Logo

मेलम्ची खानेपानी आयोजना प्रकरण : ठेक्का रद्द गर्ने अन्तिम तयारीमा आयोजना, सवा २ अर्ब सरकारी खातामा

मेलम्ची खानेपानी आयोजना प्रकरण : ठेक्का रद्द गर्ने अन्तिम तयारीमा आयोजना, सवा २ अर्ब सरकारी खातामा



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले इटालियन निर्माण कम्पनी सिएमसीसँगकोे ठेक्का रद्द गर्ने तयारी गरेको छ । आयोजनाले सिएमसीलाई दिएको समयसिमा माघ १९ गते समाप्त भए पनि आयोजनाले पठाएको पत्र सिएमसीले २ दिन पछि मात्रै बुझेकाले सो समय आज सकिँदै छ ।

सिएमसीलाई दिएको समय आजै समाप्त भए पछि अघिल्लो पत्रको आधारमा कम्पनीले कुनै जवाफ नदिएको भन्दै अर्को पत्र पठाउने तयारी समेत भएको आयोजनाका प्रवक्ता तथा सिनियर डिभिजन इन्जिनियर राजेन्द्र प्रसाद पन्तले जानकारी दिएका छन ।

आयोजनाले भने गत जनवरी २० तारिखमा कम्पनीलाई पत्र पठाएको थियो । तर कम्पनीले कुनै प्रतिक्रिया नदिए पछि ठेक्का रद्दको अन्तिम पत्र पठाउन लागेको हो । आजै समय समाप्त भएका हुनाले बेलुकी सम्ममा पत्रको ड्राफ्ट तयार हुने र मंगलबार सम्ममा पत्र पठाईसक्ने आयोजनाले जानकारी दिएको छ ।

आयोजना प्रमुख सुर्यराज कंडेलले भने कम्पनीलाई दिएको समयसिमा समाप्त हुँदा सम्म पनि उनीहरुबाट कुनै प्रतिक्रिया नआएकाले अबको विकल्प भनेको ठेक्का रद्द गर्नु बाहेक अन्य विकल्प नभएको बताए ।

सिएमसी भने कम्पनी टाँट पल्टेको भन्दै गत डिसेम्वरमा स्वदेश फर्केको थियो । ‘टाँट पल्टेको कम्पनीसँग कारोबार समेत गर्न नपाउने हो तर हामी भने उसैलाई अझै पर्खिरहेका छौं हामी बुद्धिमानी होकी केहो ?’ कंडेलले भने, ‘हामीले २ महिना सम्म कुर्याै अब कुर्न सकिदैन अहिले सम्म रहेको झिनो आशा पनि सकियो अब आफ्नै गतिमा अघि बढ्नु पर्छ ।’

आयोजना र सिएमसीसँगको ठेक्का रद्द सँगै सो कम्पनीका २ अर्ब २१ करोड रुपैयाँ धरौटी रकम भने जफत गरी अबको काम अगाडी बढाउने भएको छ । तर कसरी जाने भन्ने विषय भने अझै टुङ्गो लागि सकेको छैन ।

‘आयोजनालाई साधरण तरिकाले अगाडी बढाउने हो भने टेण्डर गर्नु पर्ने हुन्छ,’ आयोजना प्रमुख कंडेलले भने, ‘तर विशेष परिस्थिती मार्फत जाने हो भने सरकारले निर्णय गरी निर्देशन दिनु पर्ने हुन्छ हामी सरकारको निर्णय पर्खिरहेका छौं ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL