Logo

मूल्य बढ्दा पनि गलैंचा निर्यातमा गिरावट, प्रवद्र्धन गर्न नसक्दा खस्कियो बजार

मूल्य बढ्दा पनि गलैंचा निर्यातमा गिरावट, प्रवद्र्धन गर्न नसक्दा खस्कियो बजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कुनै समय नेपालबाट सवैभन्दा बढी निर्यात हुने बस्तुको सूचीमा पर्ने नेपाली गलैंचाको निर्यात बार्षिक रुपमा घट्दै गएको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालबाट २ अर्व २ करोड रुपैयाँ बराबरको गलैंचा निर्यात भएको छ ।

त्यस्तै नेपाल गुडवीभ फाउन्डेशनको तथ्यांकले पनि यस्तो देखाएको छ । १९९० मा वार्षिक २५ लाख स्क्वायर मिटर निर्यात भएको गलैंचा बार्षिक रुपमा घट्दै गएको हो । २०१५/१६ मा आइपुग्दा वार्षिक ४ लाख स्क्वायर मिटर गलैंचा मात्र निर्यात भएको छ । यो अघिल्लो बर्ष अर्थात २०१४/१५ को भन्दा कम हो । २०१४/१५ मा ५ लाख स्क्वायर फिट गलैंचा निर्यात भएको थियो ।

यता २०१२/१३ पछि गलैंचाको मूल्य भने बार्षिक रुपमा बढेको देखिन्छ । तथ्यांक अनुसार २०१२/१३ मा ६ करोड अमेरिकी डलर बराबरको गलैंचा निर्यात भएको थियो । त्यस्तै २०१३/१४ मा ७ करोड र २०१५/१६ सम्म आइपुग्दा ७ करोड ५० लाख पुगेको छ । यसरी गलैंचाको निर्यातमा कमी आएपनि मूल्य भने बार्षिक रुपमा बढेको देखिन्छ । नेपाली गलैंचाको विदेशी बजारमा उच्च माग भएपनि प्रवद्र्धन गर्न नसकेकोले निर्यात घटेको केन्द्रीय गलैंचा उद्योग संघका अध्यक्ष छिरिङ शेर्पाले बताए ।

‘नेपाली गलैंचाको प्रवद्र्धन गर्न सकेको अवस्थामा यसको निर्यात पनि बढाउन सकिन्छ,’ उनले भने, ‘यसका लागि सरकारको सहयोग आवश्यक छ ।’ गलैंचा उद्योग प्रवद्र्धन तथा सुधारका लागि १५ प्रतिशत निर्यातमा नगद प्रोत्साहन तथा फ्ल्याट रेटमा भन्सार विन्दुमा शुन्य दशमलव ७५ प्रतिशतमा कर लिने व्यवस्था गर्नुपर्ने उनले जानकारी दिए ।

त्यस्तै गलैंचा क्षेत्रसँग सम्वन्धित उद्योगी व्यवसायीलाई सफ्ट लोन प्रदान गर्ने व्यवस्था गर्न उनको माग छ । शेर्पाले नेपाली गलैंचाको गुणस्तरलाई कायम राखी अन्तरराष्ट्रिय रुपमा स्थापित गराउन नेपाली गलैंचाको सामुहिक व्यापार चिन्ह दर्ता केन्द्रीय गलैंचा उद्योग संघ नेपालको नाममा गरी सोको स्वामित्व संघलाई नै प्रदान गर्ने व्यवस्था गर्नुपर्ने बताइएको छ ।

नेपाली गलैंचाको माग विशेषगरी अमेरिका जर्मनी, क्यानडा तथा अष्ट्रेलियामा बढेको देखिन्छ । जसअनुसार जर्मनीमा २०१३/१४मा ३ लाख ५ हजार स्क्वायर फिट गलैंचा निर्यात भएको छ ।

त्यस्तै अमेरिकामा २ लाख ५० हजार र क्यानडामा ५० हजार स्क्वायर फिट गलैंचा निर्यात भएको देखिन्छ ।

हाल यस उद्योगबाट १ लाख ५० हजार जनाले रोजगारी पाएका छन् । अझै कम्तिमा २ हजार ६ सय दक्षजनशक्ति आवश्यक भएको बताइएको छ । गलैंचा उद्योगमा विशेषगरी महिलाहरुको सहभागिता बढी रहेको छ ।

नेपालमा १ हजार ओटा गलैंचा उद्योग सञ्चालनमा छन् । नेपालबाट विशेषगरी अमेरिका, जर्मनी, बेलायत, क्यानडालगायत १० भन्दा बढी मुलुकमा गलैंचा निर्यात हुँदै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL