै कारण छैन । सबै कुरामा म अघि छु ।

बजारमा यस्तो हल्ला छ कि अनुप मल्ल अन्य प्यानलमा मिल्न सिटमा बार्गेनिङ गर्दै छ ?

यो सरासर गलत हो । त्यो मलाई कमजोर बनाउन चलाइएको अनावश्यक हल्ला हो । अहिले म होइन अन्य प्यानलका साथीहरु चाहिँ मसँग छलफल गर्न दैनिक रुपमा आइरहेका छन् । मैले एकपटक पनि अन्य प्यानलमा गएर मिल्नुपर्छ भनेर छलफल गरेको छैन र त्यस्तो सोच पनि बनाएको छैन । तर, उहाँहरुबाट विभिन्न प्रस्ताव आइरहेको छ । त्यो उहाँहरुको चाहना हो तर चाहना हुँदैमा सबै सम्भव हुँदैन ।

यदि मेरो अवस्था बलियो छैन भने किन स्वतन्त्र रुपमा चुनावमा गैरहेको छु ? मैले अन्य प्रतिस्पर्धीसँग सीटमा किन बार्गेनिङ गर्ने । सीटमा बार्गेनिङ भन्नुको अर्थ सदस्यमा होला । मैले सदस्यमा बार्गेनिङ गरेर उपाध्यक्ष पद चाहिँ खोइ त ? यो अन्य प्रतिस्पर्धी साथीहरुले आफु सुरक्षित नभएपछि बजारमा फिजाएको हल्ला मात्र हो त्यसमा कुनै सत्यता छैन । महासंघमा सुधारका काम गर्न कसैको आर्शिवादबाट होइन स्वतन्त्र रुपमा आउने हिम्मत गरेको हुँ । अनुप मल्लले कुनै पनि हालतमा चुनाव उठेर जितेर देखाउने छ । यसले महासंघको परम्परामा नयाँ अध्याय शुरु गर्दै पूर्व अध्यक्षहरुको गुट उपगुटलाई अन्त्य गर्नेछ ।

के महासंघमा अब राजनीतिका हाबी भएकै हो त ?

त्यसको ज्वलन्त उदाहरण अहिलेकै गुट उपगुटलाई हेर्दा हुन्छ । पूर्व अध्यक्षहरु कहिले कसलाई बसाल्ने कहिले कसलाई बोक्ने काम गर्दै हुनुहुन्छ । महासंघभित्र ध्रु्रविकरण देखिएको छ । जसले महासंघलाई कमजोर बनाउँदै लगेको छ । महासंघमा आफ्नो स्पष्ट धारणा राख्ने र अरुको पछि नलाग्ने भएकै कारण साथीहरुले मलाई मन पराउनु भएको छ । राजनीति हाबी हुँदा कसैको दयामायाबाट आएका व्यक्तिले सुधारका काम गर्न सक्दैनन् । महासंघभित्र देखिएको ध्रुविकरण रोक्नकै लागि स्वतन्त्र रुपमा आएको छु ।

महासंघमा लामो समय बसेर काम गरेको व्यक्ति अब उपाध्यक्षको लागि के एजेन्डा लिएर चुनावी मैदानमा आउनु भएको छ ?

बस्तुगत परिषद्मा पछिल्लो समय धेरै परिवर्तन आएको छ । तर, यसलाई अझै परिमार्जन गर्नु जरुरी छ । बस्तुगतमा उत्पादन, सेवा र व्यापार क्षेत्र रहेका छन् । बस्तुगत परिषद्मा १४ जना सदस्यहरुले प्रतिनिधित्व गर्नुहुन्छ । त्यसमा सबै क्षेत्रलाई समेटेर ल्याउँदै छौं । महासंघमा आफु नजिकको वा आफुले भनेको मान्ने व्यक्तिलाई अघि सार्ने काम भइरहेको छ । तर मैले हाम्रो भन्दा पनि राम्रोलाई प्राथमिकता दिएर अघि बढेको छु । यस्तै बस्तुगत परिषद्लाई केन्द्रिकृत गरिएको छ । तर मैले बस्तुगत परिषद्का साथीहरुलाई जिम्मेवार बनाएर विकेन्द्रिकृत गरेर अघि बढ्ने छु ।

anup-bahadur-malla-nepali-carpets-director

महांघमा १२ वर्ष बस्दा के सुधार गर्नु भयो त ?

विशेषगरी निर्यात क्षेत्रमा धेरै सुधार गरे । निर्यातमा इन्सेन्टिभको व्यवस्था मैले नै गरेको हँुँ । निर्यात प्रवद्र्धनको लागि पुर्नकर्जाको व्यवस्था, जिल्लाजिल्लामा सम्बन्धित बस्तुहरुको विकासको लागि सार्वजनिक निजी अबधारणा अन्तरगत छलफल शुरु गरे भने एनटीआईएस २०१० मा तुलनात्मक लाभ भएका नेपाली उत्पादनहरुको पहिचान गर्न मेरो समितिले ठूलो योगदान दिएको छ । इन्टरनेशनल टे«ड कमिटिको सहकार्यमा सुधारका धेरैकाम गरेका छौं । मेरो कामको बारेमा महासंघको रेकर्ड नै काफी छ । त्यसैबाटछट्याउन सकिन्छ कि को बढी सक्षम छ ।

तपाई महासंघमा विभिन्न उद्योग व्यापार व्यवसायको प्रतिनिधित्व गर्ने बस्तुगत परिषद्भित्र रहेका १२ वर्ष काम गरेको व्यक्ति । देशमा उद्योग कलकारखाना विकासका लागि मुख्य समस्या के रहेछन् ?

मुख्य विषय त राजनीतिक अस्थिरता नै हो । यसमा राजनीति इच्छाशक्तिको पनि ठूलो भुमिका रहन्छ । वातावरणमा विविधता रहेको नेपालमा सम्भावनाको क्षेत्र ठूलो छ । ऊर्जा, पर्यटन, निर्यात, खानी, अर्गानिक कृषि तथा जेम्स तथा स्टोनको ठूला सम्भावना छ । खानीको उत्खनन् हुन सकेको छैन भने कृषि जन्य बस्तु निर्यातका लागि परीक्षण गर्न ल्याव छैन । जबसम्म देशमा राजनीति अवस्था सुधार हुँदैन तबसम्म उद्योग कलकारखानाको विकास सम्भव छैन । तर, पछिल्लो समय विषयमा क्रमिक रुपमा सुधार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL