Logo

काठमाडौं ‘खुल्ला दिशामुक्त जिल्ला घोषित, ५५ हजार ५ सय शौचालय निर्माण

काठमाडौं ‘खुल्ला दिशामुक्त जिल्ला घोषित, ५५ हजार ५ सय शौचालय निर्माण



काठमाडौं । काठमाडौं जिल्लालाई खुल्ला दिशामुक्त जिल्लाका रुपमा घोषणा गरिएको छ । मंगलबार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको समारोहमा प्रदेश संसद नारायण सिलवालले काठमाडौं जिल्ला खुल्ला दिशामुक्त भएको पत्र पढेर घोषणा गरेका हुन ।

घोषणा सभामा बोल्दै प्रदेश सभा सदस्य नारायण सिलवालले — खानेपानी र सरसफाइलाई सभ्यतासँग जोडेर एकीकृत र समन्वयात्मक कार्यक्रम सञ्चालन गरेर पूर्ण सरसफाइतिर लाग्नु पर्ने जानकारी दिएका छन । यस्तै काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले सरसफाइसँग जोडिएका सबै अङ्ग क्रियाशील नभए प्राप्त उपलब्धी गुम्ने खतराप्रति सजग हुनुपर्ने बताएका छन । उनले पूर्ण सरसफाइका लागि चर्पी भएर मात्र पुग्दैन, चर्पीसँगै यसको प्रयोग, सार्वजनिक शौचालय निर्माणलगायतका क्षेत्रमा सक्रियतापूर्वक काम हुनुपर्ने धारणा राखेका हुन ।

सभामा खानेपानी, सरसफाइ र स्वच्छताका लागि जिल्ला स्तरीय समन्वय समितिका सदस्य सचिव हरिदत्त पौडेलले, काठमाडौंलाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने अभियानका क्रममा अभियानका क्रममा ५५ हजार ५ सय शौचालय बनाउन उपभोक्ताको २७ करोड ८० लाख र सरकारको ६ करोड ६५ लाख रुपैयाँ बराबर खर्च भएको जानकारी दिए । ‘पूर्ण सरसफाइ हाम्रो अभियान, स्वच्छ, सफा र सुन्दर काठमाडौंको पहिचान’ नारासहित २०६५ सालदेखि काठमाडौंमा सरसफाइका कार्यक्रम शुरु भएका थिए । यस अभियानका लागि राष्ट्रिय नारा ‘स्वास्थ्य, प्रतिष्ठा र बिकासका लागि सरसफाइ’ भन्ने हो ।

काठमाडौं जिल्लामा सबैभन्दा पहिले २०७० बैशाख २७ गते साबिक नैकाप गाउँ बिकास समितिले ओगटेको क्षेत्र (अहिले चन्द्रागिरी नगरपालिका) लाई खुल्ला दिशामुक्ता गाबिस घोषणा गरिएको थियो । जिल्लाको सबैभन्दा पछि २०७६ भदौ २४ गते काठमाडौं महानगरलाई ‘खुल्ला दिशामुक्त महानगर’ घोषणा गरिएको हो । खानेपानी, सरसफाइ र स्वच्छताका लागि जिल्ला स्तरीय समन्वय समितिको प्रतिवेदनअनुसार काठमाडौं जिल्लाका २ लाख ९२ हजार ४ सय ५२ घर छन् र ती सबै घरमा शौचालय छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL