Logo

एकजुट नहुँदा महासंघ कमजोर बन्यो, निर्वाचनपछि बलियो बनाउँछौं : गुणनिधी तिवारीको अन्तवार्ता

एकजुट नहुँदा महासंघ कमजोर बन्यो, निर्वाचनपछि बलियो बनाउँछौं : गुणनिधी तिवारीको अन्तवार्ता



कोरोनाका कारण चैत २८ र २९ गते हुने भनिएको नेपाल उद्योव वाणिज्य महासंघको निर्वाचनको मिति सरेसँगै अब नयाँ मिति कहिले तोकिने भन्ने विषयमा अन्यौलता बढेको छ । महासंघ भित्र एक पक्ष कोरोनालाई देखाएर चुनावी मिति पछि धकेल्ने पक्षमा छन् भने अर्कोे पक्ष विधानसम्वत चुनावी मिति तय गर्नुपर्छ भन्ने अडानमा छन् । राज्यले उचित सम्बोधन नगर्दा कोरोनाका कारण उद्योग व्यवसाय धराशायी अवस्थामा पुगेको व्यवसायीहरुको ठहर छ । यसैबीच तीन दशकदेखि नेपालको उद्योग व्यवसायमा संलग्न तथा नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय कार्यसमितिमै रहेर १५ बर्ष विताई सकेका गुणनिधी तिवारीले आसन्न निर्वाचनका लागि जिल्ला नगरतर्फबाट उपाध्यक्ष पदमा उम्मेवारी घोषणा गरेका छन् । महासंघमा विगत २ दशकदेखि सक्रिय रहँदै हाल ५ नम्बर प्रदेशको अध्यक्ष समेत रहेका उनै तिवारीसँग बिजखबरका रामराजा श्रेष्ठले गरेको कुराकानीको सारसंक्षेप :

नेपाल उद्योग वाणिज्य महासंघको अबको कार्यसमितिका लागि जिल्ला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । तयारी कस्तो छ ?

महासंघको विधान अनुसार २०७६ चैत २८ र २९ गते साधारणसभा भएर नयाँ नेतृत्व चयन हुनु पर्दथ्यो । तर, विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथामका लागि चैत ११ गतेबाट सुरु लकडाउनका कारण तोकिएको समयमा निर्वाचन हुन सकेन । त्यसपछि महासंघले जेठको ७ र ८ गते निर्वाचन गर्ने निर्णय गर्यो । त्योे समयमा पनि हुन नसकेपछि चुनावी मिति तय गर्नअसार ८ गते कार्यसमिति बोलाईएको छ । नयाँ मिति तय गर्न हामी लागि परेका छौं । चुनावी तयारीको कुरा गर्दा महासंघमा मेरो यो पाँचौ कार्यकाल हो । चण्डिराज ढकाल अध्यक्ष हुँदा म लुम्बिनी अञ्चल प्रतिनिधिको रुपमा महासंघमा प्रवेश गरेको थिएँ । त्यसअघि जिल्लामाविभिन्न भुमिका रहेर काम गरियो । महासंघ भित्रै पनि १५ बर्ष कार्यसमितिमा बसेर व्यवसायीक हकहितका लागि काम गरे ।

अहिलेमहासंघको प्रदेश ५ को अध्यक्षको हैसियतले पनि साना मझौला उद्योग व्यवसायदेखि जिल्ला नगरमा व्यवसायीलाई परेका समस्या समाधान गर्न लागि परेको छु । यसक्रममा व्यवसायीक हकहितका लागि सरकारसँग जुध्नु पर्यो । त्यसका बावजुत धेरै समस्या हात पारियो । अझै पनि केही जल्दाबल्दा समस्याहरु छन् ।महासंघभित्र रहेर व्यवसायीक हकहितकै लागि काम गरेका कारण धेरै साथीहरुको साथ र सहयोगका कारण यो स्थानसम्म आईपुग्न सफल भएँ । अहिले जिल्ला नगरको उपाध्यक्ष पदमा उम्मेदवारी दिईरहँदा पनि साथीहरुको धेरै साथ सहयोग र हौसला आईरहेको छ । जिल्ला नगर तर्फबाट महासंघमा लामो समयसम्म प्रतिनिधित्व गर्नेमा म पुरानो पनि हो ।

महासंघ भित्र जिल्ला नगर उपाध्यक्षलाई ‘पावरफुल’ मानिन्छ । उक्त पदमा उम्मेदवारी दिन तपाईंका खास एजेन्डा के हुन् ?

करिब तीन दशकदेखि व्यवसायीक क्षेत्रमा छु भने जिल्लादेखि केन्द्रसम्म महासंघभित्रै पनि दुई दशकभन्दा बढी समय बिताईसके । लामो समयसम्म संघर्ष गर्दा पनि सरकारले साना तथा मझौला व्यवसायीको समस्या सुनुवाई गरेको छैन । केन्द्रबाट पनि त्यस्ता खालका व्यवसायीक हकहितका लागि जुन खालको पहल गरिदिनु पर्दथ्यो, त्यो हुन सकेन ।

‘हामी गणतन्त्रमा गईसक्यौ भन्छौं तर राजतन्त्रको समयमा २०३० सालमा बनेका कानुन लगाएर कारबाही गरिन्छ । कर, भन्सार, भीसीटीएसजस्ता समस्या हामीमाझ ज्यूँकात्यूँ छन् । ती समस्यालाई समाधान गरेर व्यवसायीहरुलाई सहज रुपमा काम गर्ने वातावरण बनाउने नै मेरो मुख्य उद्देश्य हो ।’

विशेषतः महासंघ भित्रै रहेका ठूला लगानीकर्ताको सरकारसँग राम्रो पहुँच हुने र उनीहरुले पनि आफ्नै समस्या समाधान गर्न बढी केन्द्रित भएको देखिन्छ । तसर्थ जिल्ला स्तरबाट साना तथा मझौला व्यवसायीको समस्या उठान गर्ने र त्यसलाई सरकारसँग लबिङ गर्न सक्ने नेतृत्व चाहिन्छ भन्ने आवाज उठेको छ र सबै साथीहरुको सहानुभुती र उहाँहरुकै प्रेरणाका कारण मैले उम्मेदवारी दिइको हुँ । साथीहरुले मलाई विश्वास गरेर उम्मेदवारी दिनका लागिहौसला प्रदान गर्नुभएको छ । मलाईअमूल्य मत दिएर विजयी गराउँदै हुनुहुन्छ र उहाँहरु प्रति विश्वास घात गर्नेछैन भन्ने मेरो प्रण हो ।

अहिले उद्योगी व्यवसायीलाई बैंक कर्जाको समस्यादेखि व्यवसायीलाई जसरी पनि समस्यामा पार्ने खालका पुराना कानुनहरु छन् । हामी गणतन्त्रमा गईसक्यौ भन्छौं तर राजतन्त्रको समयमा २०३० सालमा बनेका कानुन लगाएर कारबाही गरिन्छ ।कर, भन्सार, भीसीटीएसजस्ता समस्या हामीमाझ ज्यूँकात्यूँ छन् । पछिल्लो समय लकडाउनका कारण कर्मचारीको तलबजस्ता समस्या थपिएका छन् । ती समस्यालाई समाधान गरेर व्यवसायीहरुलाई सहज रुपमा काम गर्ने वातावरण बनाउने नै मेरो मुख्य उद्देश्य हो ।

उपाध्यक्षका लागि जिल्लादेखि केन्द्रसम्म टीम तयार भइसक्यो त ?

प्रजातान्त्रिक पद्दतिमा निर्वाचन भन्ने बित्तिकै दुई वटा प्यानल भैहाल्छ । महासंघको निर्वाचनमा पनि निर्वाचनको मिति घोषणा भैसकेपछि पदाधिकारीको आफ्नो टीम बनाउछौं । र निर्वाचन मितिको केही समय अघि मात्र कार्यसमितिमा चुनाव उठ्ने साथीहरुको नामावली टुङ्गो लगाउँछौं । विभिन्न क्षेत्र तथा भुगोलको हिसाबले उम्मेदवारको टुङ्गो लगाउँनेछौं । अहिले हाम्रो टीमको नेतृत्व चन्द्र ढकालले गरिरहनु भएको छ । वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल हुनुहुन्छ भने वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एशोसिएट्सतर्फको उपाध्यक्षमा रामचन्द्र संघई र जिल्ला उपाध्यमा म । केन्द्रिय सदस्यहरुको हकमा छलफल भरहेको छ । हाम्रो टीमले उम्मेदवार चयन गर्दा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मलाई समेट्नेगरी भौगोलिक रुपमा टीम तयार गर्नेछ ।

अबको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा दुई जना प्रतिस्पर्धी देखिएका छन् । तपाईले चाहिँ किन चन्द्रप्रसाद ढकाल नेतृत्वको प्यानल रोजेर अघि बढ्नुभयो ?

महासंघमा हामीले सकभर सर्वसम्मतिमा नेतृत्व चयन गरौं भन्ने प्रयास गरेका थियो तर त्यो सम्भव हुन सकेन । प्रजातान्त्रिक व्यवस्थामा प्रजातान्त्रिक ढंगबाट निर्वाचनमा जानुको विकल्प रहेन । अहिले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले टीम लिड गरेर अघि बढ्नु भएको छ । उहाँहरुमध्ये हरेक दृष्टिकोणले चन्द्रप्रसाद ढकालले संस्थालाई नेतृत्व दिन सक्नुहुन्छ भन्ने विश्वास हामीमा लाग्यो । महासंघको अध्यक्षजस्तो गरिमामय पदमा पुग्नका लागि स्टेकहोल्डर नै चाहिन्छ । ढकाल आफैले साना व्यवसायदेखि देशकै ठूला व्यवसायसम्म संचालन गरेर सफल हुँदै यो अवस्थामा आईपुग्नु भएको छ । नेपालको एक सफल व्यवसायी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा व्यक्तिगत छवी छ भने सरकार तथा निजी क्षेत्रको विश्वास जित्न पनि सफल हुनु भएको छ । सफल व्यक्तिलाई महासंघको नेतृत्वमा पुर्याउन सकियो भने महासंघको गरिमालाई उचो राख्नुका साथै व्यवसायीका समस्या समेत समाधान गर्न सहज हुन्छ भने सोही अनुरुप वैदेशिक लगानी भित्र्याएर देशमा रोजगारी सिर्जना गर्दै आर्थिक विकास गर्न सकिन्छ ।

‘महासंघको अध्यक्षजस्तो गरिमामय पदमा पुग्नका लागि स्टेकहोल्डर नै चाहिन्छ । ढकाल आफैले साना व्यवसायदेखि देशकै ठूला व्यवसायसम्म संचालन गरेर सफल हुँदै यो अवस्थामा आईपुग्नु भएको छ । नेपालको एक सफल व्यवसायी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा व्यक्तिगत छवी छ भने सरकार तथा निजी क्षेत्रको विश्वास जित्न पनि सफल हुनु भएको छ ।’

उहाँकै नेतृत्वमा जिल्ला नगरबाट उपाध्यक्षमा म, बस्तुगतबाट उमेशलाल श्रेष्ठ र एशोसिएटतर्फबाट रामचन्द्र संघईले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हौं । महासंघजस्तो संस्थाको नेत्वृत्व गर्न सफल, सक्षम र मिलनसार व्यक्ति चाहिन्छ । सानादेखि ठूला व्यवसायीको समेत समस्या बुझेको हुनुपर्छ । जुन चरण चन्द्र ढकालले पार गर्नुभएको छ ।

अहिले महासंघभित्र एउटा खेमा विधानसम्मत तत्काल निर्वाचन गर्नुपर्ने भन्ने पक्षमा छन् भने अर्को पक्ष चुनावी मिति सार्ने रणनीतिमा देखिएको छ । यो किन यस्तो भइरहेको ?

विधान अनुसार हामीले चैतभित्रै निर्वाचन गर्नुपदथ्यो । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कारण हामीले तोकिएकै मितिमा चुनाव गर्न सकेनौं । यस्तो अवस्थामा तीन महिनासम्म समय थप गर्न सकिने कानुनी प्रावधान छ । र पछिल्लो समय नेपाल सरकारले लकडाउनलाई पनि खुकुलो बनाएको छ भने सहज वातावरण पनि बन्दै गएको छ । यो अवस्थामा निर्वाचन गर्नुको अर्को विकल्प छैन ।

चुनावी मिति तय गर्नकै लागि यहिं असार ८ गते चुनावी मिति तय गर्न केन्द्रिय कार्यसमितिको बैंठक बोलाइएको छ । सबै पक्ष सहमत भएर विधान सम्मत तरिकाबाट चुनाव गराउने गरी मिति तोकिने छ भन्नेमा म विश्वस्त छु । चुनावी मिति नतोकि संस्थालाई सधै अन्यौलको अवस्थामा राख्नु राम्रो हुँदैन । संस्था संचालनका लागि निर्वाचित कार्यसमिति चाहिन्छ । तसर्थ अबका दिन सबै साथीहरुको एकमतले निर्वाचन मिति तय गरिने छ ।

यदि असारभित्रै मिति तोकेर चुनावी प्रक्रियामा गएन भने विधानतः कानूनी अड्चन आउँछ कि आउँदैन ?

कार्यसमितिलाई विशेष अवस्थामा साधारणसभा ३ महिना पछिसम्म सार्न सक्ने अधिकार छ । सोही अनुरुप यो कार्यसमिति असारसम्म वैधानिक रहन्छ । यो कुनै संस्था वा राज्यलाई मात्र परेको विपत्ति होइन । तसर्थ यो अवस्थामा असार ८ गते कार्यसमितिको बैंठकले विधानसम्मत रुपमा मिति तय गरेर अघि बढ्नेछ भन्ने विश्वस्त छु । यदि त्यसो भएमा कानुनी उड्चन पर्ला जस्तो लाग्दैन ।

पछिल्लो समय धेरै जिल्ला नगर अध्यक्षहरुले महासंघको नेतृत्वले उद्योगी व्यवसायी तथा विशेषगरी जिल्लाका समस्या सम्बोधन गर्न सकेन भनेर गुनासो गर्दै आएका सुनिन्छ ? के महासंघभित्र जिल्ला नगरलाई हर्ने दृष्टिकोण फरक हो ?

महासंघमा सबैभन्दा बढी प्रतिनिधित्व जिल्ला नगरकै हुन्छ तर त्यहिं क्षेत्रलाई हेर्ने दृष्टिकोण अलि फरक छ । महासंघमा जिल्ला नगर उद्योग वाणिज्य संघको ५० प्रतिशत मताधिकार हुन्छ भने कार्यसमितिमा पनि सोही अनुरुप प्रतिनिधित्व हुन्छ । तर जिल्ला नगरका समस्या भने सुनुवाई चाहिं हुँदैन । यसभन्दा अघि पनि जिल्ला नगरको उपाध्यक्षमा सम्बन्धित क्षेत्रभन्दा पनि बाहिरका व्यक्तिलाई ल्याइयो । चुनावी भागबन्डामा जाँदा हस्तक्षेप गर्ने काम गरियो । तर यसमा जिल्ला नगरतर्फकै साथीहरुले पाउनुपर्छ ।

‘महासंघ भित्र पनि जिल्ला नगरलाई हेर्ने दृष्टिकोण फरक छ । जिल्जा उद्योग वाणिज्य संघको महासंघमा ५० प्रतिशत मताधिकार हुन्छ भने कार्यसमितिमा पनि सोही अनुरुप प्रतिनिधित्व हुन्छ । तर जिल्ला नगरका समस्या भने सुनुवाई चाहिं हुँदैन । ‘

अहिले जिल्ला नगर तथा केन्द्रिय कमिटिका साथीहरु धेरै सचेत हुनु भएको छ । अबका दिनमा जसले आफ्नो समस्या बुझ्छ, जसले लामो समयदेखि जिल्ला नगरको प्रतिनिधित्व गर्दै आएका छन्, उनीहरुलाई नै सो क्षेत्रको उपाध्यक्ष पदमा जिताउनु हुनेछ । महासंघमा जुन क्षेत्रको लागि जुन कोटा छुट्याईएको छ, त्यसमा प्रतिनिधित्व गर्नका लागि सोही क्षेत्रको व्यक्ति नेतृत्वमा नपुग्दा पनि जिल्ला नगर पछाडि पर्दै आएको छ । यसले गर्दा हाम्रा वास्तविक समस्या पनि सम्बोधन भएको छैन । जिल्ला नगरका साथीहरु सबै सक्षम हुनुहुन्छ भने त्यसका लागि सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने साथीलाई चुनावमा अघि सार्नुहुनेछ । जसले जिल्ला नगर उद्योग वाणिज्य संघका समस्या समाधान गर्न बढी पहल गर्नेछन् ।

अहिलेको नेतृत्वले सरकारसँग व्यवसायीका माग राखेर व्यवसायीक हितका लागि काम गर्न सकेन भन्ने गुनासो गर्दै आएका छन् । महासंघ किन यति कमजोर बन्न पुग्यो ?

महासंघ निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन हो । यो निजी क्षेत्रको प्रतिनिधमुलक संस्था हो । यो संस्थाले सरकारसँग लबिङ गरेर व्यवसायीका समस्यालाई जसरी समाधान गर्नुपर्दथ्यो तर पछिल्लो समय त्यसो गर्न सकिरहेको छैन । सरकारले व्यवसायीक समस्याको सुनुवाई गरेको छैन भने बजेटले पनि सम्बोधन गर्न सकेन । हामी व्यवसायी समस्या समाधान गर्नतर्फ भन्दा पनि चुनावी कारणलाई देखाएर मतभिन्नता हुन थाल्यौं । अहिलेको नेतृत्वले व्यवसायीक समस्या समाधानका लागि पहल गर्न सकेन । निजी क्षेत्रको सहमति वेगर सरकारले धेरै कानुनहरु ल्याएको छ । यस्ता विषयमा सरकारसँग लबिङ गर्न जुन रुपमा हामी एकजुट हुन सक्नुपर्दथ्यो तर त्यसो नहुँदा महासंघ कमजोर बन्न पुगेको हो । अझै पनि समय छ । अब पनि हामी एकजुट भएर अघि नबढ्ने हो भने सरकारले हाम्रा भनाई सुन्ने छैन । कमजोर नेतृत्व हुँदा पनि सरकारले निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोणमा फरक पाइयो ।

वसायीक मुद्दामा नेतृत्वले जसरी लिड गरेर अघि बढ्नु पथ्र्यो त्यो हुन सकेन । तर शतप्रतिशत अध्यक्षलाई पनि दोष दिन अवस्थामा छैनौं । यसमा कार्यसमितिको पनि केही भुमिका रहन्छ । तसर्थ अबका दिनमा नेतृत्वको मात्र मुख ताक्ने हैन नि सबै केन्द्रिय सदस्य व्यवसायीक मुद्दामा एक भएर नेतृत्व गर्न सक्ने अवस्था बनाउनुपर्छ । अहिले व्यवसायीक संघसस्था टुटफुटको कारणले गर्दा सरकारले निजी क्षेत्रको माग सम्बोधन गरेको छैन । अबका दिनमा महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्स एक भएर अघि बढ्नुपर्ने जरुरी छ । नत्र सरकारले हामीलाई लडाएर फाइदा लिन्छ । अहिलेको अवस्थामा निजी क्षेत्र सरकार समक्ष जाने हैन कि सरकार निजी क्षेत्र समक्ष आएर समस्या समाधानको बाटो खोज्नु पदथ्यो । यस्तो वातावरण बनाउन सकेमात्र निजी क्षेत्रले सफलता प्राप्त गर्न सक्छ । अन्यथा सरकारले सधै निजी क्षेत्रलाई हेप्ने काम गरिरहन्छ ।
तर त्यसो किन हुन सकिरहेको छैन ?

‘अहिलेको अवस्थामा निजी क्षेत्र सरकार समक्ष जाने हैन कि सरकार निजी क्षेत्र समक्ष आएर समस्या समाधानको बाटो खोज्नु पदथ्यो । यस्तो वातावरण बनाउन सकेमात्र निजी क्षेत्रले सफलता प्राप्त गर्न सक्छ । अन्यथा सरकारले सधै निजी क्षेत्रलाई हेप्ने काम गरिरहन्छ ।’

सरकारले निजी क्षेत्रलाई फुटाएर फाइदा लिइरहेको छ त्यो कुरा हामीले बुझेका छैनौं । हामीलाई जसले नेतृत्व गरिरहेको छ, उहाँले त्यो कुरा बझिदिनु पर्यो । यदि महासंघको नेतृत्व वा अध्यक्ष व्यवसायीक मुद्दामा दृढ भएर वा एकजुट भएर अघि बढेको भए सरकारले हाम्रो भनाई सुन्थ्यो र सोही अनुरुप हाम्रा माग पुरा गथ्र्यौ । अहिले हामीलाई एक आपसमा लडाएर तीनवटा संस्था बनाइसक्यो भने एफएनसीसीआईमा पनि फेरी त्यहि खेल सुरु हुँदैछ । भोलीका दिनमा जुनसुकै साथीहरु महासंघको नेतृत्वमा आएपनि संस्थालाई एक ढिक्का बनाएर अघि बढाउन सक्नुपर्छ । निर्वाचनमा जाँदा एकअर्काबीच मतभिन्नता हुन्छ । तर, चुनावी परिणाम जस्तो आएपनि त्यसपश्चात सबै एक भएर अघि बढ्नुपर्छ । यसो भएमा मात्र सरकारले हाम्रा समस्या सुनुवाई गर्ने छ ।

तपाईहरु सरकार निजी क्षेत्र समक्ष आउनुपर्छ भन्दै हुनुहुन्छ । तर पछिल्लो सरकारले अख्तियार दुरुपयोग अनुसन्धान ऐन संवोधन गरेर निजी क्षेत्रलाई झन बढी चेपुवामा पार्दै छ नि हैन ?

यस विषय हामीले सरकारको ध्यानाकर्षण गराईसकेका छौं । निजी क्षेत्रलाई हेर्ने निकायहरु धेरै छन् । राज्यको आर्थिक मेरुदण्ड नै निजी क्षेत्र हो । निजी क्षेत्र नभई राज्य चल्न सक्दैन । हामीले बारम्बार निजी क्षेत्रलाई तहसनहस पार्ने खालका फोहोरी खेल नहोस भनेर राज्यलाई भन्दै आएका छौं । निजी क्षेत्रको अनुसन्धान तथा अनुगमन गर्न सम्पत्ति शुद्धिकरण विभाग, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, प्रहरी प्रशासन छ । विभिन्न निकाय हुँदाहुँदै पनि फेरी अख्तियारलाई इन्भल्भ गराउनुपर्ने जरुरी किन ? अहिले राष्ट्रिय सभामा जुन विद्येयक पेश भएको छ त्यसलाई हुबहु स्वीकृत गर्न हुँदैन ।जसले आफ्नो निजी कम्पनी चलाएर बसेका छन् उनीहरु माथी अख्तियारले हस्तक्षेप गर्न मिल्दैन । यदि सरकारले यस्ता खालका नीति लागु गर्ने हो भने देशमा उद्योग व्यवसाय सहज रुपमा सञ्चालन हुन सक्दैनन् । यसमा हाम्रो विरोध छ ।

अन्तमा, महासंघको कार्यसमिति तथा मताधिकारमा जिल्ला नगरको ५० प्रतिशत अधिकार छ । त्यसमा चाहि कसैको लोभलालच र बहकाउमा नभई कसलाई नेतृत्वमा लैजाँदा आफ्ना समस्या समाधान गर्न सहज हुन्छ, जसले गर्न सक्छ त्यस्ता व्यक्तिलाई नेतृत्व चयन गर्न अनुरोध गर्दछु । चुनावको समयमा गरेको सानो गल्तीले तीन बर्षसम्म पछुताउनुपर्ने हुन्छ । अहिले महासंघको नेतृत्व व्यवसायीका समस्या सम्बोधन भन्दा पनि मिडिया प्रचारबाजीमा लागेका छन् ।व्यवसायीका भन्सार, कर देखि लिएर नियमन कानुनमा धेरै खालका समस्या छन् । भोलीका दिनमा सस्तो प्रचारबाजी भन्दा पनि व्यवसायीका समस्या समाधान गर्दै जिल्ला नगरका समस्या समेत बुझेका साथीहरुलाई मतदान गर्न आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
MBL