Logo

जुवाघरमा परिणत हुँदै सेयर बजार, दैनिक ६ प्रतिशतको ‘त्रिपासा’ खेल्दै लगानीकर्ता

जुवाघरमा परिणत हुँदै सेयर बजार, दैनिक ६ प्रतिशतको ‘त्रिपासा’ खेल्दै लगानीकर्ता



काठमाडौं । विश्व अर्थतन्त्रमा कोरोनो भाइरसको असर बढ्दै जाँदा नेपालमा पनि त्यसको असर देखिन थालेको छ । कच्चा तेलको मूल्यमा आएको गिरावट र कोरोना भाइरसकै कारण विश्व सेयर बजारमा उच्च गिरावट आउँदा नेपालमा पनि त्यसको प्रभाव देखिएको छ ।

laxmi

कोरोना भाइरस प्रकोपका कारण केही लगानीकर्ता त्रसित बन्न पुगेका छन् भने त्यहि मौका छोपेर अर्काथरी लगानीकर्ता त्रिपासा खेल्न सुरु गरेका छन् । विश्व बजारमा देखिएको मन्दीको असर नेपाली अर्थतन्त्रमा पनि पर्न पुगेको छ । जसका कारण कर्जाको माग घटेको छ भने नेपालको आयात निर्यात व्यापार ठप्प जस्तै बन्न पुगेको छ ।

नेपालमा भारतपछि सबैभन्दा बढी आयात हुने मुलुक चीनसँगको व्यापार ठप्प हुन पुगेको छ भने भारतले पनि औषधि जस्ता अत्यावश्यक बस्तु निर्यातमा रोक लगाएको छ । करिव २ महिनाजस्तो चीनबाट सामान आयात गर्ने व्यापारीहरु सेयर बजारमा प्रवेश गर्दा नेपालको सेयर बजार बढ्नुका साथै नेप्से इतिहासमै सबैभन्दा बढी कारोबार हुन पुगेको थियो । कोरोनाको प्रकोप बढ्दै व्यापारीहरु आफुसँग भएको सेयर बेच्दै बजारबाट निष्कन थालेका छन् भने केही लगानीकर्ता यसैलाई मौका छोप्दै दैनिक जसो ६ प्रतिशतको उतारचढाव ल्याउन थालेका छन् ।

कोरोनाकै असरका कारण अबका दिनमा बैंकको नाफामा गिरावट आउने सम्बद्ध बैंकहरुले बताउँदै आएका छन् । राष्ट्र बैंकको बैंकहरुको आम्दानीमा कडाई गर्ने नीति र कोरोनाका कारण आयात व्यापार ठप्प हुन पुग्दा कर्जाको मागमा गिरावट आई बैंकको नाफामा समेत असर पर्ने एक बैंकरले जानकारी दिए । साथै यसले जीवन बीमा कम्पनीहरुको व्यापारमा समेत असर पर्ने देखिन्छ । नेप्सेमा ७० प्रतिशतभन्दा बढी प्रभ्त्व रहेको बैंक तथा वित्तीय क्षेत्रको आम्दानीमा गिरावट आउँदा त्यसको प्रत्यक्ष असर सेयर बजारमा पर्ने एक ठूला लगानीकर्ताले जानकारी दिए ।

सेयर बजारमा उच्च उतार चढाव हुँदा तत्कालिन अर्थमन्त्री एक पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सेयर बजारलाई बैधानिक जुवाघरको संज्ञा दिएका थिए । अहिले आएर उक्त शब्द प्रमाणितजस्तै भएको एक लगानीकर्ताले बताए । ‘बजारमा अघिल्लो दिन ६ प्रतिशत घटेर कारोबार समय अगावै सर्किट हानेर बन्द हुने अर्को दिन पुन ६ प्रतिशतले बढेर बजार बन्द हुनु भनेको यो किसिमको त्रिपासा खेल जस्तै हो,’ ती लगानीकर्ताले भने, ‘एक दिन घटेर सर्किट हान्ने अनि भोलिपल्टै सोही अनुपातमा बढेर बजार बन्द हुनु भनेको बजारमा अस्भाविक चलखेल भयो भनेर बुझ्नु पर्दछ ।’

सेयर बजारमा लगानीकर्ता सुरक्षित रहनका लागि बजारको बढाई तथा घटाई सामान्य खालको हुनुपर्छ । तर, हिजो र आज बजारमा भएको अस्वभाविक घटाई तथा बढाईका कारण धेरैजसो लगानीकर्ता मारमा पर्नेछन् । जसमा समिति लगानीकर्ताले कमाउने छन् भने साना र नवप्रवेसी लगानीकर्ता चेपुवामा पर्ने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

मंगलबार घट्दो बजारमा जुन जुन परिसुचकमा उच्च गिरावट आएको थियो बुधबार बढ्दो बजारमा सोही समुहका परिसुचहरुमा उच्च वृद्धि भएको छ । अघिल्लो दिन त्यहि समुहको परिसुचक अस्वभाविक रुपमा घट्नु र भोलिपल्टै सोही समुहको परिसुचक उहि अनुपातमा बढ्दा लगानीकर्ता अन्यौलमा परेका छन् ।

पछिल्लो समय थोरै कारोबार रकममै लगानीकर्ताले चलखेल गर्न थालेका छन् । अघिल्लो हप्तासम्म दैनिक करिव ५ अर्ब रुपैयाँ कारोबार भएको सेयर बजारमा अहिले दैनिक कारोबार २ अर्ब रुपैयाँमै सिमित हुन पुगेको छ । जसमा सिमित लगानीकर्ताले सानो कारोबारमै मूल्यमा घटवढ गरी कमाउने खेलका लागेको एक लगानीकर्ताले जानकारी दिए ।

बुधबार करिव ७४ अंकले बढेको बजारमा २ अर्ब २२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा १८० कम्पनीको ५६ लाख २६ हजार कित्ता सेयर कारोबार भएको छ । बुधबार सबैभन्दा बढी नेपाल लाईफ इन्स्योरेन्सकै सबैभन्दा बढी २३ करोड ६६ लाख रुपैयाँ र दोस्रोमा एनआईसी एसिया बैंकको १४ करोड ६६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL