Logo

नेपाल भारत जोड्ने मितेरी पुल जीर्ण बन्दै, सामान ढुवानी बन्द हुनसक्ने खतरा

नेपाल भारत जोड्ने मितेरी पुल जीर्ण बन्दै, सामान ढुवानी बन्द हुनसक्ने खतरा


रासस
0
Shares

काठमाडौं । वीरगञ्ज–रक्सौल जोड्ने मितेरी पुल जीर्ण बन्दै गएको छ । उक्त पुल जीर्ण बन्दै गएपछि दैनिक ५ सय सवारीसाधनबाट ढुवानी हुने विभिन्न बस्तुहरु रोकिने सम्भावना बढेको छ ।

करीब १५ वर्षको लामो इतिहास बोकेका सो पुलको बीच भागमा ठाउँठाउँमा प्वाल परी जीर्ण हँुदै गएपछि यसको भविष्य अनिश्चित भएको हो । पचास वर्षको लाइफ रहेको भनिएको सो पुलको मर्मतका लागि बेलाबखत आवाज उठ्ने गरेको भएपनि यसको मर्मत हुन सकेको छैन । भारतबाट २० देखि ४० टन सामान बोकेर नेपाल आउने मालबाहक सवारीसाधनको क्षमताका कारण पुल प्रभावित हुने गरेको वीरगञ्जका व्यवसायीले बताएका छन ।

प्रदेश नं २ प्रदेशसभा सदस्य तथा वीरगञ्ज उधोग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले नेपाल भारतलाई जोड्ने मितेरी पुलमाथि क्षमताभन्दा बढी भार बोकेका मालबाहक ट्रक सञ्चालनमा आएपछि यसको भविष्य अनिश्चित भएको जानकारी दिए ।
उक्त पुल समयमै मर्मत सम्भार गर्न वर्तमान सरकारका सम्बन्धित मन्त्रीले निरीक्षणसमेत गराए पनि कुनै चासो नदेखाएको उल्लेख गर्दै अहिले भारतको रक्सौल भएर सोही पुलको बाटो गरी दैनिक ५ सय जति सवारीसाधन आउने गरेका छन् । सो पुलबाट क्षमताभन्दा बढी लोड भएका त्यस्ता मालबाहक सवारीलाई आवतजावतमा रोक लगाउनु पर्ने माग व्यापारीको छ ।

मितेरी पुल नेपाल भारत दुवै देशमा पर्ने भएकाले दुवै देशका सरकारले यो पुल बनाउनुपर्ने भन्दै वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष प्रदीप केडियाले पुलको बीच भागमा रहेको प्वाललाई समयमै मर्मत सम्भार गरिएन भने जुनसुकै बेला भत्किन सक्ने सम्भावना रहेको धारणा व्यक्त गरे ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले तत्कालका लागि भए पनि महानगरपालिकाले पुल मर्मत सम्भार गरिएको बताउँदै पुलमा परेको प्वाल पुर्ने काम भएको छ, यसले गर्दा ५ ६ महीनाका लागि पुल सुरक्षित भएको बताए ।

यसको स्थायी समाधानतर्फ नेपाल भारत दुवै देशका सरकार गम्भीर हुनुपर्ने वीरगञ्ज महानगरपालिकाका कार्यकारी अधिकृत डा भीष्मकुमार भुसालको भनाइ छ । साँघुरो तथा जीर्ण पुल भएकाले पुलमाथि हुने सवारीसाधनको चापले गर्दा पुलमा बेलाबेलामा सवारी दुर्घटना हुने गरेको छ ।

नेपाल भारतबीचको व्यापार तथा यातायात क्षेत्रमा यो मितेरी पुल सेतुबन्धको रुपमा रहेकाले यसको मर्मतसम्भारका लागि नेपाल भारत दुवै देशका सरकार गम्भीर हुनुपर्ने माग वीरगञ्जवासीको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL