Logo

सेयर १२ सय अंकमा झर्ने अनुमान, यस्ता छन् कारण !

सेयर १२ सय अंकमा झर्ने अनुमान, यस्ता छन् कारण !


बिजखबर संवाददाता
0
Shares

बिजखबर विश्लेषण

सेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरु अहिले निराश बन्न पुगेका छन । साउनमा १८८१ अंकसम्म पुगेको सेयर बजार अहिले १४७० अंकमा झरेको छ र जानकारहरु अहिले यो अंक १२०० को हाराहारीमा पुग्ने अनुमान गरिरहेका छन । यसका केही तर्कसंगत कारणहरु रहेका छन ।

सर्वाधिक महत्वपूर्ण कारण रहेको छ, उत्कर्षमा पुगेको बजार । बिना तार्किक कारण बजार १८ सय अंकमाथि पुगेको थियो । बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी वृद्धि, बोनस तथा हकप्रद सेयरको आकर्षण देखाएर बजार बढाइएको थियो । अव अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले चुक्ता पूँजीको व्यवस्था गरिसकेकोले बजार अव माथि नजाने बरु तल झर्ने प्रबृत्तिमा देखिनेछ । निरन्तर घट्दो बजारले यही संकेत गरिरहेको छ ।

दोस्रो, बजारमा तरलताको समस्या देखिएको छ । यससंगै बजारमा ब्याजदर पनि बढेको छ । बजार घटिरहेको र ब्याजदर बढिरहेकोले लगानीकर्ताहरु दोहोरो मारमा परेका छन । बजार घटेपछि मार्जिन कल हुन थालेको छ भने ब्याज बढी तिर्नुपरिरहेको । अर्को चटारो कर्जा पनि सजिलै पाउन छोडिसकेको अवस्था छ । दैनिक रु १ अर्बभन्दा बढीको कारोबार घटेर अहिले दैनिक ४०/५० करोडमा झरेको तथ्यले यही पूष्टि गर्छ । कर्जा सजिलै पाउन छोडिसकेकोले कारोबार घटेको हो ।

तेस्रो, भारु नोटको मुद्धा । भारु नोट नचल्ने भएपछि पैसावालहरुले विकल्पमा पूँजीको जोहो गर्ने माध्यम बजारलाई मानेका छन र उनीहरुले सेयरलाई बिक्रीमा ल्याएका छन । यसले खरिदमा भन्दा बिक्रीमा चाप पारेको स्पष्टै देखिन्छ । बिक्रीमा चाप परेपछि मूल्य स्वाभाविकरुपमा घटिरहेको देखिन्छ । यो कहाँ गएर रोकिन्छ भन्ने मात्र धेरैलाई थाहा नभएको विषय भएको छ ।

चौथो, ठूला लगानीकर्ताहरु बढी मूल्यमा सेयर बिक्री गरी अहिले उग्राएर बसिरहेका छन । उत्कर्षमा पुगेको बजार घट्नेछ भन्ने उनीहरुलाई स्पष्टै थाहा थियो । त्यसैले उनीहरुले १६ सय अंकमाथि नै सेयर बेचिसकेका छन । अव उनीहरु न्युनतम बिन्दूमा स्थीर रहेको सेयर माथितिर लाग्ने चक्र प्रवेशसँगै बजारमा प्रवेश गर्नेछन । त्यसका लागि केही समय कुर्नुपर्ने हुन्छ । बजारमा माथिल्लो चक्र पूरा भैसकेको र न्युनतम बिन्दूको टेको मजबूत भएको अवस्थामा मात्र उनीहरु बजारमा आउनेछन । उनीहरु बजारमा नआईकन सेयरमूल्य माथितिर जाने गुञ्जायस नै छैन ।
पाँचौं, बाफिया पारित भएपछि आउनसक्ने संस्थापक सेयरको आपूर्तिको ओइरो । बैंक तथा वित्तीय संस्थाहरुले संस्थापक सेयर पब्लिकमा ल्याउन सक्ने प्रवल संभावना छ । यसले ह्वात्तै आपूर्ति बढाउनेछ । त्यसबेला मूल्यमा ठूलो गिरावट आउन सक्ने अनुमान धेरैले गरेका छन । माथि जानका लागि बजारको अर्को चक्र शुरु त्यसबेला हुनेछ जव केन्द्रीय बैंकले चुक्ता पूँजी रु १५ अर्ब हुनुपर्नेछ भन्ने घोषणा गर्नेछ । यसका लागि पनि केही समय कुर्नुपर्नेछ । यो घोषणा नभएसम्म बजारमा सेयरको आपूर्ति नै बढ्नेछ । लगानीकर्ताहरुलाई सेयर राखिराख्न इच्छा हुँदैन । यो घोषणा भएमा होल्डिङ्ग क्षमता बढ्न सक्छ ।

छैटौ, पर्ख र हेरको मनोविज्ञान । पहिला सेयर बिक्री गरिसकेका लगानीकर्ताहरु अहिले पर्ख र हेरको मूडमा रहेका छन । उनीहरु बजारको न्युनतम बिन्दू कुन हुन सक्ला भन्ने आँकलन गरेर बसिरहेका छन । गत वैशाखदेखि भदौ सम्मको सेयर बजारको प्रबृत्तिलाई नियाल्ने हो भने आज सेयर किन्नेले तीन दिनपछि बिक्री गर्दा नाफा कमाउने स्थिति अहिले उल्टो भएको छ । बजार निरन्तर ओरालो लागिरहेकोले आजभन्दा भोलि सेयर किन्नेहरुले पैसा बचाइरहेको स्थिति छ । बिक्री गरेर बसेका लगानीकर्ताहरुमा आज होइन भोलि किन्ने र भोलि होइन पर्सी किन्ने भन्दै लगानीको निर्णय नगरी प्रतीक्षाको मनोविज्ञानमा रहेका छन । अहिले त्यस्ता लगानीकर्ताहरुले सेयर किनिरहेका छन जसले पहिला महंगोमा बिक्री गरेका थिए । अर्को बिभिन्न दबाबमा रहेका लगानीहरुले पनि सेयर बिक्री गरिरहेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL