Logo

प्रतिनिधि सभामा सांसदहरूको दाबी, सेयर बजारमा कालोधन भित्रदा नेप्सेले गति लिन सकेन

प्रतिनिधि सभामा सांसदहरूको दाबी, सेयर बजारमा कालोधन भित्रदा नेप्सेले गति लिन सकेन



काठमाडौं । प्रतिनिधि सभामा सेयर बजारको मुद्दा उठेको छ । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा सांसदहरूले सेयर बजारको बढ्दो उतारचढावको बारेमा चर्चा गरेका हुन् ।

laxmi

प्रतिनिधिसभामा पेश भएको धितोपत्र सम्बन्धि विधेयकको पहिलो संसोधनको सैद्दान्तिक पक्षको बहसमा भाग लिदै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद् गजेन्द्र महतले सेयर बजारमा कालोधनका कारण बजार बढन नसकेको बताए । सांसद महतले ‘बजारमा कालेधनको कारण सेयर बजारमा चलखेल भएको उल्लेख गर्दै बजारमा सिमित व्यक्ति र सिमित ब्रोकरहरुले चलखेल गर्ने गर्दा समस्या आएको बताए ।

यसभन्दा अघि बजार १८०० विन्दुमाथि पुग्दा पनि नेपाल धितोपत्र बोर्डले सेयर बजारमा कालोधन अर्थात् स्रोत नखुलेको रकम भित्रिएको भन्दै छानविन गरेको थियो । अहिले पनि बजारमा दोहोरो नागरिकताधारीले भारतीय बजारबाट पैसा ल्याएर स्रोत नखुलेको रकम लगानी गरेको सम्वद्व स्रोतको दावी छ ।

यस्तै बैठकको विशेष समयमा बोल्ने सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणको त्रास देखाएर अतिआवश्यक वस्तुको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले कोरोनाको त्रास देखाएर ग्यासलगायत अतिआवश्यक सामग्रीको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग गरे ।

नेपाली काँग्रेसका सांसद पुष्पा भुसालले कोरोना भाइरसका कारण विश्वमा हजारौँको मृत्यु र सङ्क्रमण भइसकेको अवस्थामा नेपालमा त्यसको सम्भावित सङ्क्रमणलाई लिएर बजारमा खाना पकाउने ग्यास लुकाइसकेका कुरालाई सरकारले कडाइका साथ हेर्न ध्यानाकर्षण गराइन् । उनले खाद्य सामग्री र औषधि उपचारका लागि सरकार तयार रहनुपर्ने र जनतालाई खाद्यान्न तथा औषधि उपलब्ध गराउन सरकारले ध्यान दिनुपर्ने माग गरिन् ।

राष्ट्रिय जनता पार्टी नेपालका सांसद महेन्द्रराय यादवले कोरोना भाइरसको त्रासले जनतामा अन्यौलता सिर्जना भइरहेको हुँदा सूचना दिने एउटै र आधिकारिक प्रणाली बनाउन माग गरे ।

सांसद प्रेम सुवालले कोरोना भाइरस नियन्त्रणका लागि खुला सिमानामा भएका ४१ ठाउँमा हेल्थ डेस्क राखे तापनि कतिपय नाकामा जाँच नभएको हुँदा सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने माग गरे । नेपाली काँग्रेसका सांसद डा डिला सङ्ग्रौलाले कोरोना भाइरसको त्रास विश्वव्यापी भएका कारण नेपाली जनता त्रसित भएको हुँदा बजारमा ग्यासलगायत अतिआवश्यक वस्तुको अभावप्रति सरकारले ध्यान दिनुपर्ने माग गरिन् ।

सांसद विद्या भट्टराईले कोरोना भाइरसको त्रासले सिङ्गो जनजीवन प्रभावित बनाइरहेको हुँदा सरकारले समयमै ध्यान दिन आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्
MBL