Logo

महानगरका मुख्य शहरी इलाकामा डेढबर्षभित्र १ हजार ८५ओटा सौर्य बत्ती, विके ट्रेडर्सले पायो जिम्मा

महानगरका मुख्य शहरी इलाकामा डेढबर्षभित्र १ हजार ८५ओटा सौर्य बत्ती, विके ट्रेडर्सले पायो जिम्मा


रक्षा रेग्मी
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र १ हजार ८५ पोलमा सौर्य बत्ती जडानको जिम्मा विके ट्रेडर्सले पाएको छ । सोलार जडानका लागि १५ ओटा कम्पनीले आवेदन दिएकोमा विके ट्रेडर्स छानिएको हो । साथै ट्रेडर्ससँग चाँडैनै सम्झौता गरी काम अघि बढाइने महानगरपालिकाका राजस्व शाखा प्रमुख महेश काफ्लेले बताए ।

महानगरपालिकाले आगामी डेढ बर्षभित्र उपत्यकाका प्रमुख शहरमा सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत सोलार बत्ती जडान गर्न लागेको हो । काठमाडौंका मूख्य सडकहरुलाई उज्यालो बनाउने उद्देश्यका साथ यो कार्यक्रम अगाडी बढाइएको काफ्लेले जानकारी दिए । यसमा जनताले विना लगानी सौर्य बत्तीको सुविधा पाउने बताइएको छ ।

महानगरले विके ट्रेडर्सलाई सम्झौताका लागि चिठी दिइसकेको छ । काफ्लेका अनुसार महानगरले कार्यदेश दिएको ३ महिनाभित्र ट्रेडर्सले काम शुरु गर्नुपर्ने छ । सो अवधिमा काम शुरु नगरेको अवस्थामा सम्झौता रद्ध हुने छ । त्यस्तै कार्यदेश पाएको १ बर्षभित्र काम सम्पन्न गर्नुपर्ने छ । सो अवधिमा काम नसकाएको अवस्थामा पनि सम्झौताको अवधि स्वत घट्ने छ ।

सौर्य बत्ती जडानका लागि महानगरले ३ छुट्टा छुट्टै खण्ड पहिचान गरेको छ । जसअनुसार कलंकी देखि माइतिघर, केशरमहल चोक देखि ठमेल, क्षेत्रपाटी हुँदै सोह्रखुट्टेसम्म सोलार राखिने छ । त्यस्तै सोह्रखुट्टेबाट बालाजु र नयाँ बसपार्कमा गरी पहिलो खण्डमा ४ सय पोल गाडिने छ ।
त्यस्तै दोश्रो खण्डमा दरवारमार्गदेखि काठमाडौं प्लाजा, कृष्ण पाउरोटी तथा गौशालामा सोलार राखिने छ । त्यस्तै ज्ञानेश्वर देखि मैतीदेखि ,बत्तीसपुतली र मैतीदेखि (दिल्लीबजार पुतलीसडकमा जोडिने बताइएको छ । सो खण्डमा ३ सय ओटा सौर्य बत्ती जडान गरिने बताइएको छ ।

महानगरले पहिचान गरेको तेस्रो जोनमा ३ सय ८५ पोल राखिने छ । सो खण्ड अन्तर्गत पुरानो बानेश्वर, रत्नराज्य स्कुल हुँदै संखमुल पुलसम्म, तिनकुने कोटेश्वरहुँदै नरेफाँट र पुरानो बानेश्वर, भिमशेनगोला हुँदै सिनामंगल चोकसम्म सौर्य बत्ती जडान गरिने छ ।

एउटा पोलका लागि १ लाख ५० हजार रुपैयाँ लाग्ने बताइएको छ । सोलार जडानका लागि आवश्यक पूर्वाधार तथा लागत सम्वन्धित कम्पनीले नै वेहोर्ने छ । विके ट्रेडर्सले सोलारको पोलमा विज्ञापन राखेर आम्दानी गर्ने छ । ‘उसले सोलार पोलमा अन्य कम्पनीलाई विज्ञापन राख्न दिन्छ,’ काफ्लेले भने, ‘सो विज्ञापन राखेबापत पैसा लिएर आम्दानी गर्छ ।’ पोलमा राखिने विज्ञापनको बोर्ड ग्लोसाइन बोर्ड हुनुपर्ने नियम छ ।

सम्वन्धित कम्पनीले एउटा पोलको बार्षिक ८ हजार ७ सय रोयल्टी बुझाउनुपर्ने छ । त्यस्तै विज्ञापनको कर पनि कम्पनीले महानगरलाई बार्षिक रुपमा बुझाउनु पर्ने नियम छ । स्वीकृति भएको प्रस्तावले १ बर्षको निर्माण अवधिबाहेक १० बर्षपछि सो सोलार, व्याट्रि तथा विज्ञापन स्वतः महानगरपालिकाको हुने छ ।

महानगरले पहिलो चरणमा आवेदन हालेका कम्पनीमध्येबाट योग्यताका आधारमा केही कम्पनी छानेको थियो । दोश्रा चरणमा पुन त्यमध्येबाट पनि उत्कृष्ट कम्पनी छानेर सोलार जडानको जिम्मा दिइएको बताइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL