Logo

कलङकी अन्डरपासको काम सकियो, यसै हप्ता संचालनको तयारी

कलङकी अन्डरपासको काम सकियो, यसै हप्ता संचालनको तयारी



काठमाडौं । कलङकी अन्डरपासको काम सम्पन्न भएको छ । अन्डरपासको काम सकिएसँगै संचालनमा ल्याउने तयारी गरिएको कोटेश्वर कलङकी सडकखण्ड आयोजना प्रमुख प्रकाश भण्डारीले जानकारी दिए । ‘हाल अण्डरपास निर्माणको काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘सकभर यसै हप्ता संचालनमा ल्याउने छौं ।’

चिनियाँ सांघाई कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको कलङकीस्थित उक्त अन्डरपासमा सवारी संचालनमा ल्याउन मात्रै बाँकी रहने गरी काम सकिएको भण्डारीले जानकारी दिए । ‘अन्डरपासबाट गाडी पास हुनेसम्म काम भएपनि हाल सो स्थानमा चिनियाँ पक्षका कामदारहरुको सामान रहेको र विभिन्न ट्राफिक चिह्न पनि राख्न बाँकी रहेकाले भोली नै सवारी संचालनमा ल्याउन कठिन छ,’ उनले भने, ‘तर, काम अन्तिम चरणमा पुगेकाले यसै हप्ताभित्र संचालनको तयारी गरेका छौं ।’

अन्डरपासमा सवारी चलेको बेला कुनै किसीमको दुर्घटना नहोस भन्नका निम्ती ट्राफिक चिह्नहरु राख्ने काम भइरहेको समेत उनले जानकारी दिए । ‘हाल चिनियाँ पक्षले सबै काम सकाय पनि त्यहाँ ट्राफिक चिह्नहरु राख्नुपर्ने हँुदा अन्डरपास संचालनमा आउन केहि दिन अझै लाग्नेछ,’ उनले भने ।

अण्डरपासको सिलकोट सकिएलगत्तै सवारी संचालनमा आउने हल्ला भएको थियो । तर संचालनमा ल्याउनका लागि सिलकोटका साथ सुरक्षालाई पनि उत्तिकै ध्यान दिनुपर्ने भएकाले १÷२ दिन लाग्न सक्ने उनको तर्क थियो । साथै जतिसक्दो छिटो ट्राफिक चिह्न राख्ने काम सकिन्छ त्यति नै छिटो संचालनमा आउने समेत उनको तर्क थियो ।

३८ मिटर लामो अन्डरपास संचालनमा आएमा उक्त सडकमा हुने ट्राफिक जाम कम हुने अपेक्षा राखिएको छ । साथै कलङकी देखि कोटेश्वर सम्मको उक्त सडकखण्ड आगामी डिसेम्बरमा सरकारलाई पुर्ण रुपमा हस्तान्तरण गर्ने आयोजनाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL