Logo

भारतसंगको ५ सीमालाई रेलमार्गसँग जोड्न छलफल शुरु, भारतीय रेलमा नेपाली झण्डा

भारतसंगको ५ सीमालाई रेलमार्गसँग जोड्न छलफल शुरु, भारतीय रेलमा नेपाली झण्डा


रासस
0
Shares

काठमाडौं । भारतसँग सीमा जोडिएका ५ वटा नाकालाई रेलमार्गले जोड्ने विषयमा नेपाल र भारतका रेल अधिकारी बीच छलफल शुरु भएको छ ।

छलफलका लागि भारतीय रेल अधिकारीको समूह आइतबार नेपाल आएको थियो । विराटनगर, जनकपुर, वीरगञ्ज, नेपालगञ्ज र भैरहवासम्म सामान ढुवानीका लागि रेल ल्याउने विषयमा छलफल हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । छलफलमा नेपालका तर्फबाट उक्त मन्त्रालय र रेल विभागका अधिकारी सहभागी हुने भएको छ ।

जनकपुर–जयनगर ३५ किमी ब्रोडगेज रेलमार्ग यसैवर्ष पूरा हुने मन्त्रालयका वैदेशिक समन्वय महाशाखा प्रमुख सहसचिव केशव कुमार शर्माले जानकारी दिएका छन । यात्रुहरु समेत बोक्ने सो मार्गलाई जयनगरबाट बर्दिवाससम्म विस्तार गरिनेछ ।

यसवर्ष रेलमार्ग तयार भए पनि चलाउन नेपाल सरकारसँग रेल नभएकाले भारतीय रेलमा नेपाली झण्डा राखेर चलाउने विषयमा दुई देशका रेल अधिकारी बीच आजको बैठकमा छलफल हुनेछ ।

‘सरकार आफैले वा भारतीय रेल कम्पनीसँग करार गरेर चलाउने भन्ने बारेमा छलफल गरी टुंगोमा पुग्ने कार्यसूची छ, आगामी मंसिर÷पुसमै जनकपुर–जयनगर रेलमार्ग निर्माण सम्पन्न हुनेछ, त्यसलगत्तै रेल चलाउन आवश्यक प्रक्रिया पूरा गरिनेछ’ सहसचिव शर्माले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला सैद्धान्तिक सहमति भएको वीरगञ्ज–काठमाडौँ रेलमार्गका विषयमा पनि आजदेखि शुरु हुने बैठकमा छलफल हुने भएको छ । नेपालगञ्जमा पनि सामान ढुवानीका लागि रेलमार्गले जोड्न सर्वेक्षण शुरु भएको छ । सामान ढुवानी गर्ने रेल नेपाल–भारत सीमाबाट ५ किमी वर सम्म ल्याइनेछ ।

भारत सरकारको सहयोगमा कार्यान्वयन भइरहेका रेल आयोजनाका बारेमा पनि बैठकमा छलफल हुने मन्त्रालयले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL